coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विद्युत् नहुँदा २० रुपैयाँका दरले मोबाइल चार्ज

विद्युत् नहुँदा दिक्तेलको एक इलेक्ट्रोनिक्स पसलमा चार्ज गर्न राखिएको मोबाइल। तस्बिरः नागरिक

खोटाङ– ६ दिनदेखि विद्युत् अवरुद्ध हुँदा खोटाङका विभिन्न इलेक्ट्रोनिक्स पसलमा मोबाइल चार्ज गर्ने स्थानीयको भीड लागेको छ। असार २६ गते रातिदेखि गाईघाट–दिक्तेल ३३ केभिए विद्युत् प्रशारण लाइन ठप्प हुँदा दिक्तेलमा शुल्क तिरेर इलेक्ट्रोनिक्स पसलमा मोबाइल चार्ज गर्नेको भीड लागेको हो।

उदयपुरको त्रियुगा खोलाले पोल बगाउँदा तथा गाईघाट र दिक्तेलबीचका विभिन्न स्थानका पोल पहिरोले ढाल्दा मोबाइलका प्रयोगकर्ता कम्तीमा २० रुपैयाँका दरले मोबाइल चार्ज गर्न बाध्य छन्। नेपाल टेलिकमलगायत व्याकअप भएका वा जेनेरेटर चलाउने कार्यालयमा समेत मोबाईल चार्ज गर्नेको भीड लागेको छ।

विद्युत् अवरुद्ध भएपछि विभिन्न फोटो स्टुडियो तथा इलेक्ट्राेनिक्स पसलले जेनेरेटर चलाएर मोबाइल चार्ज गर्ने व्यवस्था मिलाएका हुन्। मोबाइल चार्ज गरेबापत्को शुल्कबाट व्यवसायीले राम्रो आम्दानी गरिरहेका छन्। दैनिक सयजनाको हाराहारीमा मोबाइल चार्ज गर्न आउने गरेको सगरमाथा डिजिटल फोटो स्टुडियो दिक्तेलका सञ्चालक सुनिल जिम्बाले बताए।

विद्युत् ठप्प हुँदा जिल्लामा अन्य विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार व्यवसायलगायतका सेवा प्रभावित भएको छ। विद्युत् अवरुद्ध हुँदा खोटाङसहित ओखलढुंगाका हजारौं उपभोक्ता मारमा परेका छन्। खोटाङमा मात्र विद्युत्का करिब १३ हजार उपभोक्ता छन्। ओखलढुंगाको मोलुङखोला जलविद्युत् आयोजनाको विद्युत् दिक्तेलमा आपूर्ति गर्ने नेपाल विद्युत् प्राधिकरण शाखा खोटाङको प्रयाससमेत असफल भएको छ।

उता, पानीको बहाव नघटेका कारण उदयपुरको त्रियुगा खोलाले बगाएको विद्युत्को पोल राख्ने काम अघि बढ्न सकेको छैन। हालसम्म गाईघाटबाट रसुवाघाटसम्म विद्युत् सुचारु गरिएको नेपाल विद्युत् प्राधिकरण शाखा खोटाङका प्रमुख रामदिनेश राय यादवले बताए। खोटाङको रसुवादेखि रेग्मीटारबीचमा ढलेका १० वटा पोल ठड्याउनका लागि प्राविधिकको टोली खटिएका छन्। ‘गाईघाटबाट रसुवासम्म विद्युत् सुचारु भएको छ,’ यादवले भने, ‘रसुवा र रेग्मीटारको पोल ठड्याउनका लागि दुई टोली परिचालित भएका छन्।’

उदयपुरकै पोखरीको दुईवटा पोल उभ्याएपछि फर्किएको टोली पनि रसुवा र रेग्मीटारको पोल मर्मतमा खटिएको प्राधिकरणले जनाएको छ। वर्षाका कारण पहिरो जाँदा जिल्लाकै लेक्पा, टेम्मा, छोरम्बु, नुनथला, चिप्रीङ, लिच्कीराम्चे, बोफ्लुलगायतका ठाउँमा पोल ढलेको छ।

प्रकाशित: ३१ असार २०७६ ११:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App