७ वैशाख २०८१ शुक्रबार
भिडियो

‘सरकारीस्तरबाट नेपालीहरू जापान जान असम्भवजस्तै’

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारीस्तरमै नेपाली कामदार जापान पठाउने दाबी गरिरहेका बेला जापानमा कार्यरत नेपाली व्यवसायीले भने सरकारी माध्यमबाट नेपाली कामदार आपूर्ति गर्न असम्भव रहेको बताएका छन्। दुई देशबीच २०७५ चैत ११ गते श्रम समझदारी भए पनि संयन्त्रका विषयमा सहमति जुट्न नसक्दा जापान रोजगारी अझै अनिश्चित जस्तै छ।

जापानले विभिन्न १४ वटा औद्योगिक क्षेत्रमा कामदार लिने बताए पनि नेपालबाट कुन क्षेत्रमा कामदार लिने अहिलेसम्म टुंगो लागेको छैन। यद्यपि उसले नेपालबाट नर्सिङ क्षेत्रमा केही संख्यामा कामदार लिने इच्छा देखाएको छ। तर, कामदार आपूर्तिको प्रक्रिया टुंगिन नसक्दा जापान जाने सपना देखेर भाषा परीक्षाको तयारी गर्दै गरेका हजारौं नेपाली अझै रनभुल्लमा छन् ।

करिब दुई दशकदेखि जापानमा रेस्टुरेन्ट तथा रियल स्टेट व्यवसाय गर्दै आएका नेपाली व्यवसायी गोविन्द श्रेष्ठ नेपालबाट कामदार आपूर्ति गर्ने जिम्मेवारी निजी क्षेत्रलाई दिए एक–दुर्इ महिनामै नेपालीहरू जापान आउन सक्ने दाबी गर्छन्। विभिन्न अध्ययनका अनुसार जापानमा जनसंख्या वृद्धिदर अत्यन्त न्यून छ। जसले वृद्ध-वृद्धाको संख्या बढ्दै गयो तर, तिनको हेरचाह गर्ने अर्थात् नयाँ सन्ततिको संख्या भने बढ्न सकेन। जापानले आफ्नो देशमा केयर गिभरको माग पनि धेरै रहेको जनाइसकेको छ।

जापानले अध्यागमन नीतिमा परिमार्जन गर्दै  विदेशी श्रमिक लिने प्रक्रिया सुरु गरेपछि विभिन्न देशबाट निजी क्षेत्रले नै कामदार आपूर्ति गरिरहेको उनको भनाइ छ। ‘जापानले किन त्यत्रो टेन्सन लिन्छ। अरु देशमा पनि थुप्रै बेरोजगार कामदारहरु छन्। नेपाली कामदार नै लिनुपर्छ भन्ने के छ?’, व्यवसायी श्रेष्ठले भने, ‘जापान त निर्यात गर्ने देश हो। त्यहाँ त धेरै अवसर छ। तर, जाने वातावरण सहज हुनु प-यो।’ नेपाल सरकारले कोरिया जस्तो आफैं कामदार पठाउँछु भन्ने सोचेको भए त्यो सम्भव नभएको उनी बताउँछन्।

चुओ युनिभर्सिटी र पर्सोल रिसर्च एन्ड कन्सल्टिङले संयुक्तरूपमा गरेको एउटा सर्वेक्षणले जापानमा सन् २०३० भित्रमा ६४ लाख बढी कामदारहरूको अभाव हुने देखाएको थियो। सोही सर्वेक्षणलाई आधार मान्दै जापानले विदेश कामदारको अभाव टार्न आगामी पाँच वर्षमा झन्डै तीन तीन लाख ४५ हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ। जापानले नेपालसँगै चीन, भियतनाम, इण्डोनेसिया, फिलिपिन्स, कम्बोडिया, थाइल्याण्ड, म्यानमार र मंगोलियाबाट कामदार लिने जनाएको छ।

जापानले १४ वटा औद्योगिक क्षेत्रमा कामदार लिने जनाइसकेको छ। उसले कृषि, माछापालन, खाना र पेय पदार्थ, खाद्यसम्बन्धी सप्लाई चेनहरू, होटल रेस्टुरेन्ट, केयर गिभर, इलेक्ट्रोनिक्स, भवन निर्माण, मेसिनरी पार्ट्स, सार्वजनिक निर्माण, टुल्स, पानी जहाज निर्माण, सवारीसाधन मर्मत, हवाई उड्डयन, विमानस्थल सरसफाइका क्षेत्रमा विदेशी कामदार लिने उल्लेख गरेको छ।

आधिकारिक तथ्यांक नभए पनि जापानमा करिब एक लाख नेपालीहरु रहेको अनुमान छ। अध्ययनका लागि जापान जाने नेपालीहरु अध्ययनमा भन्दा पनि आम्दानी गर्न बढी केन्द्रित हुने गरेकाले जापान सरकारले नै विद्यार्थीलाई कडाइ गरेको व्यवसायी श्रेष्ठले बताए।

इमान्दार भएर काम गरे जापानमा धेरै आम्दानी गर्न सकिने आफ्नो अनुभव सुनाउँदै उनले भने- ‘नेपालीहरुले बुझ्नु पर्ने कुरा के हो भने हामी पढ्न गएका हौं पहिला पढाइ सक्न तिर ध्यान दिउँ। दुई वर्ष पढाइ सकेपछि त काम गर्ने थुप्रै अवसरहरु आउँछन्।’

धेरै काम गर्न खोज्ने भएकैले जापानले नेपालीहरुलाई फिर्ता पठाइरहेको उनले बताए । उनी भन्छन्, ‘एकदमै राम्रो कमाइ हुने देशको रोजगारीमा सरकार आफैंले भाँजो हाल्नु राम्रो होइन।’

थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: ३१ असार २०७६ ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App