७ वैशाख २०८१ शुक्रबार
अन्य

यसरी गरिएको छ राष्ट्रपति मुखर्जीको सुरक्षा निगरानी

काठमाडौं-नेपालको तीनदिने भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कार्यक्रमस्थल, बसोबास र आउजाउ सुरक्षामा चीन सरकारले उपलब्ध गराएको अत्याधुनिक उपकरण प्रयोग भइरहेको छ।

भूकम्पपछि चीनले उपलब्ध गराएको ‘र्‍यापिड कम्युनिकेसन सिस्टम’ पहिलोपटक नेपाल प्रहरीले उपयोगमा ल्याएको हो । प्रहरीले अपराध अनुसन्धान र नियन्त्रण तथा नागरिक सुरक्षाका लागि स्थापना गरेको प्रविधियुक्त सञ्चार  निर्देशनालयबाट भ्रमण सुरक्षामा प्रविधि प्रयोगको कमान्ड लिएको हो।

चीनले भूकम्पपछि सहयोगस्वरुप नेपाललाई हस्तान्तरण गरेको यो उपकरण डेढ वर्षपछि राष्ट्रपति मुखर्जीको भ्रमणलाई प्रत्यक्ष निगरानीमा राख्न प्रयोगमा ल्याइयो।

नेपाल प्रहरीको सञ्चार निर्देशनालयले चार महिनाअघि प्राप्त गरेको उक्त उपकरणले क्लोज सर्किट क्यामेरा (सिसिटिभी) को पहुँच नभएका स्थानको समेत भिडियो प्रत्यक्ष कैद गर्न सक्छ। निर्देशनालयका अनुसार महानगरीय प्रहरी कार्यालयमा रहेको कमान्ड सेन्टरलाई प्राप्त उक्त दृश्यबाटै निगरानी र निर्देशन कार्य भइरहेको छ । कमान्ड सेन्टरमा हाल ३ सय वटा क्लोज सर्किट क्यामेराबाट राष्ट्रपति मुखर्जीको भ्रमणको निगरानी भइरहेको छ ।

चीनको विद्युतीय उपकरण उत्पादक हुवाईले सूचना तथा सञ्चार मन्त्रालयलाई उपलब्ध गराएको एक सेट आपत्कालीन सञ्चार प्रविधि उपकरण (र्‍यापिड कम्युनिकेसन) एक वर्षभन्दा बढी समयदेखि नेपाल टेलिकमको गोदाममा थियो ।

चीन सरकारका तर्फबाट विद्युतीय उपकरण उत्पादक हुवाईका तर्फबाट तत्कालीन सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाललाई हुवाई आपत्कालीन सञ्चार प्रविधि उपकरण हस्तान्तरण भएको थियो । हुवाईका तर्फबाट बव झुले जेठ ३१, २०७२ मा एक कार्यक्रमबीच हस्तान्तरण गरेको उपकरण चार महिनाअघि नेपाल प्रहरीले प्राप्त गरेको थियो । कम्पनीका अनुसार ६ करोड ४० लाखभन्दा बढी नेपाली रुपैयाँ (६ लाख अमेरिकी डलर) बराबरको उक्त उपकरण विपत्का समय प्रयोगका लागि नेपाल सरकारलाई उपलब्ध गराइएको हो ।

निर्देशनालयका प्रमुख डा. डिआइजी राजीव सुब्बाले प्रहरीले प्रयोग गर्ने सञ्चार सेट (वाकिटकी) मा जडित क्यामेराले मुस्किल ठाउँको दृश्य कमान्ड सेन्टरमा प्रत्यक्ष पठाइरहेको जानकारी दिए । उनका अनुसार हुवाईको ५० थान वाकिटाकीसहितको उपकरणलाई सादा पोसाकमा रहेका प्रहरी अधिकारीले सञ्चालन गरिरहेका छन् ।

‘सबै स्थान सिसिटीभीको निगरानीमा छैन, नभएका स्थानमा हामीले उपकरण प्रयोग गरेका छौं, यसले तत्कालको अवस्थाको जानकारी र आवश्यक निर्देशनमा सघाउ पुगेको छ,’ डिआइजी सुब्बाले नागरिकसँग भने ।

प्रहरीस्रोतका अनुसार राष्ट्रपति मुखर्जी बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेपछि उपकरणसहितको टोली सादा पोसाकमा कारगेडसँगै छ । राष्ट्रपति मुखर्जी पुग्ने स्थानमा सँगै रहने टोलीले आवश्यकता अनुसारका दृश्य कमान्ड सेन्टरमा प्रत्यक्ष पठाउँछ ।

प्रहरीका अनुसार कालिकास्थानमा स्थापना भएको टावरबाटै बिहीबार राष्ट्रपति मुखर्जी बस्ने होटल हयात, आउजाउ गर्ने सडक, कार्यक्रमस्थल पशुपति मन्दिर, भद्रकाली, राष्ट्रिय सभागृह र होटल ¥याडिसनका दृश्य वाकिटाकीबाटै कैद गरेर कमान्ड सेन्टरमा पठाइएका थिए । डिआइजी सुब्बाका अनुसार साढे ६ किलोमिटर दुरीसम्मबाट प्रत्यक्ष दृश्य पठाउन सकिने उक्त उपकरण प्रयोग आगामी दिनमा प्रहरीले प्रयोगमा ल्याउनेछ।

‘हाम्रो एउटा टिम महामहिमसँगै छ, उहाँलाई नियमित पछ्याउने र आवश्यक निर्देशनको कार्यान्वयनमा टिमलाई खटाइएको हो,’ डिआइजी सुब्बाले भने । उनका अनुसार उपकरणसहितको टिम राष्ट्रपति पुग्ने स्थानमा सँगै र अघिपछि पुगेर तत्कालका दृश्यसमेत पठाउँदै आएको छ, यसले स्थितिको मूल्यांकनमा सहयोग पुग्छ ।

निर्देशनालयले आफ्नो अधीनमा उक्त उपकरण आएसँगै केही दिनअघि त्यसको परीक्षण प्रयोग प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहितको प्रहरी अधिकारीसमक्ष गरेको थियो । परीक्षण सफल भएसँगै प्रहरीले उपकरण भ्रमण अवधिभर प्रयोगमा ल्याउने निर्णय भएको हो ।

कार्यक्रमस्थलमा ड्रोन

प्रहरीले बिहीबार साँझ राष्ट्रपति मुखर्जीको उपस्थिति रहेका कार्यक्रममा ड्रोन (मानवरहित) क्यामेराबाट समेत निगरानी गरेको छ । प्रहरीले राष्ट्रपति मुखर्जीका लागि आयोजना गरिएको नागरिक अभिन्नदन समारोहस्थल राष्ट्रिय सभागृहमा कार्यक्रम अवधिभर ड्रोनबाटै निगरानी गरेको हो ।

डिआइजी सुब्बाका अनुसार भूकम्पमा प्रहरीले एक जना सहयोगीको ड्रोन प्रयोगमा ल्याए पनि आफ्नै पाइलट र ड्रोन भने पहिलोपटक प्रयोगमा ल्याएको हो । कार्यक्रम स्थलका फोटो र भिडियो समेत ड्रोनबाटै कैद गरिएका छन् ।

‘हामीले पहिलोपटक आफ्नै ड्रोन प्रयोग गरेका हौं, हाम्रा प्राविधिकले कार्यक्रम अवधिभर करिब एक घन्टा निरन्तर ड्रोनबाटै फोटो र भिडियो लिएका थिए,’ डिआइजी सुब्बाले भने ।

निर्देशनालयका अनुसार भूकम्पपछि चार प्रहरी अधिकारीलाई ड्रोन उडाउने तालिम दिइएको थियो । प्रहरीले ट्राफिक व्यवस्थापन र आउँदो छठमा समेत ड्रोन प्रयोगमा ल्याउने जनाएको छ ।

जामरसहितको कारगेड

प्रहरीले राष्ट्रपति मुखर्जीको भ्रमणका लागि र्‍यापिड कम्युनिकेसन र ड्रोनबाहेक जामरसमेत प्रयोग गरिरहेको छ । राष्ट्रपति मुखर्जीको कारगेडसँगै हाल तीनवटा जामर प्रयोग भइरहेको छ । राष्ट्रपति मुखर्जीको कारगेड ( सवारीमा रहने अघुवा पछुवा गाडीको लस्कर) बीचमा जामर रहने व्यवस्था छ । मुखर्जीको कारगेडसँगै रहने अत्याधुनिक जामरले सय मिटर वरपरको क्षेत्रमा मोबाइल, डिजिटल डिभाइसलगायत विद्युतीय उपकरण सम्पर्कविच्छेद गरिदिन्छ।

प्रकाशित: १९ कार्तिक २०७३ ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App