coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीपीडित उद्धार र राहतमा स्थानीय तह सक्रिय

प्रदेश २ ब्युरो, जनकपुर– प्रदेश २ का बाढीपीडित आठ जिल्लामा स्थानीय तहको सक्रियता देखिएको छ। तर केन्द्रीय सरकारलाई झक्झकाउने प्रतिनिधि सभाका सांसदको कार्य भने सन्तोषजनक छैन। केही जिल्लाका सांसद बाढीपीडित क्षेत्रमा पुगे पनि धेरै सांसद पुगेका छैनन्।

धनुषामा राजेन्द्र महतो मात्र
बाढीपीडितको उद्धारमा समन्वय गर्न धनुषाबाट निर्वाचित सांसद राजेन्द्र महतो मात्र पुगेका छन्। आइतबार सो क्षेत्रमा पुगेका महतो आफ्नो निर्वाचन क्षेत्रमा घुमे र राहतको बन्दोबस्त गर्न भनेर फर्किए। धनुषाबाट निर्वाचित अन्य सांसद भने अझै पुगेका छैनन्।

कमला नदी, चारनाथ र जलाद खोलालगायत खहरे खोलामा आएको बाढी तथा डुबानको क्रममा धनुषाका तीन सय २३ जनालाई विस्थापित हुनुपरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकअनुसार जिल्लाका विभिन्न नगर तथा गाउँपालिकाका तीन हजार एक सय ७७ घर डुबानमा परेका छन्।

जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रजिअ प्रदीपराज कँडेलका अनुसार हालसम्म सात सय चार परिवारका दुई हजार चार सय ३२ जनालाई राहत वितरण गरिएको छ। अहिलेसम्म जनकपुर उपमहानगरपालिका–१, ७ र ८, जनकनन्दनी गाउँपालिका–१ र ६ तथा धनुषाधाम नगरपालिका–१ र ५ तथा मुखियापट्टी गाउँपालिकामा राहत वितरण गरिसकिएको छ। लगातार तीन दिनसम्म भएको वर्षा र बाढीपहिरोका कारण धनुषामा चारजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।

रौतहटमा सांसद सक्रिय

रौतहटका संघीय सांसद भने बाढीपीडितको उद्धार र राहतमा सक्रिय रहेका छन्। रौतहट क्षेत्र नम्बर १ का सासद अनिलकुमार झाले स्थानीय तह र प्रदेश सरकार बाढीपीडितको सहयोगमा लाग्नुपर्नेमा जोड दिए। रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साह स्थानीय बासिन्दाको सहयोगमा आफैं स्काभेटर लिएर पीडितलाई राहत वितरणमा सक्रिय रहेका छन्। उनीहरू आफनै सहयोगमा बाढीपीडितलाई चामल, त्रिपाल, कपडा, खाना पकाउने ग्यास सिलिन्डरसमेत वितरण गरी तीन दिनदेखि लागि परेका हुन्। त्यस्तै क्षेत्र नम्बर ४ का सांसद देवप्रसाद तिमल्सिना बाढीप्रभावित स्थानको स्थलगत अनुगमन गरी पीडितलाई राहत उपलब्ध गराउन पहल गरिरहेका छन्।

स्थानीय तहद्वारा सामूहिक खानाको व्यवस्था

बाढीका कारण विस्थापित परिवारलाई यहाँका स्थानीय तहले सामूहिक मेस सञ्चालन गरी खाना खुवाइरहेका छन्। बाढीका कारण प्रभावित भएका झन्डै ७ं० हजार घरपरिवारलाई स्थानीय जनप्रतिनिधिले वडा अध्यक्षमार्फत सामूहिक मेस नै सञ्चालन गरेर खाना खुवाइरहेका हुन्। पीडितहरू सामुदायिक विद्यालय, सामुदायिक भवन र छिमेकीको घरमा शरण लिएर बस्दै आएका छन्।

। रौतहटको ईशनाथ नगरपालिका–१ का २५ सय घरपरिवार विगत चार दिनदेखि सरकारी राहतको पर्खाइमा छन्। ईशनाथका मेयर सन्तोष मेहताले अरू वडामा गएर राहत वितरण गरे पनि बन्जरहावासीको दिनचर्या बुझ्न आज चौथो दिन पनि नआएको स्थानीय महेश साहले बताए। बन्जरहाका बाढीपीडितलाई रौतहट प्रहरी प्रमुख भूपेन्द्र खत्रीको नेतृत्वमा उद्धार र राहत वितरण गरिएको छ।

जनता डुबानमा पर्दा सांसद पुगेनन्, स्थानीय तह सक्रिय

महोत्तरीका १५ वटै स्थानीय तहका जनता प्रभावित भइरहेका बेला तिनै जनताबाट चुनिएका सांसदलाई भने अहिलेसम्म जिल्लातर्फ फर्केर हेर्ने फुर्सद छैन। केही प्रदेश सांसदबाहेक अहिलेसम्म महोत्तरीमा कुनै पनि प्रतिनिधि सभा सदस्य नआएकामा स्थानीय आक्रोशित बनेका छन्। महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेल, क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सरतसिंह भण्डारी, क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य महन्थ ठाकुर र क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव बाढीको भेलले गाउँबस्ती डुबानमा परेको तीन दिन बितिसक्दा समेत जिल्ला आएका छैनन्। क्षेत्र नं. १ प्रदेश सासंद तथा भरत साह र शारदा थापा, क्षेत्र नं. ३ का प्रदेश सभा सदस्य अभिराम शर्मा र रानी शर्माले जिल्लाका केही बाढीपीडितसँग भेटेर उनीहरूको वस्तुस्थिति बुझ्ने प्रयास गरे पनि अन्य सासंद अहिलेसम्म जिल्ला आएका छैनन्। यता स्थानीय जनप्रतिनिधि भने बाढीपीडितलाई उद्धार तथा राहत कार्यमा खटिरहेका छन्।

संरचना मर्मत गर्दै स्थानीय सरकारप्रमुख

लगातारको वर्षापछि खोलानालामा आएको बाढीले गरेको क्षतिको तथ्यांक संकलन गर्नुका साथै भत्केका संरचना मर्मतमा स्थानीय सरकारप्रमुख जुटेका छन्। जिल्लामा रहेका १६ वटा स्थानीय तहका सयौं स्थानीयको घर डुबानमा परेका थिए भने धेरै स्थानका सडक र गण्डक नहर भत्किएका थिए।

‘बाढीले भत्काएको सडक र गण्डक नहरको मर्मत सुरु गरिएको छ,’ सिम्रौनगढ नगरपालिका प्रमुख विजयशंकर यादवले भने, ‘बाढीले गण्डक नहरको पावरहाउस र कचोर्वा गरी दुई स्थान र सिम्रौनगढदेखि टेटा जाने सडक भत्काएको छ।’ बाढीले ११ वटा वडामा बढी क्षति भएको र अति आवश्यक पर्ने सडक, कल्भर्ट, नहर तथा स्थानीयका घर डुबानको तथ्यांक संकलन गरी मर्मत गर्ने काम अगाडि बढाइएको उनले बताए। बाढीले हर्दिया–कवही र पिपरपाति–कवही सडकखण्डका ठाउँठाउँमा भत्काएको, ती भत्काएका सडकको मर्मतका लागि स्काभेटर लगाइएको र डुबानमा परेका दुई सय ५० परिवारलाई राहतको व्यवस्था गर्न निर्देशन दिइसकिएको छ। कलैया उपमहानगरपालिकाले पनि ठाउँठाउँ सडक मर्मत र डुबानमा परेकालाई त्रिपाल वितरण गरेको छ।

त्यस्तै देवताल गाउँपालिका, पचरौता नगरपालिका र जितपुरसिमरा उपमहानगरपालिका लगायतका स्थानीय तहका प्रमुख र पदाधिकारी पनि भत्किएका संरचना तथा डुबानमा परेका स्थानीयलाई राहत दिने कार्यमा खटेका छन्।

पर्सामा सांसद खोज्दै बाढीपीडित

पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादव तीन दिनदेखि बाढीपीडितको घरदैलोमा दिनहुँ देखिए पनि जिल्लाका बाँकी तीनवटा क्षेत्रबाट निर्वाचित सांसदको अत्तोपत्तो छैन। प्रतिनिधिसभा सदस्य यादवले बाढीपीडितलाई आफ्नो एक महिनाको तलब दिने घोषणासमेत गरेका छन्। यता अरू निर्वाचन क्षेत्रका बाढीपीडित आफ्ना सांसदलाई खोज्दै छन्।

संसद्बाट पाउने एक महिनाको तलबबराबरको रकम पर्सास्थित जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने यादवले सोमबार प्रेस विज्ञप्तिार्फत घोषणा गरेका हुन्। समावजादी पार्टीकै क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद विमलप्रसाद श्रीवास्तव भने देखिएका छैनन्। उनको क्षेत्रमा दर्जनौं गाउँ डुबानमा छन्। त्यस्तै क्षेत्र नम्बर ३ बाट निर्वाचित सोही पार्टीका हरिनारायण रौनियार अहिले सांसद पदबाट निलम्बित छन्।

क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद लक्षमणलाल कर्णसमेत आएका छैनन्। स्थानीय तहको चुनाव नजिकिँदै जाँदा दुई वर्षअगाडि आएको बाढीमा जिल्लामा सबभन्दा सक्रिय नेता थिए विजय सराबगी। उनी नगरप्रमुख पदमा चुनावमा प्रत्यासी हुने चर्चा रहेको बेला राहत वितरणमा अग्रणी देखिएका थिए। यसपालि पुनः सोही क्षेत्र डुबानमा परेको बेला उनी राहत एकद्वार प्रणालीबाट वितरणको पक्षमा देखिए।

पर्साकै पोखरिया नगरपालिकाले वडाहरूमार्फत स्थानीयको आवश्यकताअनुसार राहत तथा उद्धार कार्य गरेको नगरप्रमुख दीननारायण रौनियारले बताए। पर्सागढी नगरपालिका र बहुदरमाई नगरपालिकामा राहत वितरण र विपद् व्यवस्थापन फितलो भएको स्थानीयको गुनासो छ। छिपहरमाई गाउँपालिकामा भने बाढीपूर्वको तयारी र बाढीको समयमा राहत तथा उद्धारमा गाउँपालिका प्रमुख मनोज गुप्ता र निर्वाचित प्रतिनिधिले सराहनीय काम गरेको स्थानीयको भनाइ छ।

जिराभवानी गाउँपालिकाले पनि वडाहरूमा समन्यव गरी बाढीको जोखिम तथा क्षति न्यूनीकरणमा काम गरेको त्यहाँका प्रमुख प्रसाशकीय अधिकृत अमित गिरीले बताए। पटेर्वासुगौली गाउँपालिकाको निचुटास्थित मोर टोलमा बाढीले दर्जन बढी घरधुरीमा क्षति पु¥याएको छ। गाउँपालिकाले जिल्लास्थित विपद् व्यवस्थापन समितिसँग समन्वय गरी राहत पु¥याएको छ।

सर्लाहीमा जुट्दै स्थानीय तह, आएनन् सांसद

डुबान क्षेत्रमा राहत वितरणका लागि सर्लाहीका स्थानीय तहका पदाधिकारी जुट्न सुरु गरेका छन्। डुबानबाट बलरा र मलंगवा नगरपालिका एवं धनकौल, रामनगर, बसबरिया, कौडेना गाउँपालिका बढी प्रभावित छन्। अन्य स्थानीय तहमा पनि कतिपय घर डुबानमा परेका छन्।

धनकौलको महिनाथपुर पुरै डुबानमा परेको छ। मनुस्मारा नदीमा ठूलो बाढी आएको तथा बागमती नदीको पानीसमेत बाँध टपेर पसेका कारण महिनाथपुर गाउँ पुरै डुबेको हो। डुबान प्रभावित स्थानीय तहका प्रमुखले डुबानपीडितलाई राहत वितरणको प्रकृया सुरु गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए। उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित स्थानीय तहका पदाधिकारी एवं स्थानीय सर्वसाधारण लागि परेको प्रजिअ राउतले बताए।

६ दिनदेखि विद्युत नहुँदा डुबान क्षेत्रमा मोबाईल टावरले काम नगरेपछि संचार सम्पर्क विच्छेदको अवस्था छ। प्रायशः स्थानीय तहका प्रमुख एवं वडा अध्यक्षसँग सम्पर्क हुन सकेको छैन।

त्यस्तै डुबान क्षेत्रका संघीय सांसदहरु काठमाडौंमै रहेका छन्। सबैभन्दा बढी डुबान भएको ४ नं. क्षेत्रका सांसद् डा. अमरेश कुमार सिंह जिल्लामा छैनन्। त्यस्तै क्षेत्र नं. ३ का सांसद् रामेश्वर राय यादव पनि काठमाडौंमै छन्। काठमाडौंबाट बाहिर निस्कने सबै सडक अवरुद्ध भएकाले जिल्ला आउन नसकेको क्षेत्र नं. ३ का सांसद् यादवले बताए।

अविरल वर्षाका कारण सर्लाहीका २५ हजार भन्दा बढी घरमा पानी पसेको प्रहरीको प्रारम्भिक तथ्यांक छ। हालसम्म संकलित तथ्यांक अनुसार डुबानबाट १३ सय घर पूर्ण रुपले तथा ४१ सय घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी राउतले जानकारी दिए।

सप्तरीमा प्रदेश संसद संक्रिय, संघिय छैनन्

प्रदेश–२का भूमि व्यस्था एवम् कृषि तथा सहकारी मन्त्री मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा नगद एक लाख रुपैया सहयोग गरेका छन्। गाउँपालिकाकाका अध्यक्ष सतिशकुमार सिंहका अनुसार सोमवार गाउँपालिकाको विपद व्यवस्थापन कोषमा मन्त्री साहले उक्त रकम पठाएका हुन्।

तिलाठी कोईलाडी गाउँपालिकाका मन्त्री साह निर्वाचित प्रदेश सभा क्षेत्र अन्तर्गत पर्ने गर्दछन्। पछिल्लो बाढीले तिलाठी कोईलाडी गाउँपालिकाका झण्डै २ हजार परिवारलाई प्रत्यक्ष प्रभावित पारेकोले राहत व्यवस्थपनका लागि उक्त रकम आफ्नो पारश्रमिक वाट दिईएको मन्त्री साहले जानकारी गराए। ‘आफ्नो संसदिय क्षेत्रका जनताहरुको दुखमा थोरै भएपनि आफ्नो पारश्रमिक खर्चेर सहयोग गरौ भने उद्देश्यले गाउँपालिकाको राहत कोषमा रकम पठाएका हौ’, मन्त्री साहले भने, ‘प्रदेश सरकार बाढी पिडितहरुका लागि सहयोगका निम्ती तत्काल प्रदेश भित्रका सवै जिल्लाहरुलाई १०÷१० लाखका दरले पहिलो चरणमा रकम पठाएका छन्, अझै पनि हामि बाढी पिडितलाई सक्दो सहयोगको वातावरण निर्माण गरीरहेका छौ।’

भूमि व्यवस्था एवम् कृषि तथा सहकारी मन्त्रीका अतिरीक्त प्रदेश–२का अर्का मन्त्री नवलकिशोर साहले पनि बाढी पिडितलाई सक्दो सहयोग गर्ने योजनामा आफु रहेको वताएका छन्। शनिवार साँझै उनी जनकपुरवाट सप्तरी पुगेका थिए। बाढी र डुबानको खवर पाए लगत्तै आफु सप्तरी पुगेको जानकारी गराउँदै मन्त्री साहले प्रदेश सरकार तथा आफ्नो व्यक्तिगत तर्फवाट पनि बाढी पिडितको सहयोगमा कुनै कसर वाकि नराखिने प्रतिवद्धता जनाए। उनले भने, ‘म आफै बाढी प्रभावित क्षेत्रको स्थगलत अनुगमनमा छु, पहिलो चरणमा प्रदेश सरकारले रकम पठाएकै अवस्था छ, विभिन्न स्थानिय सरकारहरु पनि अत्यन्तै तदारुकताका साथ लागेका छन्, रकमको अभावमा बाढी पिडितलाई पिडा हुने छैन, हामित्यसका निम्ती प्रतिवद्ध छौ।’
दुई मन्त्रीका वाहेका अन्य क्षेत्रका संघिय तथा प्रदेश सांसदहरु भने अझै वाढी प्रभावित क्षेत्रमा देखिएका छैनन्। असारे विकासका क्रममा तालिम गोष्ठि र विकासिय योजनाहरु संचालन गर्न महिनौ देखि सप्तरीमा देखिने गरिएका सांसद तथा विधायकहरु वर्षा र बाढी सँगै जिल्लावाट पलायन भएको भनि कटाक्ष सर्वसाधारणले गर्न थालेका छन्।

यता सप्तरी स्थित विभिन्न स्थानिय तहहरुले पनि बाढीपिडितको राहत तथा वचाव कार्यमा तदारुकता देखाएका छन्। यद्यपी उक्त कार्यमा अझै प्रभावकारीता देखाउनु पर्ने खाँचो रहेको सरोकारवालाहरुको भनाई छ। जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, कंचनरुप नगरपालिका, सप्तकोसी नगरपालिका, राजविराज नगरपालिका सहितका स्थनिय तहहरुले प्रारम्भीक चरणमा पाल वाडनुका साथै च्यूरा, मुरही, विस्कुट, चाउचाउ तेल लगायतका खाद्यान सामग्री समेत वितरण गरेको छन्। बाढी पिडितहरुलाई राहत वचाव सँगै स्वास्थ्य, सरसफाई तथा खानेपनि तर्फ पनि स्थानिय तहहरुले तथ्यांक संकलन एवम् टोली परिचालन जस्ता कार्यहरु थालेको जिल्ला समन्व्य समिति सप्तरीका सभापति प्रभाकर यादवले जानकारी गराए।

प्रकाशित: ३१ असार २०७६ ०४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App