८ वैशाख २०८१ शनिबार
कला

तबला बजाउन सिकाउँदै सरिता

काठमाडौं– तवलावादक सरिता मिश्रको दिनचर्या नेपाली शास्त्रीय संगीत सिक्न आउने विद्यार्थीहरूसँगै बित्छ। काठमाडौंमा सूर्योदय नहुँदै शास्त्रीय संगीतमा रुचि राख्ने विद्यार्थीहरू उनको नाद संगीत पाठशालामा पुगिसक्छन्। बिहानै उनी शास्त्रीय संगीतअन्तर्गत तबला सिक्न पुगेका विद्यार्थीहरूलाई प्रशिक्षण दिन तलिन हुन्छिन्। उनले यो संगीत स्कूल ९ वर्ष अगाडि खोलेकी हुन्।

विसं. २०४५ सालदेखि तवला सिकाउँदै आएकी उनी गुरु र विद्यार्थीको सम्बन्ध आत्मिय हुनुपर्ने बताउँछिन्। ‘गुरु र विद्यार्थीबीचको सम्बन्ध आत्मिय हुनसके दुवैले एक अर्कालाई बुझ्न सक्थे। यसले सिक्ने र सिकाउने प्रक्रियामा गुरु र विद्यार्थीलाई फाइदा दिन्छ,’ उनी भन्छिन्।

७ वर्षे केटोकेटीदेखि डिप्लोमा तहसम्म अध्ययन गरिरहेको उनका विद्यार्थीहरू तवला बजाउन माहिर हुँदैछन्। उनको नाद संगीत पाठशालामा तवला सिक्न पुगेका विद्यार्थीहरूको संख्या झण्डै दुई सय पुग्न लागिसकेको छ।

गुरु ब्रह्मा गुरुर विष्णु गुरुर देव महेश्वर ,
गुरु साक्षत परम्ब्रह्मा तस्मै श्री गुरुवे नमः

आफूलाई शिक्षा दिने गुरुलाई भगवान विष्णुको अवतार मानेर पुज्ने संस्कृति भएपनि उनी भने आमा र बाबुलाई आफ्नो गुरु मान्छिन्। ‘गुरुले हरेक मानिसभित्र भएको अज्ञानतालाई हटाउन सक्छन्,’ उनी भन्छिन्।

उनले शास्त्रीय संगीत सिक्न थाल्दा तबला पुरुषका हातबाट मात्रै बज्न सक्छ भन्ने मान्यता थियो। करिव तीन दशकअघि उनले तवला सिक्छु भन्दा गुरु होमनाथ उपाध्याय समेत अचम्म मानेका थिए।

संगीत मनोरञ्जनको साधन मात्र होइन्।  विद्यार्थीहरूले सिकेको संगीतको सीपबाट आत्मनिर्भर भएर बाँचुन भनेर लागिपरेको छु।

२७ वर्षअघि नारायण संगीत प्रतिष्ठानको स्थापना गरेपछि आफूजस्तै संगीत साधकसँगको सहकार्यमा पशुपति क्षेत्रमा किरातेश्वर संगीत आश्रम खोलिन्। पछिल्लो समय निः शुल्क रूपमा बालबालिकालाई संगीत सिकाउन उनलाई भ्याइनभ्याइ भएको छ।

उनी संगीतलाई मनोरञ्जनको साधन मात्र ठान्दिनन्। बरू आफ्ना विद्यार्थीहरूले संगीतलाई सीपका रुपमा प्रयोग गरी आत्मनिर्भर बनून् भन्ने चाहन्छिन्। ‘विद्यार्थीहरूले सिकेको सीपबाट आत्मनिर्भर भएर बाँचुन भनेर नियमित संगीत सिकाइरहेको छु, ’उनी भन्छिन्, ‘संगीत गुरुको सामिप्यमा बसेर सिके मात्र पूर्णता प्राप्त गर्न सकिन्छ।’

उनको स्कूलमा निः शुल्क र व्यावसायिक कक्षाहरू सञ्चालन हुने गरेका छन्। बुवा हरिप्रसाद मिश्र गायक भएकाले सानैदेखि सांगीतिक माहोल बुझेकी उनी संगीतलाई भगवान र मानिसबीचको पुल मान्छिन्। उनी आफ्ना विद्यार्थीहरू अनुशासित भएर साधना गर प्रेरित गरिरहेकी हुन्छिन्।  ‘शास्त्रीय संगीतमा धैर्यताको आवश्यकता पर्दछ। विद्यार्थीहरू अनुशासित भएर निरन्तर साधना गर्न सके राम्रो हुन्थ्यो,’ उनी भन्छिन्।

उनीसँग शास्त्रीय संगीतअन्तर्गत तवला सिकिरहेकी अम्बिका कार्की यसलाई निरन्तरता दिन चाहन्छिन्। ‘यहाँ तवला सिक्न आएपछि नेपालमा संगीतबारे बुझ्ने अवसर पाइरहेको छु। संगीत सिक्नको लागि धैर्यता र निरन्तरता आवश्यकता पर्छ। पढाईसँगै यसलाई निरन्तरता दिने सोच बताएकी छु,’ उनले भनिन्। प्राय नियमित रूपका तवलाको कक्षामा सहभागि हुने उनी भविष्यमा संगीतमा लाग्ने योजना सुनाउँछिन्।

अर्का विद्यार्थी प्रशान्त श्रेष्ठ तवलासँग गिटारको कक्षा समेत लिइरहेका छन्। तवला र गिटारको कक्षा एउटै समयमा परेकाले उनी हत्तारिदैं दुवैमा सकेंसम्म सहभागि हुने गरेका छन्। ‘गिटार सिक्ने रहर पुरानो भएपनि तवला बजाउन पहिले सिकेको हुँदा दुवैलाई मिलाएर लगिरहेको छु,’ उनी भन्छन्।

प्रकाशित: ३१ असार २०७६ ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App