coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भारतीयलाई पोखरा घुम्ने ‘निम्तो’

भारतको हैदरावादमा आयोजित व्यवसायीको छलफल। तस्बिर : नागरिक

पोखरा – पश्चिमाञ्चल होटल संघले केही दिनअघि भारतका विभिन्न सहरमा ‘चलिए पोखरा’ अभियान चलायो। भारतीय पाहुनालाई पोखरा घुम्न आउन निम्तो दिँदै संघले सन् २०१२ देखि भारतका फरकफरक सहरमा बर्सेनि यस्तै अभियान चलाउँदै आएको छ। यस्ता अभियानले पोखरामा भारतीय पाहुनाको आगमन बढाएको संघको ठहर छ। 

संघले जस्तै पर्यटन क्षेत्रमा सक्रिय अर्काे निकाय नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा)ले पनि केही दिनअघि भारतीय सहरमै प्रवद्र्धनात्मक अभियान लिएर पुग्यो। नाट्टाले बर्सेनि गर्दै आएको ‘अन्तर्राष्ट्रिय सहर प्रवद्र्धन’ अभियानका क्रममा यो पटक भारतको हैदरावाद र बैंग्लोरमा प्रवद्र्धनात्मक कार्यक्रम लगेको थियो। प्रवद्र्धन अभियानका संयोजक सञ्जयकान्त सिग्देलले भारतीय सहरका पाहुनालाई नेपाल घुम्न आउन निम्ता दिँदै यो पटक भारतका दुइटा सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गरेको बताए।

‘नेपाल घुम्न आउने भारतीयमध्ये पनि धार्मिक पर्यटक र गर्मी छल्न आउने धेरै छन,’ सिग्देलले भने, ‘कुनै न कुनै रुपमा भारतीय पाहुना पोखरा आएका छन्। उनीहरुबाट पोखराले लाभ पाएको छ।’ आन्तरिकपछि भारतीय पर्यटकबाटै पोखराले फाइदा लिएको उनले बताए। भारतीयलाई पोखरा घुम्न आउन निम्ता दिँदै आफूहरु विभिन्न सहरमा कार्यक्रम लिएर पुगेको बताए। ‘हामीले भारतीय पाहुनालाई यो सिजनमा पोखरा घुम्न आउनुस् भनेर निम्ता दिएका छौं,’ सिग्देलले भने, ‘भारतीय टुर अपरेटर्समार्फत पाहुनालाई घुम्न आउने निम्ता दिएका हौं।’

सन् २०१२ देखि भारतका फरकफरक सहरमा बर्सेनि चलाइँदै आएका यस्ता अभियानले पोखरामा भारतीय पाहुनाको आगमन बढाएको संघको ठहर
 

नाट्टाले प्रवद्र्धनको यही अवसर पारेर भारतको हैदरावादस्थित टुर अपरेटर्स एसोसिएसन अफ तेलंगनासँग पर्यटन गतिविधिमा सहकार्य गर्ने सम्झौतासमेत गरेको छ। दुईपक्षीय सहमतिले आगामी दिनमा थप भारतीय पर्यटक नेपाल आउन सहज हुने सिग्देलको भनाइ छ। नाट्टाले प्रवद्र्धन अवसर पारेर हैदरावादमा आयोजित पर्यटनसम्बन्धी भारतकै ठूलो ट्राभल फेयरमा सहभागिता जनाएको थियो।

त्यसबाहेक हैदरावादमै व्यापारिक भेटघाट (बिटुबी) पनि गरेको थियो। सिग्देलका अनुसार कतिपय भारतीय सहरमा अझै पनि नेपालमा भूकम्पपछि घुम्न जान जोखिम रहेको भन्ने सन्देश छ। त्यो गलत सन्देश चिर्न व्यवसायीको यस्तो प्रवद्र्धन प्रभावकारी हुने उनले बताए। ‘नेपालबारे फैलिएको गलत सन्देश चिर्ने काम हामी व्यवसायीले नै गर्ने हो,’ सिग्देलले भने, ‘भारतीय पर्यटन व्यवसायीमा पनि नेपालबारे अन्योल थियो, त्यो अन्योल अब हटेको छ।’

व्यवसायीका अनुसार अहिले वर्षभरिको भारतीय पाहुनाको हिस्सा करिब २० प्रतिशत छ। तर, मुल सिजन (जुन–जुलाई–अगस्त)को आगमन भने अकुपेन्सीको ५० प्रतिशत हाराहारीमा छ। सिजनको हिस्सालाई बाह्रैमास कायम राख्नेगरी भारतीय पाहुनालाई पोखरा भित्र्याउन पहल भइरहेको व्यवसायीको भनाइ छ। त्यसका लागि प्रवद्र्धन कार्यक्रम व्यवसायीले गरिरहेका छन्। पोखरामा वर्षमा दुई लाखजति भारतीय पर्यटक आउने व्यवसायीको अनुमान छ। समूहमा र आफैं गाडी लिएर आउने भारतीय पाहुना बढी रहेको व्यवसायीले बताए।

प्रवद्र्धनका क्रममा टुर अपरेटर्स एसोसिएसन अफ तेलंगनाका अध्यक्ष सिरज अन्सारीले भूकम्पले धेरै नोक्सान भएको अनुमान भएकाले धेरै भारतीय पर्र्यटक नेपाल पठाउन नसकेको बताएका थिए। ‘हामी आफैं पनि अन्योलमा थियौं, भूकम्पको क्षतिको त्रासले अझै पनि धेरै पर्यटक नेपाल जान चाहेका छैनन्,’ अन्सारीले भने, ‘हामी पनि अन्योलमा रहेछौं। बल्ल नेपालमा पाहुना पठाउन सहज भएको बुझ्यौ। अब हामीलाई पाहुना पठाउन सहज हुनेछ।’

पोखरेली व्यवसायीसँगको छलफलमा इस्टर्न हिमालयन ट्राभल एन्ड टुर अपरेटर्स एसोसिएसनका उपाध्यक्ष कल्याण देवले नेपाल घुम्न जाने भारतीय पाहुनाका लागि आउजाउमा सहजता रहेको बताए। भारतीय पाहुनाका लागि नेपाल सहज गन्तव्य रहेको उनले बताए। ‘भारतीयका लागि नेपाल घुम्न सजिलो छ,’ उनले भने, ‘नजिकको गन्तव्य र खुला सीमाका कारण कुनै समस्या छैन। सहजै आउजाउ गर्न सकिन्छ।’ पोखरेली व्यवसायीले पोखरा घुम्नका लागि गरेको निम्ताले पर्यटनमा आतिथ्यताको नयाँपन देखिएको देवले बताए।

नाट्टाले प्रवद्र्धनात्मक कार्यक्रमका क्रममा भारतकै अर्काे सहर बैंग्लोरमा पनि बिटुबी गरेको थियो। बैंग्लोरमा भएको कार्यक्रममा इन्टरप्रेनर्स ट्राभल एजेन्ट एसोसिएसन (इटिएए)का साउथ इन्डिया च्याप्टर जगदशी एचले अहिलेसम्म नेपाल घुम्न जाने भारतीयको प्याकेजमा पोखरा पार्न नसकेको बताए। माउन्ट कैलाशका लागि ती भेगका धार्मिक पर्यटकलाई पठाउने गरेको र तीमध्ये केही काठमाडौंसम्म जाने गरे पनि अबको प्याकेजमा पोखरा र मुक्तिनाथलाई समेट्ने वचन उनले दिए। ‘अब कम्तिमा पोखरा र मुक्तिनाथलाई प्याकेजमा समेट्ने हो भने धेरै पाहुना पठाउन सकिन्छ,’ उनले भने, ‘पोखरा र मुक्तिनाथ पनि गतिला गन्तव्य भएकाले अब बल्ल प्याकेजमा समावेश गरिनेछ।’

नेपालको पोखरासम्म भारतका विभिन्न सहरबाट सिधा हवाई उडान नभए पनि स्थलमार्गबाट पनि आउन सकिन्छ भन्नेबारे पोखरेली व्यवसायीले जानकारी दिएका थिए। गोरखपुरसम्म जहाज वा रेलसम्म आएर त्यसपछि स्थलमार्गबाट लुम्बिनी हुँदै पोखरासम्म आउजाउ गर्न सकिने भएकाले पनि पाहुना पठाउन आफूहरुले आग्रह गरेको संयोजक सिग्देलले बताए। पोखरा आउँदा लुम्बिनी बीचमा पर्ने भएकाले यसलाई पनि समेट्न सकिने उनले बताए। ‘भारतीयलाई लक्षित गर्दा पोखराले त लाभ पाउनेछ, लुम्बिनीले पनि पाहुना भेट्नेछ,’ सिग्देलले भने, ‘अहिलेसम्म भारतीयबाट ठूलो राहत मिलेको छ। पोखरालाई जोडेर मुक्तिनाथ जाने पाहुना भित्र्याउन सकियो भने पनि हामीलाई फाइदा नै हुन्छ।’

प्रकाशित: ३१ असार २०७६ ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App