८ वैशाख २०८१ शनिबार
समाज

महन्तले बेचे मठमन्दिरकाे जग्गा

लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णव। तस्बिरः नागरिक

काठमाडौं/जनकपुर–एक महन्तले गुठी संस्थानअन्तर्गत विभिन्न मठ मन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको तथ्य फेला परेको छ। महोत्तरी महिटानी गाविस स्थायी घर भएका लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवले सबा तीन अर्ब रुपैयाँभन्दा बढीको सरकारी जमिन बिक्री गरेका हुन्।

सरकारी जमिनको संरक्षण नहुँदा संस्थानअन्तर्गत रुपन्देही र धनुषा जिल्लामा लक्ष्मी नारायण, रामजानकीलगायत मन्दिरको करिब सात बिघा जमिन बिक्री गरेर हिनामिना गरेका छन्। उक्त जमिनको अहिलेको चलनचल्तीको मूल्य तीन अर्ब २३ करोड रुपैयाँ पर्छ।

नागरिकलाई प्राप्त कागजातअनुसार जगन्नाथले धनुषामा करिब पाँच बिघा र रुपन्देहीमा दुई बिघा जमिन विभिन्न मितिमा बिक्री गरेको भेटिएको छ। चलनचल्तीको मूल्यअनुसार धनुषाको जग्गाको मूल्य करिब तीन अर्ब र रुपन्देहीको जमिनको मूल्य करिब २३ करोड पर्छ।

मन्दिरका गुरु कौशल किशोरको मृत्युपछि उनका चेला जगन्नाथले मठमन्दिरले प्रयोग गर्दै आएको जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेका हुन्। मालपोत, नापीका कर्मचारी र गुठी संस्थानका उच्च नेतृत्वसँगको मिलेमतोमा उनले जग्गा बिक्री गरेका हुन्। गुठी संस्थानको हेलचक्र्याइँका कारण महन्तले सरकारी जमिनमा रजाइँ गर्दै आएका छन्।

२०५४ सालमा गुठी संस्थानको महन्त नियुक्त भएपछि वैष्णवले विभिन्न मितिमा जग्गा बिक्री गर्दै आएको स्रोतले बतायो। यी महन्तलाई रुपन्देही, महोत्तरी, धनुषा, सर्लाही, सिरहा र पर्साका मठमन्दिरको रेखदेख र व्यवस्थापन गर्ने जिम्मेवारी छ। उनी रामानु सम्प्रदायबाट महन्त भएका हुन्। धार्मिक मान्यताअनुसार संस्थानले सम्बन्धित सम्प्रदायबाट नै महन्त नियुक्त गर्ने परम्परा छ। मानमहन्त मठमन्दिरको शीर्षस्थ व्यक्ति हो। महन्तले मठमन्दिरको जमिन संरक्षण गर्ने दायित्व भए पनि धार्मिक परम्परा र मान्यताविपरीत आफैंले बिक्री गरेका छन्।

जगन्नाथ दासले आफ्नो नामको जग्गा भएको बताउँदै आए पनि उक्त जमिन मन्दिरबाट आफ्नो नाममा ल्याएका हुन्। जहाँजहाँ मठमन्दिर छन्, त्यहाँत्यहाँ जगन्नाथको नाममा जमिन छ। विगतमा मठमन्दिरको जमिन गुरुको नाममा दर्ता गर्ने प्रचलन रहेकोमा त्यसको फाइदा उठाउँदै गुरुको मृत्युपछि आफ्नो नाममा उनले ल्याएर बिक्री गरेका हुन्। ‘जगन्नाथले संस्थानकै नेतृत्व र मालपोतका कर्मचारीको मिलेमतोमा जग्गा आफ्नो नाममा ल्याएका हुन्,’ गुठी संस्थाका एक उच्च अधिकारीले भने, ‘नेतृृत्व चुप लागेर बस्दा अर्बौं रुपैयाँको सम्पत्ति बिक्री गरे।’

महोत्तरी महिटानी गाविस स्थायी घर भएका लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवले सबा तीन अर्ब रुपैयाँभन्दा बढीको जमिन आफ्ना नाममा ल्याएर बिक्री गरेका छन्।

वैष्णवले पछिल्लो पटक रुपन्देहीको सिद्धार्थ नगरपालिका वडा नं. ६ मा रहेको जमिन बिक्री गरेका छन्। उक्त जमिनको बिक्री मूल्य ६१ लाख रुपैयाँ देखाइएको छ। उनले सिद्धार्थनगर–६, भैयाटोलमा रहेको लक्ष्मीनारायण मठको कित्ता नम्बर १६५ को तीन कट्ठा पाँच धुर जग्गा ६१ लाख रुपैयाँमा बिक्री गरेका छन्। उक्त जमिन सिद्धार्थनगर–१० का उदयमान पाण्डे र सञ्जयप्रसाद पाण्डेले खरिद गरेका छन्। लालपुर्जामा बिक्री मूल्य ६१ लाख देखाए पनि उक्त जमिनको मूल्य करिब तीन करोड रुपैयाँ पर्ने स्थानीय बताउँछन्।

सिद्धार्थ नगरपालिका वडा नं. ६ भैयाटोलका धु्रवनारायण कर्णले गुठी संस्थानअन्तर्गत मन्दिरको नाममा रहेको जग्गा जगन्नाथले आफ्नो नाममा ल्याएर बिक्री गरेको बताए। ‘मेरो जग्गासँगै जोडिएको जमिन पहिला गुठी संस्थानअन्तर्गत मन्दिरको नाममा थियो,’ कर्णले सोमबार टेलिफोनमा नागरिकसँग भने, ‘कहाँ कसरी जगन्नाथले आफ्नो नाममा लगेर बेचे, थाहा भएन।’

महन्तले सिद्धार्थनगरको एक कित्ता र रुपन्देहीकै सियारी गाउँपालिका वडा नं. ३ (साबिक हर्नैया गाविस वडा नं. ९) को १० कित्ता गरी ११ कित्ता जमिन बिक्री गरेका छन्। त्यसैगरी नागरिकलाई प्राप्त जग्गाधनी दर्ता स्रेस्ताअनुसार जगन्नाथको रुपन्देहीको साबिक हर्नैया गाविस वडा नं. १ मा रहेको कित्ता नम्बर १८९, २३०, ३०१, ३०६, ३१५,३६३, ३७३, ३७८,३८५, ३८६ को जमिन बिक्री भएको देखिन्छ।

त्यहाँ ३३ कट्ठा ९४ धुर जमिन बिक्री भएको छ। उक्त जग्गाको चलनचल्ती मूल्य न्यूनतम तीन लाखदेखि पाँच लाख धुर पर्ने स्थानीय बताउँछन्। न्यूनतम ३ लाख रुपैयाँले हिसाब गर्दा पनि उक्त जमिनको मूल्य २२ करोड ६२ लाख हुन्छ। जग्गाधनी पुर्जामा जगन्नाथका बाबुको नाम कौशल किशोर लेखिएको छ। कौशल किशोर जगन्नाथका बाबु नभई गुरु हुन्। जगन्नाथका बाबुको नाम देवनारायण झा हो।

त्यसैगरी वैष्णवले जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ धनुषामा रहेको रामजानकी मन्दिरको करिब पाँच बिघा जग्गा विभिन्न व्यक्तिलाई बिक्री गरेका छन्। बिक्री गरेको जमिन जनकपुरधामको मध्यभागमा पर्छ। जग्गाको चलनचल्तीको मूल्यअनुसार प्रतिधुर १० लाखदेखि ५० लाखसम्म खरिदबिक्री भइरहेको छ। सरदर प्रतिधुर १५ लाख रुपैयाँका दरले हिसाब गर्दा पाँच बिघा अर्थात् एक सय कट्ठा जग्गाको रकम तीन अर्ब रुपैयाँ पर्छ। महन्तले भने मालपोतले निर्धारण गरेको जग्गाको न्यूनतम मूल्यको राजस्व बुझाएर महँगोमा जग्गा बिक्री गरेको स्थानीय बताउँछन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ सिट नम्बर १४४तजष्कचतथाष्खभ–१० कित्ता नम्बर ३२२ को १ बिघा ११ कट्ठा २ धुर, कित्ता नम्बर ३६ को १० कट्ठा १५ धुर, ५१÷२०२ को ११ कट्ठा ३ धुर, २५ को ५ कट्ठा १४ धुर, ३१ को ४ कट्ठा ३ धुर, ३० को ३ कट्ठा ११ धुर, २०८ को ७ कट्ठा १९ धुर, १७ को ३ कट्ठा ७ धुर, ५० को ३ कट्ठा, १३५ को २ कट्ठा ७ धुर, २४९ को ४ कट्ठा १ धुर, २५० को २ कट्ठा ७ धुर, २५२ को ३ कट्ठा १ धुर, ३६२ को २ कट्ठा १ धुर, १०० को १ कट्ठा १६ धुरलगायतको जग्गा बिक्री गरिएको मालपोत कार्यालय, धनुषाको रेकर्डमा देखिन्छ। केही जमिन महन्तले आफ्ना बाबु देवनारायण झालाई दिएको स्रोतले बतायो।

जिल्ला मालपोत कार्यालय, धनुषाका कर्मचारी गुरु भट्टले जगन्नाथले विभिन्न समयमा जग्गा बिक्री गरेको देखिएको बताए। ‘कतैबाट विरोध नआएपछि जग्गा बिक्री गर्दै आएका छन्,’ भट्टले भने, ‘उजुरी परे रोक्का गर्छौं।’

धनुषाको रामानन्द चोक आपपासको जग्गा बिक्री भएपछि सर्वसाधारणले विरोध गरे पनि राजनीतिक शक्तिको आडमा किनबेच भएको स्थानीयले बताएका छन्। धनुषाका स्थानीय डाक्टर धिरेन्द्र शाहले राजनीतिक आडमा मन्दिरको जग्गा दुरुपयोग भएको बताए। ‘मन्दिरको जग्गा बिक्री हुँदा पनि राजनीतिक नेतृत्वले विरोध गरेनन्,’ शाहले भने, ‘शक्तिको आडमा सरकारी सम्पत्तिको दुरुपयोग भयो।’

रामानन्द चोककै करिब चार कट्ठा जग्गा धनुषा नेकपाका नेता दीपेन्द्र यावदले पनि किनेको स्रोतले बतायो। यादव तत्कालीन नेकपा एमालेबाट धनुषा क्षेत्र नं. ३ ‘क’ मा संसदीय निर्वाचन लडेका थिए। यसरी राजनीतिक तथा पहुँचवाला व्यक्तिले जग्गा लिएकाले विरोध नगरेको स्थानीयले बताए।

जगन्नाथले विभिन्न ठाउँका जमिन बिक्री गरेको सूचना आएको गुठी संस्थानका अधिकारीले स्वीकार गरे। गुष्ठी संस्थानका प्रशासक नारायण चौधरीका अनुसार जगन्नाथले गुरु आर्जनको जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेको सूचना आएको बताए। ‘गुरु आर्जनको जमिन बिक्री गर्न पाइँदैन,’ चौधरीले भने, ‘जग्गा बिक्री गर्न लागेको सूचनाका आधारमा विभिन्न जिल्लाको जग्गा रोक्का पनि गरेका छौं।’

चौधरीले वीरगन्जमा रहेको सात बिघा जग्गा केही समयअघि बिक्री गर्ने सूचना आएपछि मालपोतमा पत्राचार गरेर रोकेको बताए। चौधरीले भने, ‘जगन्नाथको नाममा कहाँकहाँ जमिन छ भनेर खोजी गरिरहेका छौं।’ चौधरीले यस्तो बताइरहे पनि मठमन्दिरका नाममा कुन जिल्लामा कति जमिन छ भन्ने रेकर्ड देखिँदैन। आरोपित महन्त जगन्नाथलाई पटकपटक फोन गर्दा र एसएमएस सन्देश पठाउँदा पनि सम्पर्कमा आएनन्।

प्रकाशित: ३१ असार २०७६ ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App