coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गुरुको महत्त्व

पदमप्रसाद पौडेल

आज बडो रमाइलो, गुरु पूर्णिमाको दिन हो। हाम्रो संस्कृति, संस्कार, सद्भाव बोकेर हरेक वर्ष आउने धार्मिक पर्व– गुरुपूर्णिमा हामी विशेष महत्त्वका साथ मनाउँछौँ। हाम्रा वर्षभरिका चाडपर्वले कुनै न कुनै स्थान ओगटेकै हुन्छन्। जस्तैः वैशाख शुल्कपूर्णिमालाई चण्डिपूर्णिमा, बुद्धजयन्ती र उभौली पर्व भनी मान्दै आएका छौँ। यस्तै ज्येष्ठ शुक्लपूर्णिमालाई इन्द्रेश्वर यात्रा, गैड पूजा भनी मनाउँदै आएका छौँ।  आजको यो आषाढ शुक्लपूर्णिमाको दिनलाई भने विशेष महत्त्वका साथ गुरुपूर्णिमा भनी मनाउने गछौँ। यसमा कुनै सन्देह छैन, गुरु, जसको जतिखेर जहिल्यै आवश्यकता पर्छ। गुरुबिना हामी उन्नति,  प्रगतिसम्म पुग्न सक्दैनौँ। गुरुले हामीलाई अँध्यारोबाट उज्यालोतर्फ र अप्ठेरोबाट सजिलोतार्फ डो-याउनुहुन्छ। यसर्थ जतिखेर पनि गुरुको आवश्यकता रही नै रहन्छ। गुरुबिनाको जिन्दगी के जिन्दगी!

गुरुब्रम्हा गुरुविष्णु गुरुर्देवो महेश्वर! गुरुदेव परब्रम्हा तस्यैश्री गुरवेनामः भन्दै सर्वोपरी जीवन हितकारी पर्व गुरुपूर्णिमा मान्छौँ। किनकि जतिबेला हामी बालक अवस्थामा हुन्छौँ, त्यतिबेला हाम्री ममतामयी आमा नै हाम्रा गुरु हुनुहुन्छ। त्यसपछि जब हामी हिँडडुल गर्ने, केही सुन्ने र बोल्ने हुन्छौँ तब अन्धकारबाट उज्यालोतर्फ, अप्ठेरोबाट सजिलोतर्फ तथा अज्ञानताबाट ज्ञानतर्फ हाम्रा गुरुले डो-याउँछन्। हामीलाई खेल्न, नाच्न, गाउन, बजाउन, जुनसुकै समयमा पनि गुरु आवश्यक पर्छ। त्यसैले यो गुरुपूर्णिमाको दिनलाई विशेष महत्त्वका साथ मान्दै आएका छौँ।

अब लागौँ, अन्य पूर्णिमातर्फः श्रावण शुक्लपूर्णिमालाई ऋषि तर्पणी, रक्षा बन्धन, जनै पूर्णिमा भनी मनाउँछौँ। यस्तै भाद्र शुक्लपूर्णिमाको भने अर्कै संस्कार र मान्यता रही आएको छ।  जसलाई सोह्रश्राद्ध पूर्णिमा पितृपर्व भनी पितृहरूको सम्झना गर्दै मनाउँछौँ। आश्विन शुक्लपूर्णिमालाई भने आकाश दीप दान, कोजाग्रत व्रत पूर्णिमा भनी मान्दै आएका छौँ। अब कार्तिक शुक्ल पूर्णिमालाई पनि चतुरमाश्य व्रत समाप्ति र गुरु नानक जयन्ती भनेर मान्दै आएका छौँ। अर्को मार्गशीर्ष शुक्लपक्ष पूर्णिमा, जसलाई धान्य पूर्णिमा र उधौली पर्व भनी मान्दै आएका छौँ।

अब आयो– पौष शुक्ल पूर्णिमाको कुरा, यस पूर्णिमालाई श्री स्वस्थानी व्रतारम्भ पूर्णिमाका रूपमा मनाउँछौँ। यसैगरी माघ शुक्ल पूर्णिमालाई पनि श्री स्वस्थानी व्रत समाप्ति पर्वका रूपमा मानिआएका छौँ भने फाल्गुण शुक्लपूर्णिमा, जसको अर्कै महत्त्व र मान्यता छ। फागुपूर्णिमा (होली पुन्ही) पर्वको पनि हाम्रो समाज विशेष महत्त्व छ। जुन आपसमा फागु, रङ दलेर सद्भावका साथ मनाउँछौँ। अब रह्यो, अन्तिमको चैत्र शुक्लपूर्णिमा। यो पर्वको पनि छुट्टै महत्त्व छ।

अन्त्यमा, वर्षभरिका हाम्रा यी पर्वका मान्यता र संस्कारसहित आफ्नो नेपालीपन कायम राखौँ भन्न चाहन्छु ।

 

प्रकाशित: ३१ असार २०७६ ०१:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App