coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भेनेजुयलाका राष्ट्रपतिपुत्र नेपालमा

भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोका छोरा निकोलस मडुरो गुयरा नेतृत्वको प्रतिनिधिमण्डलले नेकपाका नेताहरुलाई भेटेपछि सामूहिक तस्बिर खिचाउँदै। तस्बिर सौजन्यः विष्णु बोगटी

काठमाडौं– भेनेजुयलाका राष्ट्रपति निकोलास मडुरोका छोरा निकोलास मडुरो गुयराले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाट गरेका छन्। नेकपाको युवा संघठनको निमन्त्रणामा नेपाल आएका उनले सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको युवा संघका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए। गुयराले आइतबार नेकपाका सचिवालय सदस्यहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेट गरेका थिए। आइतबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा उनले नेकपाका नेता झलनाथ खनालसँग पनि भेट गरेका थिए। सोमबार उनले नेकपाका सांसदहरु दिनानाथ शर्मा, नारदमुनी राना, रामवीर मानन्धर, राधा ज्ञवालीलगायतसँग पनि भेट गरेका छन्।

गत माघमा भेनेजुयलामा राष्ट्रपति मडुरोका विरुद्ध आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका जुआन गुआइडोलाई अमेरिकाले समर्थन गरेपछि यो विषयले नेपालको राजनीतिलाई पनि तताएको थियो। भेनेजुयलामा अमेरिकी हस्तक्षेप भएको भन्दै सत्तारुढ नेकपाले त्यसको विरोध गरेको थियो। अध्यक्ष दाहालले विज्ञप्ति जारी गरी अमेरिकाको निर्णयको आलोचना गरेका थिए। परराष्ट्र मन्त्रालयले पनि दाहालकै विज्ञप्तिलाई बल पुग्ने गरी विज्ञप्ति जारी गरेपछि अमेरिका र नेपालबीचको सम्बन्धमा चिसो देखिएको थियो।

यति बेला मडुरोका छोरा नेकपाकै युवा संगठनको निमन्त्रणामा आएर नेकपा अध्यक्ष दाहाल, सचिवालय सदस्यहरु तथा सांसदसँग समेत भेटघाट गरेपछि त्यसले नेपाल र अमेरिकाबीचको सम्बन्धमा थप चिसोपन आउन सक्ने कतिपयको अनुमान छ। मडुरो गुयरासँगै भेनेजुयलाका संस्कृतिमन्त्रीलगायतको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा रहेको नेकपाका सांसद बलराम बास्कोटाले जानकारी दिए।

युवा संघका प्रमुख सापकोटाले युवाहरुको भ्रमण आदानप्रदान कार्यक्रमअन्तर्गत गुयरा नेपाल आएको बताए। डेढ महिनाअघि नेपालबाट भेनेजुयला गएको नेकपाको युवा संघठनका पदाधिकारीको निमन्त्रणामा उनी नेपाल आएको सापकोटाले जानकारी दिए।

सत्तारुढ नेकपाले अमेरिकालाई चिढ्याउने किसिमले गतिविधि गरिरहेका बेला नेपालले मानवअधिकार उल्लंघनसम्बन्धी एक प्रस्तावमा पनि अमेरिकाको मर्मविपरीत तटस्थ बस्ने निर्णय गरेको छ। आइसल्यान्डले फिलिपिन्सविरुद्ध राष्ट्रसंघीय मानवअधिकार परिषद्मा दर्ता गरेको मानवअधिकार उल्लंघनसम्बन्धी प्रस्तावमा नेपालले तटस्थ भूमिका खेलेको छ। अवैध लागूऔषध दुव्र्यसनविरुद्ध कडा ढंगले प्रस्तुत भएको फिलिपिन्सले गैरन्यायिक हत्या गरिरहेको भन्दै आइसल्यान्डले फिलिपिन्सविरुद्ध दर्ता गरेको प्रस्तावमा नेपाल सरकारले तटस्थ भूमिका निर्वाह गरेको हो।

सरकारी उच्च स्रोतका अनुसार नेपाललले उक्त प्रस्तावमा तटस्थ बस्नुको कारण उक्त मुद्दा अमेरिकी स्वार्थमा आइसल्यान्डले उठाएको हो। ‘फिलिपिन्स पनि नेपालजस्तै एउटा सामान्य मुलुक हो, ऊ अमेरिकासँग टाढा हुँदै गर्दा अमेरिकी स्वार्थमा उक्त मुद्दा उठाइएकाले नेपालले तटस्थ भूमिका खेलेको हो,’ स्रोतले भन्यो।

प्रकाशित: ३१ असार २०७६ ०१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App