७ वैशाख २०८१ शुक्रबार
राजनीति

पूर्वराष्ट्रपतिसँगकाे भेटमा मुखर्जीले भने– 'लाेकतन्त्रमा मात्रै अार्थिक विकास संभव'

नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग ह्यात होटलमा बिहीबार भेटवार्ता गर्दै पूर्व राष्ट्रपति डा रामवरण यादव। तस्बिरः रासस

काठमाडौं–  भारतीय राष्ट्रपति प्रणव मुखर्जीले दलीय सहमतिमा संविधान कार्यान्वयनमा लागनु पर्ने बताएका छन् । नेपालको तीन दिने राजकीय भ्रमणका क्रममा बिहीबार पूर्व राष्ट्रपति रामवरण यादवसँगको भेटमा भारतीय राष्ट्रपति मुखर्जीले शान्ति, स्थायित्व र सहभागितामूलक लोकतन्त्रको वातावरणमा मात्रै आर्थिक विकास सम्भव हुने बताएका हुन ।

‘सहमति गरेर जानुपर्छ । मिलेर समाधान खोज्नुपर्छ,’ पूर्वराष्ट्रपति यादवसँगको भेटमा मुखर्जीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘नेपालको शान्ति, स्थायित्व र प्रगतिमा हाम्रो चासो छ ।’

संविधानले समाजका सबै वर्ग÷क्षेत्रलाई राजनीतिक प्रक्रिया र उपलब्धिहरूमा समान रूपमा सहभागी बनाइएको जनाउँदै मुखर्जीले संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ नेपालको यात्रामा भारतको सधैं सहयोग रहने जनाएका छन् ।

भेटमा पूर्व राष्ट्रपति यादवले हिंसात्मक आन्दोलनमा रहेका तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदै संविधानसभाबाट संविधान जारी गर्न नेपाल सफल भएको सुनाएका थिए । संविधानको सफल कार्यान्वयनले मात्र आन्दोलनका सबै उपलब्धीहरु संस्थागत हुने जनाउँदै पूर्व राष्ट्रपति यादवले मुखर्जीसँगको भेटमा भनेका थिए, ‘समय अत्यन्त कम छ, सहमति बिना संविधान कार्यान्वयन सम्भव देखिंदैन ।’

नेपालका राजनीतिक दलहरु अन्तिम समयमा मिलेर नै समस्या समधान गर्ने विगतको परम्परा रहेको जनाउँदैै यादवले प्रमुख राजनीतिक दलहरु मिलेर नै संविधानको कार्यान्वयनमा जुट्नेमा आफु आशावादी रहेको भारतीय राष्ट्रपतिसँग सुनाएका थिए ।
‘संविधानप्रति केही राजनीतिक दल र समुदायको असन्तुष्टी छ । त्यसलाई राजनीतिक दलहरुले मिलेर नै सम्बोधन गरेर संविधानको सफल कार्यान्वयन गर्नेछन् भन्नेमा मपूर्ण आशावदी छु,’ मुखर्जीसँगको भेटमा यादवले भनेका थिए, ‘दलहरु मिल्नुको विकल्प छैन । सहमति नभए अब संविधान कार्यान्वयन हुँदैन ।’

पूर्व राष्ट्रपति यादवले भारतका राष्ट्रपति मुखर्जीसँग सिष्टाचार भेट भएको जनाउँदै दुई देशबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको जानकारी दिए । ‘दुई देशको आपसी हित र सम्बन्ध अझ कसरी प्रगाढ बनाउने विषयमा कुरा भयो,’ यादवले भने ।

अध्ययनका क्रमका साथी  पूर्व राष्ट्रपति यादव र राष्ट्रपति मुखर्जीबीच कोलकातामा रहँदा चिनजान भएको हो ।

 

प्रकाशित: १८ कार्तिक २०७३ १३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App