coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

‘एन्फा बाह्रै महिना चलायमान छ’

प्रदेश नं १ सरकारसँग सहकार्य गरेर अखिल नेपाल फुटवल संघ(एन्फा)ले मुख्यमन्त्री कप प्रदेश लिग प्रतियोगिता आयोजना गरिरहेको छ। प्रदेश १ को १४ जिल्लालाई ३ क्षेत्रमा विभाजन गरेर प्रत्येक क्षेत्रबाट शीर्ष २ क्लब फाइनल चरण खेलिरहेको छ। फाइनल चरण विराटनगरमा हुने भनिएपनि मौषमको कारण देखाउदै धरान सारिएको छ। आयोजक एन्फाले असारे कार्यक्रम गरेको भन्दै आलोचना पनि खेपिरहेको छ। यिनै सन्दर्भहरुमा एन्फाका केन्द्रीय प्रवक्ता तथा प्रदेश लिग आयोजक समितिका संयोजक किरण राईसँग नागरिककर्मी रोहित राईले गरेको संक्षिप्त कुराकानी :

विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप प्रदेश लिगको फाइनल चरणका खेलहरु अचानक धरान सारियो, के कारण हो?

मौषमको कारणले नै हो, प्रतियोगिता धरान सारिएको। विराटनगरमा पुरा तयारी गरिएको थियो, त्यहाँ पानी जम्यो। पानी जमेर सुकेर पनि हुने अवस्था भएन। लेदो जमेर नहुने अवस्था भएपछि धरान सारिएको हो।

बर्षा त धरानमा पनि भइनै रहेको छ त ?

विराटनगरको समस्या के हो भने पानी परेपछि त्यहाँ जम्छ, र लेदो बगाएर फिल्डमा पुर्याउँछ। लेदो जमेर खेल्न उपयुक्त हुदैन, किनभने हिलो हुन्छ। तर, धरानमा भने पानी त पर्छ, तर पानी पर्न छोडेपछि आधाएक घण्टामा आउट हुन्छ। त्यसकारण पानी रोकिनुबित्तिकै खेल गराउन सक्ने अवस्था हुन्छ। यहाँको जमिन ओरालो छ। पानी सोस्ने खालको माटो छ। त्यसकारण धरानमा बर्षातको समयमा पनि फुटबल हुन उपयुक्त ठाउँ हो भन्ने पुष्टि भएको छ। हामीले अनुगमन पनि गर्यौं, र प्रतियोगिता धरान सार्यौं।

प्रतियोगिता आयोजना भइरहदा टिप्पणीहरु पनि भए, असारमा नै किन आयोजना गर्नुभएको हो ?

हामीले जिल्ला लिग नै ढिलो प्रारम्भ गर्यौं। अर्को कुरा कार्यविधि निर्माणमा पनि प्रक्रियागतरुपमा समय लाग्यो। कमिटी फर्मेसनमा पनि केही ढिला भयो। कमिटि फर्मेसन भएको पहिलो दिनदेखि नै काम शुरु गरेका छौं। असारमा भए पनि मुख्य के हेर्नुपर्यो भने यो कार्यक्रम उपयुक्त छ कि छैन? वा प्रभावकारी भयो कि भएन? भनेर हेर्नुपर्छ। असारमा हुने नहुने कुरा गर्दा वल्र्डकप पनि जुन जुलाईमा हुन्छ। त्यसकारण बर्षा भयो के भयो भन्ने कुरा भन्दा पनि मुल कुरा यो कार्यक्रमको आयोजना कति गुणस्तर छ छैन ? त्यसमा आएको बजेट दुरुपयोग भयो कि भएन ? भन्ने कुरा प्रधान हो।

मलाइ लाग्छ, यसमा हामी क्लियर छौं, तपाईहरु पनि क्लियर हुनुहुन्छ। यसकारण यसमा टिकाटिप्पणी गर्नुपर्ने केही छ जस्तो लाग्दैन। अरु विकृत योजनाहरु, केही बिषयसँग जोडेर टिप्पणी आइरहेको छ, त्यो खेदजनक छ। केही पूर्वाग्रही पनि छ। त्यस्तो टिप्पणीको अर्थ छैन। हामी सचेत त छौं, तर जे भनाउन खोजीरहेको छ, जे गर्न खोजिरहेको छ, हामी त्यस्तो होइन। यो बर्ष समय अभावकै कारण यस्तो भयो, आगामी बर्ष हुने छैन।

आयोजनाको क्रममा कमजोरीहरु पनि त भएको छ नि ?

हामीबाट कमजोरी भनेको जिल्ला लिग गराउन ढिलाई भयो। त्यो कमजोरी हो। अहिले आएर हेर्दा कमजोरी देखियो, तर आगामी दिनको लागि सजग पनि गरायो। आउने दिनमा चाडै जिल्ला लिग सम्पन्न गरेर कम्तीमा जेठभित्र प्रदेश लिग सम्पन्न गर्ने गरी गछौं। अन्तरप्रदेश एन्फा प्रेसिडेन्ट कप पनि गर्नुपर्ने हुन्छ। त्यसकारण असारमा कुनै न कुनै कार्यक्रम त पर्छ नै। अर्को कुरा एन्फाले असार मात्रै फुटबल गरेको त होइन नि। बर्षभरि फुटबल हुन्छ। प्रत्यके दिन कुनै न कुनै प्रतियोगिता हुन्छ, खाली छैन। मोफसलको प्रतियोगितालाई समय दिन नसकेको देख्नै भएको छ।

भनेपछि, सबै नगरेर अरु समय खाली गरेर असारमा रकम हिनामिना गर्न आयोजना गरेको हो त?  त्यसो त होइन। हामी त १२ महिना नै फुटबल गरेका छौं। यो पटक प्रदेश लिग असारमा पर्यो। अर्के पटक प्रदेश लिग नपरेर कुनै न कुनै प्रतियोगिता असारमा पर्छ। किनभने, हामीसँग समय नै छैन। मोफसलको २३ वटा प्रतियोगिता सुचिकृत गरेका छौं। बैंशाखको गर्मीमा प्रतियोगिता गर्नुपरिरहेको छ। कुलिङ ब्रेक दिएर गर्नुपरेको छ। त्यो के हो भने एन्फा अर्थात फुटबल त १२ महिना नै चलायमान छ। बाहिर केही साथीहरुले बजेट सक्नलाई गर्यो भन्ने पुर्वाग्रही प्रचार गरेको देखिन्छ, त्यसमा सत्यता छैन।

यो प्रतियोगिताबाट नेपाली फुटबललाई के उपलब्धी हासिल हुन्छ ?

फुटबल नेपाली कल्चर जस्तो भइसक्यो। फुटबल भनेपछि साथीभाई आउने, भेटघाट गर्ने, भीड जम्मा हुने, आत्मियता आदनप्रदान गर्ने थलो भइसक्यो। अब कल्चरकोरुपमा विकास भएको फुटबललाई व्यवसायिकरण तर्फ लानुपर्छ भन्ने हाम्रो मान्यता हो। व्यवसायिकरण भनेको अब फुटबल क्लबहरु विधिवतरुपमा दर्ता हुनुपर्यो। दर्ता भएपछि उसले व्यवसायिकरुपमा पैसा तिरेर खेलाडी खेलाउनुपर्यो। काठमाण्डौंमा त छ, तर मोसफलमा छैन। यो कार्यक्रमले मोसफलमा व्यवसायिक क्लब जन्मन्छ, व्यावसायिक क्लब भएपनि खेलाडी पनि व्यवसायिक जन्मिन्छ। खेलाडीहरुले पैसा पाउँछन्। त्यसकारण यो कार्यक्रममार्फत एन्फाले प्रदेश न. १ मा मोफसलमा व्यवसायिक खेलाडी, क्लब तयार हुन्छ। यहाँबाट प्रारम्भ भएपछि देशभर यही मोडल जान्छ। यो पछि नेपाली फुटबललाई मोफसलबाट व्यवसायिकरणको शुरुवात मोफसलबाट हुन्छ। नेपाली फुटबलको विकासमा ठूलो सहयोग पुग्छ।

अर्को कुरा संघीय राज्यव्यवस्था स्थापित भइसकेपछि खेलाडीहरुले संघीयताको अनुभूति गर्न पाउनेछन्। केन्द्रीकृत र संघीय व्यवस्था फरक छ भन्ने अनुभूति खेलाडीहरुले गरेका छन्। आज संघीय राज्य बनेपछि बजेट विनियोजनमा खेलाडीको हातमा पुग्ने गरी, सेवा सुविधा पाउने गरी गरेका छौं। खेलाडीहरुले संघीयताको अनुभूति प्राप्त गरेका छन्। संघीय राज्य व्यवस्था अनुसार नै प्रदेशले लिग गर्न १ करोड दिएको छ।

मोफसलका क्लबहरु खेलाडीलाई किन्न सक्ने, पैसा तिर्न सक्ने गरी कसरी बन्न सक्छ ? अहिल्यै सम्भव छ ?

यो चुनौतीपुर्ण छ। मोफसलको क्लबलाई व्यवसायिक बनाउने भन्न त सजिलो छ, तर व्यवहारमा प्रमाणित गर्न गाह्रो छ। त्यसैको निम्ति अभ्यासमा शुरु गरेका छौं। क्लबहरुले पनि मानसिक तयारी गर्नुपर्छ। अहिलेसम्म त मानसिक तयारी नै थिएन। खेलाडीहरुलाई सम्बन्धको आधारमा खेलिदेउ भनेर खेलाउने गरिएको थियो। तर, गएको जिल्ला लिग हेर्नुभयो भने प्रत्येक जिल्लामा खेलाडीहरुले केही न केही पैसा पाएको छ। यो क्लबबाट भएन भने अर्को क्लबबाट राम्रो खेलाडी खेलेका छन्। क्लबहरुले पनि मेरो क्लबबाट खेल, यति दिन्छु भनेर अफर गरेका छन्। यसले के देखिन्छ भने अब जिल्ला लिग, प्रदेश लिगले खेलाडीहरुलाई व्यवसायिकरणतर्फ लगेको छ। अब क्लबहरु फुटबलमा टिक्छु भन्ने हो भने व्यवसायिक नभई टिक्ने अवस्था छैन। किनभने, अब खेलाडीलाई अर्कोले त किन्छ। त्यसकारण सबै क्लबहरुले व्यवसायिकताको मानसिकता नबनाउने हो भने फुटबलमा काम छैन। क्लबहरुले व्यवसायिकताको सोच बनाउनुपर्छ। त्यसको निम्ति सहयोग गर्ने भनेको यस्तै कार्यक्रमहरु गर्ने हो। प्राप्त बजेट क्लबहरुसम्म पुर्याउने, सबैलाइ समान ढंगले अवसर दिने हो।

प्रदेश लिगको पुरस्कार राशी पनि कम भयो भन्ने पनि छ, किन यसो भयो ?

हामीले १ करोड पाएको बजेटलाई प्रथम पुरस्कार ५० लाख नै राख्न पनि सकिन्थयो। तर, यो कार्यक्रम के हो भने एन्फा र प्रदेश सरकारले सोचेको के हो भने आधारभुत तहबाट नै फुटबलको व्यवसायिकरण शुरुवात गर्ने भन्ने योजना भएकोले यो एक खालको डेभलभमेन्ट प्रोजेक्ट हो। खास गरी आत्मनिर्भरतातर्फ उन्मुख विकास कार्यक्रम हो। तसर्थ, तल क्लबहरुलाई, खेलाडीहरुलाई सम्म सुविधा दिने गरी बजेट बाँडफाट गरेर पुरस्कार राशी कम गरेका छौं।

हाम्रोमा विकृति के छ भने पुरस्कार राशी हाई गर्ने तर खेलाडीहरुलाई, क्लबहरुलाई सुविधा दिन कञ्जुस्याई गरिन्छ। त्यसले के हुन्छ भने विजेता क्लबले राम्रो सुविधा प्राप्त गर्छ, तर बाँकी प्रतियोगितामा सहभागी क्लबहरुको हालत खराब हुन्छ। त्यसकारण प्राप्त भएको स्रोत साधान समानरुपमा तलसम्म वितरण गरेर ती क्लबहरुलाई समान अवसर दिनु नै समयको माग हो र बैज्ञानिक बजेट बाँडफाट पनि हुन्छ भनेर यो गरेका हौं। पुरस्कार पनि हो, तर पुरस्कार मात्रले हुदैन है। जित्नेलाई अलिकति एडभान्टेज त हुन्छ, तर सोह्रै आना त गर्नु भएन नि।

लिग भन्नुबित्तिकै सबै क्लबले समान म्याच खेल्छन्। एक दुई क्लबले मात्र कम खेल्छन्। समान खर्च हुन्छ, त्यति नै प्लेयरलाई लगानी गर्नुपर्छ, यात्रा गर्नुपर्छ भनेपछि समान अवसर र सुविधा उपलब्ध गराउनै पर्छ। नकआउट हो भने अर्कै कुरा हो। आउछ, एउटा म्याच खेल्छ, हार्छ र जान्छ। फाइनल पुग्ने टिमले बढी लगानी गर्नुपर्छ, उसले बढी पुरस्कार पाउने कुरा ठिक छ। तर, लिग भइसकेपछि समान प्रतिस्पर्धा हुन्छ। समान लगानी हुन्छ, समान दुःख हुन्छ। समान आउने जाने, खेल्ने हुन्छ। त्यसकारण सुविधा पनि समानता नदिने हो भने क्लब मारमा पर्छ, खेलाडी मारमा पर्छन्। त्यसैले लिगमा पुरस्कारमा भन्दा क्बल र खेलाडीलाई सुविधा, सेवा सुविधा ध्यानमा राख्नुपर्छ। पुरस्कार ५ लाख साह्रो कम त होइन, तर अरु सुविधाहरु प्रत्येक खेलाडीलाई अनुभूति हुने गरी बजेट बाडफाड गरेका छौं।

 

प्रकाशित: ३० असार २०७६ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App