६ वैशाख २०८१ बिहीबार
समाज

कुलेखानीमा पानी खतराको तहमा पुग्यो, अहिले घट्दोक्रममा

मकवानपुर- मानव निर्मित कुलेखानी जलविद्युत आयोजनाको जलासयमा पानीको सतह खतराको तहमा पुगेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले जलासयको प्रभावित क्षेत्रका बासिन्दालाई सचेत रहन सूचना जारी गरेको छ।

कुलेखानीमा पानीको सतह खतराको तहमा पुगेकाले यसलाई निकास दिने तयारी भईरहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। ‘आयोजनाको २ ढोका खोल्न प्राविधिकहरु तयार छन्,’ उनले भने, ‘विद्युत प्रधिकरणको काठमाडौंमा बसिरहेको बैठकले निर्णय गर्नासाथ ड्यामबाट पानी छाडिन्छ।’

गृहमन्त्रालयले  कुलेखानी सरोबरमा विहान पानी बढ्ने क्रम बढी रहेकोमा अहिले बढ्ने दर घटेको हुँदा टर्वाइनवाट नै नियन्त्रित निकास भइरहेको बताएको छ। बाँध खोल्नुपर्ने अवस्था आएमा समयमा नै एसएमएस समेतबाट सम्भावित प्रभाव क्षेत्रमा जानकारी गराइने बताएको छ।

१ हजार ५ सय ३० मिटर क्षमता रहेको जलासयमा सोमबार बिहान सवा १० बजेसम्म पानीको सतह १ हजार ५ सय २६ दशमलव ०५ मिटर पुगेको कुलेखानी पहिलो जलविद्युत् आयोजनाका प्रशासन प्रमुख प्रदिप भुवाजीले बताए। ‘१ हजार ५ सय २७ मिटर नाघ्नासाथ जलासयको ढोका खोल्ने योजनामा छौं,’ उनले भने, ‘विद्युत प्रधिकरणको निर्देशनको पखाईमा छौ।’

उनका अनुसार २०७२ सालको भूकम्पका कारण क्षति पुगेपछि १ हजार ५ सय २५ मिटर भन्दा बढी ड्याममा पानी जम्मा नगर्ने प्राधिकरणले नीति लिएको छ।

विद्युत प्राधिकरणले पनि सोमबार बिहानै सूचना जारी गरेर ड्यामको ढोका खोल्ने तयारीमा रहेकाले तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सचेत गराएको छ। वि.सं. २०५० साल पछि कुलेखानीको जलासयमा पानीको सतह उच्च तहमा पुगेको थिएन।

जिल्ला प्रशासन कार्यालय, मकवानपुरले अत्यन्त जरुरी सूचना जारी गर्दै ड्यामको पानी नियन्त्रित रुपमा निष्कासन गरिने र वहावबाट असर पर्न सक्ने क्षेत्रहरुमा सतर्क रहन आग्रह गरेको छ।

‘निरन्तर वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी ड्याममा पानीको सहत बढ्दै गएकाले ड्याममा क्षति पुग्न सक्ने भएकाले ड्यामको पानी नियन्त्रित रुपमा निष्कासन गरिने हुँदा वहावबाट असर पर्न सक्ने क्षेत्रहरु ईन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका र बागमती गाउँपालिका तथा बागमती नदीको तटीय क्षेत्र सिन्धुली, रौतहट र सर्लाहीका वासिन्दाहरुलाई सतर्क रहन सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ।

जलासयको पानी खपत गर्नका लागि कुलेखानी पहिलो र दोस्रो पूर्ण क्षमतामा सञ्चालन गरिएको कुलेखानी प्रथमले जनाएको छ। कुलेखानी तेस्रो भने सञ्चालनको अन्तिम तयारीमा छ।

प्रकाशित: ३० असार २०७६ ०६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App