coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कर्णालीमा अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन सुरु

सुर्खेत – विश्वको जल्दोबल्दो मुद्दा मानिने व्यवस्थापन र रुपान्तरणमा देखिएका समस्याका सवालहरुको पहिचान गरी तिनको समाधान दिने उद्देश्यले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन’ सुरु भएको छ।

मध्यपश्चिम विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (मुसोम) द्वारा आइतबार यहाँ आयोजित ‘व्यवस्थापन तथा रुपान्तरणका लागि प्रश्नहरुको उठान’ विषयक सम्मेलनको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्मेलनले यस प्रदेशको योगदान र गरिमा बढाउनुका साथै सरकारको आगामी रुपरेखा तयारीमा सघाउ पुग्ने बताए।

मानव जातिको विकास शिक्षाबाट भएको बताउँदै उनले भने, ‘विश्व मानव समुदाय विकासको महतवपूर्ण आधार भनेकै शिक्षा हो। यसले नै मानव विकासलाई उत्कर्षमा पु-याएको छ।’ देशको अहिलेको आवश्यकता सैद्धान्तिक नभई प्राविधिक शिक्षा भएकाले विश्वविद्यालयले यसैमा जोड दिनुपर्ने उनको सुझाव थियो।

उनले कर्णाली प्रदेशमा कति मेगावाटको जलविद्युत् उत्पादन गर्न सक्दछ भन्नेमा अनुसन्धान र सम्भाव्यता अध्ययन गर्न अनुरोध गर्दै प्रदेश सरकारले विश्वविद्यालयको शैक्षिक विकासमा आवश्यक सहयोग गर्ने विश्वास दिलाए।

सो अवसरमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति उपेन्द्रकुमार कोइरालाले सरकारको दीर्घकालीन विकासमा सघाउ पु-याउने अनुसन्धानात्मक कार्य गर्ने बताए। ‘यस विश्वविद्यालयको जनशक्तिले नेपाल मात्र नभई विश्वमा नै योगदान पु-याओस् भन्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘यसका लागि विश्वविद्यालयले प्रमुख भूमिका खेल्नेछ।’  हरेक क्षेत्रमा व्यवस्थापनले ठूलो अर्थ राख्ने भन्दै उपकुलपति कोइरालाले यसले मानवजीवन रुपान्तरणमा ठूलो फरक पारेको बताए।

सम्मेलनको उद्देश्यबारे प्रस्ट पार्दै स्कुल अफ म्यानेज्मन्टको एमबिए, एमफिल एन्ड पिएचडी कार्यक्रमका निर्देशक नारायण पौडलले सम्मेलनमा सहभागी विभिन्न विश्वविद्यालयले व्यवस्थापन र रुपान्तरणमा देखिएका चुनौती तथा समस्याको कार्यपत्र प्रस्ततु गर्ने जानकारी दिए।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालका त्रिभुवन विश्वविद्यालयलगायत सबै प्रमुख विश्वविद्यालय, भारत र पाकिस्तानका विभिन्न विश्वविद्यालय तथा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा विश्वविद्यालयको सहभागिता रहेकोे छ।रासस

प्रकाशित: ३० असार २०७६ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App