coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

औद्योगिक वातावरण नहुँदा लगानीको समस्या

रामेछाप – जिल्लाका सरोकारवाला निकायका व्यक्तिहरुले जिल्लामा उद्योग सञ्चालनका लागि उपयुक्त वातावरण बन्न नसक्दा पुँजी लगानी हुन नसकेको बताएका छन्। आइतबार घरेलु तथा साना उद्योग विकास समितिले प्रदेश ३ सरकारको वार्षिक कार्यक्रमअन्तर्गत रामेछाप जिल्लामा उद्योगको सम्भावना र पहिचान विषयक छलफल कार्यक्रममा सहभागीले यस्तो धारणा राखेका हुन्।

अधिकांशले उद्योग स्थापना गर्नका लागि नीतिगत रुपमा उपयुक्त वातावरण बन्नुपर्नेमा जोड दिए। जिल्लाका आठवटा स्थानीय तहका जनप्रतिनिधिसहित सरोकारवाला निकायका व्यक्तिको उपस्थितमा सम्पन्न उक्त छलफल कार्यक्रममा जनप्रतिनिधिले समेत आफ्नो स्थानीय तहमा धेरै सम्भावना रहे पनि काम गर्न समस्या भएको बताए। ‘जिल्लामा सम्भावना धेरै छन् तर, कानुन र नीतिमा नै जटिलता छ कसरी उद्योग स्थापना हुनसक्छ ?’ मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले भने, ‘लगानीको वातावरण नबन्दा उद्योग खोल्न समस्या सिर्जना गरेको छ।’

उद्योग वाणिज्य संघ रामेछापका महासचिव जगन्नाथ दाहालले युवाले काम नै नगर्ने अवस्थामा उनीहरुलाई श्रममा लगाउन सक्नुपर्नेमा जोड दिए। श्रममा सम्मान दिनसके मात्र उद्योग स्थापना टेवा पुग्ने उनको भनाइ छ। उनले युवालाई मुलुकमै श्रममा जोड्न सकेमात्र आर्थिक समृद्धि आउने भएकाले राज्य त्यसतर्फ लाग्नुपर्नेमा दाहालको जोड थियो।

निजी लगानीकर्ता लगानीका लागि पुँजी हातमा लिएर बस्दा पनि लगानी गर्ने वातावरण नहुँदा उद्योग स्थापनामा समस्या बनेको सामुदायिक वन उपभोक्ता महासंघ रामेछापका अध्यक्ष दुर्गा श्रेष्ठले बताए। जिल्लामा उद्योग सञ्चालन गर्ने र उत्पादनमा आकर्षित गर्ने हो भने राज्यले उत्पादनका आधारमा अनुदान दिने व्यवस्था ल्याउन जरुरी रहेको उनले बताए।

रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगरले उद्योग स्थापानाका सम्भावना धेरै भएर पनि स्थानीय तह खुम्चिएर बस्नुपर्ने अवस्था आएको बताए। उनले सम्भावना रहेर पनि सबै कुरा स्थानीय तहले मात्र गर्न नसक्ने बताए। सुरुवात स्थानीय तहले गराउन सक्छ तर, पूर्णता दिन भने सक्ने अवस्था नरहेकाले माथिल्ला सरकारले हेर्नुपर्ने उनले बताए।

कार्यक्रममा सहभागीले जिल्लामा कृषिजन्य, वनजन्य, पशुजन्य र अन्य उद्योगका सम्भावनाका क्षेत्रबारे प्रदेश सरकारलाई आवश्यक सुझाव दिएका थिए। कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत राजेन्द्रकुमार श्रेष्ठ, पशु कार्यालयका मुकुन्द खड्का र कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख दिनेश आचार्यलगायतले आ–आफ्ना क्षेत्रका उद्योगका सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित: ३० असार २०७६ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App