७ वैशाख २०८१ शुक्रबार
समाज

देशको प्रमुख प्रवेश नाकामा फोहोरको डङ्गुर

नेपालको मुख्य प्रवेश बिन्दुमा फोहोरले फैलेको प्रदुषण । तस्बिरः रितेश त्रिपाठी

वीरगन्ज– व्यपारिक पारवहन र यात्रुवाहक सवारी आवागमनको दृष्टिकोणले देशकै प्रमुख प्रवेशनाकाको रुपमा रहेको वीरगन्जमा भारतबाट पस्ने मुहानमै फोहोरको बिशाल डङ्गुर छ। यहाँ भएर आउनेले नेपालमा हेर्ने र महसुस गर्ने पहिलो कुरा नै त्यै फोहोर हो भने सामना गर्ने पहिलो कुरा अथेगनीय दुर्गन्ध हो।

नागवेली बगेको सिर्सिया नदीमाथि बनेको दशगजा (सिमा)स्थित मितरी पुलले नेपाल भारतलाई जोडेको छ।  वारी सडकमा पुलबाट आइपुग्नु अगावै नेपालको सिमाना सुरु भएको संकेत दिन थाल्छ सडकछेउ थुप्रिएको फोहोरले। फोहोरको डङ्गुरले वारी नेपाल र पारी भारत भनेर छुट्याइदिने काम गरेको छ। भारततिरबाट आउँदा शंकराचार्य गेट पार गर्नुअगाडी सडकको पश्चिम भएर बगेको सिर्सिया नदी भारतीय भूमिबाट फन्को मारेर सडकको पूर्वमा पनि उपस्थिति देखाएको छ। सडकको दुबैतिर पर्ने नदीछेउमा भने वीरगन्ज उपमाहानगरपालिकाले सामान रुपमा फोहोर थुपारेको छ।

सहरभरीबाट संकलन गरिएको फोहोर दैनिक रुपमा २० वटा ट्याक्टर र २ वटा ट्रिपरले यहाँ ल्याएर खन्याउने गरेका छन्। जसले अनवरत रुपमा भिषण दुर्गन्ध फैलाइरहेको छ, देशको प्रमुख प्रवेश नाकमा।
‘यस नाका भएर गुज्रने दैनिक हजारौं मानिसहरुले यो दुर्गन्धको सामना गर्नुपरिरहेको छ,’ वीरगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका प्रदुषण बिरुद्धका अभियानकर्ता ओमप्रकाश सिकारियाले भने, ‘कति दुर्भाग्यपुर्ण छ यो, हामीकाँहा आउने आगन्तुकहरुलाई फोहोरले स्वागत गरिरहेका छौं, यसले नेपालबारे उनीहरुमा कस्तो छवि बनाउला ?’

पर्यटनको विकासमा सरकारी र गैरसरकारी क्षेत्रले जोड दिरहेको बेला नेपालको लागि पर्यटकको सबभन्दा ठूलो र नजिकको स्रोत रहेको भारतबाट यही भएर आउने हुन्। देशको मुहानमा रहेको यो प्रदूषणले पार्ने स्थानीय अभियानकर्ता चिन्तित छन्। नेपालमा स्थानीयबाट मात्र यस प्रदुषण बिरुद्ध आवाज उठेको होइन् सिमापारीबाट पनि बिरोधको आवाज आउन थालेको छ।

यसै नाकामा मधेशवादी आन्दोलनकारीले पोहोर १ सय ३४ दिनसम्म गरेको अवरोध मंसिर २२ मा हटाएर नाकाबन्दी खोलाईदिएका रक्सोलका स्थानीयले गत शुक्रवार (कातिक १२) आफै २ घण्टा सिमा अवरोध गरे। आफूहरुको बस्तीबाट नजिक रहेको सिमामा थुपारिएको फोहोरले जीवन आजित भएको बताउँदै उनीहरुले मुल नाकास्थित भारतीय सिमानामा २ घण्टा धर्ना दिए।

‘यतिकै पनि फोहोर र दुर्गन्धित पानी बग्ने सिर्सिया नदीले गर्दा समस्या भोगीरहेका हामी रक्सोलवासीको जीवन फोहोरको डङ्गुरले थप कठिन बनेको छ,’ धर्नाको अगुवाई गरेका रक्सोलका नागरिक अगुवा डा. अनिलकुमार सिन्हाले भने, ‘हामी काहाँ जाउँ, के गरौं ? सौहार्दको प्रतीक रहेको हाम्रो सिमाना यस फोहोरले गर्दा समस्याको कारण बनेको छ ।’ नदीको छेउमा गरिने पर्व छठको अवसरमा पनि फोहोर थुपार्न नरोकिएकोले स्थानीय स्तरमा बढी आक्रोश देखिएको छ ।

‘नदी र जलाशय छेउमा श्रद्घालुहरुले पावन छठ पर्व मनाउने गरेका छन्। यस्तो बेला पनि वीरगंज नगरपालिकाले सिर्सिया नदी छेउमा फोहर थुपार्ने काम गरिरहेको छ। नेपालको प्रवेशद्वार भनिने मितेरी पुलबाट नेपाल पसेपछि सडकको दुबैतिर हजारौं ट्रेक्टर फोहरमैला थुपारिएको छ,’ सिकारियाले थपे, ‘नेपाल प्रवेश गर्ने बित्तिकै मानिसहरु नाक थुन्न बाध्य बनेका छन्।’

सो क्षेत्रलाई सफा गर्नु सट्टा झन् फोहर थुपार्ने काम उपमाहानगरपालिकाले गरेको छ, छठ पर्व मनाउने श्रद्धालुहरुमा ठुलो असतोष छ। २ सय ७० जना सफाई कर्मचारी, सफाईमा प्रयोग हुने २ दर्जन बढी सवारी साधन परिचालन र बिभिन्न सामग्री खरिदमा गरी पोहोर एक बर्षमा ८ करोड ३४ लाख १५ हजार रुपैयाँ खर्च गरेको छ वीरगन्ज उपमाहानगरपालिका कार्यालयले। कार्यालयले फोहोर ब्यवस्थापन भन्दा ओसार्ने र थुपार्ने काम मात्र गरेको स्थानीयको गुनासो छ।

‘ठाउँ नभएर नाकामा लगेर फोहोर खसाउनु परेको हो,’ वीरगन्ज उपमाहानगरपालिका कार्यालयको सरसफाई माहाशाखाका प्रमुख राजकृष्ण ताम्राकारले नागरिकलाई भने, ‘त्यहाँ फोहोर हाल्नु अनुचित हो हामीलाई पनि लाग्छ, डम्पिङ साइट नै छैन के गर्ने । डम्पिङ साइट बनाउने र नगरबाट नदीमा जाने पानी पनि प्रशोधन गरेर मात्र पठाउने योजना मा काम हुँदैछ ।’ वीरगन्जमा लागु ‘मझौला शहर एकिकृत शहरी बाताबरणीय सुधार आयोजना’ अन्तरगत ४७ करोड ६१ लाख ८० हजार रुपैयाँ लागतमा नगवा नजिक बनीरहेको ‘फोहोर मैला ब्यवस्थापन केन्द्र’को काम भने स्थानीयको अवरोधले गति लिन सकेको छैन। योजना कार्यालयले चाँसो नलिएको स्थानीयको बुझाई छ। निर्माण कम्पनीले योजना कार्यालयलाई पटक–पटक पत्र लेखदा सुनुवाई नभएको जनाएको छ । योजना कार्यानयवन इकाईका प्रमुख शैलेन्द्र श्रेष्ठ कन्सल्टेन्टसँग सल्लाह गरेर यसबारे बताउने प्रतिक्रिया दिए ।

 

प्रकाशित: १८ कार्तिक २०७३ १२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App