८ वैशाख २०८१ शनिबार
समाज

भारतीय तटबन्धका कारण डुबान

काठमाडौं - प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरूले बाढीपीडितलाई राहत नपुगेको गुनासो गरेका छन्। समितिको आइतबारको बैठकमा राजपाका सांसद राजकिशोर यादवले सरकारले पूर्वतयारी नगर्दा बर्सेनी तराईमा बाढीबाट जनधनको ठूलो क्षति हुने गरेको बताए। सिराहामा कच्ची घर हुने चौरमा र पक्की घर हुने छतमा बसेर राहतको पर्खाइमा रहेको उनले बताए।

‘अहिले पनि कमला नदीको बाँध फुट्ला भन्ने त्रास रहेको छ,’ उनले भने, ‘यदि कमला नदीको बाँध फुट्यो भने त्यसले झन् ठूलो क्षति पु¥याउनेछ। यसबारे सरकारले ध्यानदिनुपर्छ।’ संघीय समाजवादी पार्टीका रामसहायप्रसाद यादवले पनि राहत पुग्न नसकेको बताए। उनले बारा र पर्सामा आएको ‘टोर्नाडो’बाट पनि वास्तविक पीडितले अझै राहत नपाएको उल्लेख गर्दै अहिलेको बाढीबाट पनि त्यस्तो अवस्था नआओस् भनी गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

सांसद वृजेशकुमार गुप्ताले बर्सेनी बाढी आउने कुरा सरकारलाई राम्रोसँग थाहा भए पनि प्लानिङ किन हुँदैन भनी प्रश्न गरे। सीमा क्षेत्रमा बाँधिएको बाँधबारे कुटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ। भारतले पूर्व–पश्चिम सीमामा कृत्रिम ताल ‘रिजर्भ वयर’ बनाएमा यसले ठूलो डुबान हुने भन्दै उनले यसबारे तत्काल कुटनीतिक पहल हुनुपर्ने बताए।

बर्सेनी खोला साँघुरिदा कसैले समयमा चासो दिँदैनन्, भोटको राजनीति हुन्छ।

नेकपाका सांसद झपटबहादुर रावलले असमान सन्धिका कारण बर्सेनी तराईमा डुबान हुनेगरेको बताए। उनले भने ‘विगतमा गरिएका असमान तथा राष्ट्रघाती सन्धिलाई पुनरावलोकन गर्नुपर्छ, देश र जनतालाई केन्द्रबिन्दुमा राख्नुपर्छ।’ काठमाडौंका खोलाहरू मिचेर घर बनाएका कारण यहाँ डुबान हुने गरेको उनले बताए। बर्सेनी खोला साँघुरिदा कसैले समयमा चासो नदिएको, भोटको राजनीति भएको उनको भनाइ छ। नेकपा सांसद नवराज सिलवालले राजधानीसँगै जोडिएको ललितपुर जिल्ला ‘बत्तिमुनिको अँध्यारो’ भएको भन्दै सातजनाको मृत्यु र एक सय २० परिवार विस्थापित हुँदा पनि सरकार त्यहाँसम्म पुग्न नसकेको बताए।

नेमकिपाका सांसद प्रेम सुवालले भारतले आठ किलोमिटर पर बनाउनुपर्नेमा सिमानानजिकै तटबन्ध बनाएको भन्दै यसबारे सरकारले कुटनीतिक पहल गर्नुपर्ने बताए। नेपाली कांग्रेस सांसद डिला संग्रौलाले ‘सालैपिच्छे बाढी आउँछ, सरकारले पूर्वतयारी किन गर्दैन ?’ भन्दै विरोध गरिन्। ‘भारतले एकतर्फी बनाएका तटबन्धबाट हुने जाोखिम रोक्न किन कुटनीतिक पहल गरिँदैन ?,’ उनले भनिन्, ‘बाढी आउँदामात्रै कोसीका ढोका खोल्ने हो भने त्यसले समस्या समाधान दिँदैन।’

नेकपा सांसद रेखा शर्माले विपत् व्यवस्थापन ऐन बन्यो, त्यसको एक वर्षपछि नियमावली बन्यो तर प्राधिकरण बन्न सकेन भन्दै स्रसद्को ध्यानाकर्षण गराइन्। उनले छिमेकी राष्ट्रबाट बनाइएको संरचनाबाट पनि समस्या थपिएको बताइन्।

नेकपा सांसद यशोधा सुवेदीले अहिले देखापरेको बाढी र डुबान प्राकृतिक प्रकोप नभई मानव निर्मित प्रकोप भएको बताइन्। मानव निर्मित प्रकोपले नै डुबानमा पारेको भन्दै उनले यसबारे समयमै ध्यानदिनुपर्ने बताइन्। सिमानामा बनाइने तटबन्ध नेपालीको हितमा नभएको उनको भनाइ छ। समितिले घाइतेहरूको प्रभावकारी उपचार, बेपत्ताको शीघ्र खोजी र अन्यको उचित उद्दार गर्न सरकारलार्य निर्देशन दिएको छ।

प्रकाशित: ३० असार २०७६ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App