coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कलौनीको शव ६ दिनसम्म उठेन

धनगढी - शिक्षकको कुटाइले गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएका कञ्चनपुर भीमदत्त नगरपालिका–१७, मझगाउँस्थित महाकाली बाल विद्यालयका १५ वर्षीय छात्र माधव कलौनीको शव ६ दिनसम्म उठ्न सकेको छैन। गत मंगलबार राति मृत्यु भएका कलौनीको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ। पोस्टमार्टम नगरिएकाले मृत्यु भएको ६ दिन बित्दा पनि दाहसंस्कार गर्न नपाएको भन्दै आफन्तले दुःखेसो पोखेका छन्। ‘हामीले छिटो पोस्टमार्टम गरेर भान्जाको दाहसंस्कार गर्न दिनुहोस् भनेर माग गरिरहेका छौं,’ माधवका मामा पुष्पमणि जोशीले भने, ‘पोस्टमार्टम नगरिदिएकाले शव उठाउन पाएका छैनौं।’

भारतको बरेलीस्थित राममूर्ति अस्पतालमा गत मंगलबार राति मृत्यु भएका कलौनीको सो अस्पतालको पोस्टमार्टमको रिपोर्ट नआएकाले यहाँ पोस्टमार्टम गर्न नसकिएको प्रहरीको भनाइ छ।

कलौनीको भारतको बरेलीस्थित राममूर्ति अस्पतालमा गत मंगलबार राति मृत्यु भएको थियो। दोस्रो दिन बुधबार साँझ उनको शव महेन्द्रनगर ल्याइएको थियो। सो अस्पतालको पोस्टमार्टमको रिपोर्ट नआएकाले यहाँ पोस्टमार्टम गर्न नसकिएको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले बताएका छन्। ‘उताको पोस्टमार्टम रिपोर्ट आएपछि मात्र काहाँ काटेको छ ? के गरेको छ ? हेरेर पोस्टमार्टम गर्न मिल्ने भएकाले पोस्टमार्टम हुन नसकेको हो,’ उनी भन्छन्, ‘छिटो पोस्टमार्टम रिपोर्ट मगाउन कोसिस गरिरहेका छौं।’ उनको पोस्टमार्टम रिपोर्ट ल्याउन एक जना प्रहरी, कलौनीका बुबालगायत आफन्त दुईजना राममूर्ति अस्पताल गएका थिए। पोस्टमार्टम रिपोर्टका लागि सात दिनदेखि १० दिन लाग्ने भनेर सो टोलीलाई फर्काएको प्रहरी उपरीक्षक आचार्य बताउँछन्।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष र चारजना शिक्षकका नाममा विद्यार्थीका मामा जोशीले किटानी जाहेरी दिएका छन्। पाँचजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएर अदालतबाट एक साताको म्याद थप गरिएको प्रहरी उपरीक्षक आचार्यले बताएका छन्। विद्यालय व्यवस्थापन समिति अध्यक्ष निरञ्जनप्रसाद बोहरा, प्रधानाध्यापक यशोदा जोशी, शिक्षक दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीबिरुद्ध मुद्दा दर्ता भएको छ। पाँचैजना प्रहरी हिरासतमा छन्।

‘चारजना शिक्षकले सामूहिक रूपमा भान्जालाई कुटपिट गरेका हुन्,’ विद्यार्थीका मामा जोशीले भने, ‘अध्यक्ष बोहराले कुटपिट गरेका होइनन्, तापनि कुटपिट गर्ने बेलामा उनी पनि त्यहीँ थिए।’ कक्षा ९ मा अध्ययनरत कलौनीलाई असार १३ गते चारजना शिक्षकले रुलर, लट्ठी, बुट र मुक्काले कार्यालयमै लगेर कुटपिट गरेको उनले बताए। कुटपिटबाट गम्भीर घाइते कलौनीलाई डडेल्धुरा, महाकाली अञ्चल अस्पताल र कोहलपुरसमेत लगेर उपचार गर्दा सुधार नभएपछि भारतीय सो अस्पताल लगिएको थियो। बैतडी खेमनाथ गाउँपालिका–२ घर भएका कलौनी मामा जोशीको घरमा बसेर पढिरहेका थिए।

सर्पले टोक्दा बुबा वृहस्पति बेहोश
मृतक विद्यार्थीका बुबा वृहस्पति कलौनी सर्पले टोकेर बेहोश भएका छन्। शनिबार साँझ छोरा वियोगको शोक र दाहसंस्कार गर्न नपाएको चिन्तामा खाना नखाएर झोक्राइहेका उनलाई सर्पले टोकेर उनी बेहोश भएका हुन्। ‘खान मन छैन भनेर भन्दै हुनुहुन्थ्यो, अलिकति भए पनि खानुहोस् भनेर हामीले जोड ग¥यौं,’ विद्यार्थीका मामा जोशीले भने, ‘खाना खानका लागि लुगा बदल्न जाँदा राति १० बजेतिर ढोकानेर सर्पले दायाँ खुट्टाको औंलामा टोक्यो।’ उनलाई करेत सर्पले टोकेको जोशीले बताए। धनगढीस्थित मेट्रो अस्पतालमा उनको उपचार भइरहेको छ।

प्रकाशित: ३० असार २०७६ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App