coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश १ मा २१ काे मृत्यु

विराटनगर - अविरल वर्षापछिको पहिरो, डुबान र बाढीमा परेर १ नम्बर प्रदेशमा शुक्रबारदेखि आइतबारसम्ममा २१ जनाको मृत्यु भएको छ भने आठजना बेपत्ता र नौजना घाइते भएका छन्। प्रदेश १ सरकारका प्रवक्ता हिक्मत कार्कीले भने प्रदेशमा १८ को मृत्यु भएको जानकारी दिएका छन्। स्थानीय प्रशासनहरुको तथ्यांकले मृतक संख्या २१ देखाएको छ।

पाँचथरमा शुक्रबार मेवाखोलाले बगाएर बेपत्ता बालकको आइतबार शव फेला परेको छ। मिक्लाजुङ गाउँपालिका–३ का १० वर्षे दिवन राईको शव बगेको स्थानभन्दा करिब ४ किलोमिटर तल फेला परेको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए। भोजपुरमा ५, ओखलढुंगामा ४, खोटाङमा ३, झापा, उदयपुर र सुनसरीमा २÷२ तथा इलाम र पाँचथरमा १÷१ जनाको मृत्यु भएको स्थानीय प्रशासनहरूले जनाएका छन्। बाढी पहिरोकै कारण इलाम र मोरङमा ३÷३ जना तथा सुनसरी, झापा ओखलढुंगामा १÷१ जना बेपत्ता छन्। धनकुटामा ३, सुनसरी र भोजपुरमा २–२ तथा खोटाङ र उदयपुरमा १÷१ जना घाइते छन्।

मोरङको रंगेली–९ स्थित गेउरिया खोलामा एक युवकको लास फेला परेको छ। खोलाले बगाएर ल्याएको अवस्थामा करिब २८ वर्षका एक युवकको लास फेला परेको मोरङ प्रहरीले जनाएको छ। युवकको सनाखत हुन नसकेको मोरङ प्रहरीका प्रवक्ता राजकुमार खिउ“जुले जानकारी दिए। उनका अनुसार फेला परेका युवक असार २६ गते मोरङको कानेपोखरी—२ स्थित गेउरिया खोला तर्नेक्रममा बाढीले बगाएका व्यक्ति हुनसक्ने अनुमान गरिएको छ। यस्तै लोहन्द्रा खोलामा आएको बाढीले बगाएर शनिबारदेखि बेपत्ता भएका दुईजना फेला पर्न नसकेको प्रहरीले जनाएको छ। बेपत्ता हुनेहरूमा कटहरी—४का सोभा सोरेन र जहदा—५ का आदर्श पोद्दार छन्। प्रहरीका अनुसार जिल्लामा हालसम्म ४ हजार २ सय ५१ जना विस्थापित भएकोमा १ सय ५७ जना घर फर्किसकेका छन्। बाढीका कारण मोरङमा १ हजार बढी घर डुबानमा परेका छन्।

वर्षाले गर्दा पोखरीमा बढेको पानीले बगाउँदा आइतबार दिउँसो सुनसरी हरिनगरका एक बालकको मृत्यु भएको छ। हरिनगर वडा नं. २ सिसुवा–धरमपुर क्षेत्रको नहरको डिलमा खेलिरहेका बेला पानीको सतह एक्कासि बढेर बगाउँदा स्थानीय अकबर मियाँका १२ वर्षीय छोरा तोसिप मियाँको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार तोसिपलार्ई बगाएपछि उद्धार गरेर उपचार गर्न अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको हो। वर्षाले गर्दा सुनसरीमा तोसिपसँगै दुईजनाको मृत्यु भएको छ। यसअघि शनिबार दिउँसो उदयपुर घर भई इटहरी वडा नं. ५ मा ग्रिल उद्योगमा काम गर्दै आएका ३४ वर्षीय सागर थापाको शव फेला परेको थियो। उनी बिहीबार दिउँसो इटहरी वडा नं. ५ कै खोल्सामा डुबेर बेपत्ता भएका थिए।

अविरल वर्षाले उदयपुरमा मृत्यु हुनेको संख्या २ पुगेको छ। जिल्लाको बेलका नगरपालिका १ तपेश्वरीका तारा श्रेष्ठको त्रियुगा खोलामा आएको बाढीले बगाएर मृत्यु भएको स्थानीयले बताएका छन्। शनिबार त्रियुगामा बाँधिएको पुरानो बाँध फुटेर घर डुबाएसँगै हराइरहेका श्रेष्ठ आइतबार खेतमा मृत फेला परेको स्थानीयको भनाइ छ। खेतमा पानी घटेपछि शव पहिचान गर्ने क्रममा श्रेष्ठको भएको जानकारी स्थानीयले प्रहरी चौकी भागलपुरलाई दिएका छन्। अघिल्लो दिन लामाखोलाले बगाएर बेपत्ता भएका चौदण्डीगढी नगरपालिका ४ बसाहाका ३५ वर्षीय मनकुमार तामाङको शव आइतबार भेटिएको छ। शनिबार बिहान लामाखोलाको बाढीले कुकुर बगाएपछि बचाउन जाँदा बाढीमा फसेका तामाङको शव घटनास्थलदेखि १ किलोमिटर तल फेलापरेको प्रहरीले जनाएको छ।

उदयपुरगढी गाउँपालिकाकै ४ नं. वडा डुम्रेका कुलबहादुर लो तामाङको गोठ बगाउनुका साथै पहिरोले किचेर गम्भीर घाइते बनाएको छ। पहिरोले भैंसी बगाउन लागेपछि बचाउन जाँदा पहिरोको ढुंगा लागेर तामाङ घाइते हुन पुगेको वडाध्यक्ष रामबहादुर घले मगरले बताए। वडाध्यक्ष मगरका अनुसार स्वास्थ्यचौकी उदयपुरगढीमा उपचार गराउन लगिएका उनको त्यहाँ उपचार सम्भव नभए पनि सडक भत्केका कारण सदरमुकाम गाईघाट र कटारीसम्म जान नसकेर उपचार हुन सकिरहेको छैन। यस्तै भोजपुरमा पहिरोमा परी दुईजना घाइते भएका छन्। घाइते हुनेमा रामप्रसाद राई गाउँपालिका ७, बासीखोराकी ३५ वर्षीया प्रेमकुमारी राई र भोजपुर नगरपालिका ११ आम्तेककी ६६ वर्षिया रामकुमारी राई छन्। दुवैजना प्राथमिक उपचारपछि घर फर्किसकेका छन्। भोजपुरमा पहिरोमा परेर रामप्रसाद राई गाउँपालिकामा ४ र टेम्के मैयुङ गाउँपालिकामा १ जना गरी अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: ३० असार २०७६ ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App