८ वैशाख २०८१ शनिबार
समाज

बाढी, पहिरो र डुबानले करोडौंको क्षति

काठमाडौं - निरन्तर वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ। डुबानमा परी र बाढीले घर बगाएर सयौं परिवार विस्थापित भएका छन्। आइतबारसम्म रौतहटमा पाँच, पर्सा, बारा, धनुषा र महोत्तरीमा दुई÷दुई, सिरहामा एकजना गरी प्रदेश २ मा १४ जनाको मृत्यु भएको छ। रौतहट, सिरहा, धनुषा, महोत्तरी र पर्सामा एक÷एकजना गरी पाँचजना बेपत्ता भएका छन्। बाढीले जनजीवन निकै कष्टकर बनाएको छ।

बाढी र डुबानमा परी पर्सामा आइतबारसम्म दुईजनाको मृत्यु भएको छ भने नौ सय ९१ घर डुबानमा परेका छन्। मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१३ तेजारथ टोलका रामनारायण पटेलका १४ वर्षीय छोरा अनुज सिर्सिया नदीमा बाढी हेर्न गएका बेला बाढीले बगाएर शनिबार बिहानदेखि बेपत्ता थिए। आइतबार बिहान रामगढवास्थित बजरंग सिनेमा हलनजिकैको खेतमा हिलोमा लत्पतिएको अवस्थामा पटेलको शव फेला परेको थियो। यसअघि शुक्रबार पर्सागढी नगरपालिका–१ मनवानजिकै रहेको सिंयाही खोलाको बाढीले बगाएर स्थानीय १२ वर्षीय निखल पटेलको मृत्युभएको थियो। बाढीसँगै बगेर आएका दाउरा निकाल्ने क्रममा निखिल बाढीमा बगेका थिए।

विद्युत् अवरुद्ध हुँदा सञ्चार सेट तथा मोबाइल चार्ज गर्न नपाइएकाले डुबान क्षेत्र रहेका प्रायः सबै युनिट तथा त्यहाँ कार्यरत सुरक्षाकर्मी यतिबेला सम्पक अवस्थामा छन्।

बाढीको पानी घरमा पसेपछि पर्साका दुई हजार पाँच सय १३ परिवार विस्थापित भएका छन्। वीरगन्ज बजार क्षेत्रका दुर्ई सय ५० भन्दा बढी पसल, व्यापारिक प्रतिष्ठान, गोदाम र ट्रान्सपोर्टमा बाढीले बढी मात्रामा क्षति पु¥याएको छ। गोदाम र पसलहरूभित्र रहेका प्रायः सबै मालसमान पानी भिजेर खराब भएका छन्। पानी पर्न केही कम भएपछि आइतबार बिहान आदर्शनगर क्षेत्रका पसल तथा व्यापारिक प्रतिष्ठानहरू आंशिक मात्रामा खुलेका थिए। व्यापारीले पसल तथा गोदाम खोलेर हेर्दा निकै क्षति भएको भेट्टाए। पानी तथा हिलोमा ‘सराबरी’ भएका मालसामानबाट कामलाग्ने वस्तु छुट्याउन पसल सञ्चालक र कामदार आइतबार दिनभर व्यस्त भएका थिए।

जिल्लामा दुई दर्जनभन्दा बढी घरहरू बाढीले पूर्ण रूपमा क्षति भएको अनुमान गरिएकोमा आठजनाले घर पूर्ण क्षति भएको विवरण बुझाएका छन्। आदर्शनगर क्षेत्रको सामुदायिक संस्था ग्रिन सिटीका अध्यक्ष प्रकाश खेतानका अनुसार बाढी र डुबानका कारण वीरगन्जमा करोडौंको क्षति भएको छ। वास्तविक तथ्यांक आउन समय लाग्ने उनले बताए।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्षन गोपाल केडियाका अनुसार वीरगन्जमा धेरैजना व्यापारीको र ठुलो मात्रामा क्षति भएको छ र उनीहरू राज्यबाट केही राहत पाइने अपेक्षामा छन्। सुक्खा बन्दरगाह परवानीपुर सडक खण्डको लालपर्सानजिक, पावर हाउसदेखि पाखेरिया जाने बाटो रामगढवानजिक, विभिन्न ठाउँमा जनता सडक, जानकी टोला–ठोरी सडकखण्डका विभिन्न ठाउँ, भिस्वा बजारदेखि मिर्जापुर जाने मुख्य सडक बाढीले बगाएको छ। पटेर्वा सुगौली –५ निचुटाको मोर टोलमा दर्जनभन्दा बढी घरधुरी अझै डुबानमा रहेका छन्।

एकीकृत राहत
यसैबीच, जिल्ला दैवीप्रकोप उद्धार तथा राहत समिति पर्साले एकीकृत रूपमा राहत सामग्री वितरण गरिरहेको छ। वीरगन्ज उद्योग वाणिज्य संघमा एकीकृत केन्द्र स्थापना गरी राहत सामग्री वितरण गरिएको हो। बाढी पसेर खाना र बासको समस्या परेका बस्तीहरूमा स्थानीय जननिर्वाचित प्रतिनिधिमार्फत वितरण हुने गरी राहत सामग्रीको प्याकेज पठाइएको छ। संघका तर्फबाट राहत व्यवस्थापनमा खटिएका मनोज दासले आइतबार साँझसम्म १६ ठाउँमा राहत सामग्री पठाइएको बताए। संघका अध्यक्ष केडियाका अनुसार प्रभावितहरूको संख्या हेरेर खानेपानीको बोतल, चिउरा, चिनी, चाउचाउलगायत राहत सामग्री एकमुष्ठ पठाइएको छ। राहत वितरण व्यवस्थित बनाउन उद्योग वाणिज्य संघमा केन्द्र राखिएको, उद्धार काइलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी परिचालन गरिएको, स्थानीय संघ–संस्थाबीच समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।

अत्यधिक वर्षा र बाढीले आइतबार दिउँसोसम्म रौतहटमा कम्तीमा पाँचजनाको शव बरामद भएको छ भने दुईजना अझै हराइरहेका छन्। प्रहरीका अनुसार रौतहटको यमुनामाई गाउँपालिका–१ जेठरहियाकी २५ वर्षीया गायत्रीदेवी, ईशनाथ नगरपालिका–१ बन्जरहाका ४४तजष्कचतथाष्खभक्तबचप४रकउबलश्रवर्षीय हरेन्द्र राय यादव, दुर्गा भगवती गाउँपालिका–४ का ४५ वर्षीय वीरेन्द्र मिश्र र गौर नगरपालिका–३ का ४५ वर्षीय शिवमंगल पटेल तथा २५ वर्षीय उमेश राउत पटेलको शव बरामद भएको हो। शनिबार बाढीको भेलमा बगेर बेपत्ता भएका पाँचैजनाको शव आइतबार बरामद भएको रौतहट प्रहरीका प्रमुख एसपी भूपेन्द्रबहादुर खत्रीले बताए।\

राैतहतटकाे सबै प्रभावित
गढीमाई नगरपालिका–३ की कुल्हारीदेवी भनिने आनन्दीदेवी यादव शुक्रवारदेखि र इशनाथ नपा–३ का ४४ वर्षीय रामपुकार पटेल बिहीबारदेखि नै हराइरहेका छन्। बेपत्ता दुवैजनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बेपत्ता भएका व्यक्तिका आफन्तले पनि खोजी गरिरहेका छन्।

रौतहटका मुख्य खोलाहरू बाग्मती, लालबकैया, झाँझ, लमहा, चानी, तरहारीमा आएको बाढी र अविरल वर्षाले १६ नगरपालिका र दुई गाउँपालिका गरी १८ वटै स्थानीय तह प्रभावित भएका छन्। करिब सबै गाउँहरू दुई दिनसम्म टापुमा परिणत भएको थिए भने कम्तीमा ७० हजार परिवार बाढीबाट बढी प्रभावित रहेको अनुमान गरिएको छ।

बाढीबाट गौर नगरपालिका, दुर्गा भगवती गापा, राजदेवी नपा, यमुनामाई नपा, इशनाथ नपा, परोहा नपा, देवाहीगोनाही नपा, वृन्दावन नपा, गढीमाई नपा, माधवनारायण नपा, फतुवा विजयपुर, राजपुर, बौधीमाई बढी प्रभावित भएका छन् भने गुजरा, चन्द्रपुर, कटहरिया, गरुडा र मौलापुर नगरपालिका आंशिक प्रभावित भएको देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बाढीबाट प्रभावित बस्तीका स्थानीयलाई डोरी, बाँस र डुंगाको सहारामा स्थानीय तहबाट उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएको छ भने उनीहरूलाई स्थानीयस्तरमा प्रारम्भिक राहत उपलब्ध गराइएको छ। खास गरेर सदरमुकाम गौरको मुख्य सडक, सम्पूर्ण सरकारी कार्यालय तथा सर्वसाधारणको घरमा चारदेखि १० फिटसम्म पानी जमेपछि उनीहरूले खुला छतमाथि बसेर ज्यान जोगाएका थिए। जिल्ला प्रहरी कार्यालयमै १० फिटसम्म पानी जमेपछि उद्धारमा खटिने प्रहरीको उल्लेख्य जनशक्ति आफ्नै उद्धारमा खटिएको थियो।

गौरबासी तीन दिन छतमा बस्न बाध्य भएका थिए। आइतबार दिउँसोदेखि भने वातावरण केही सहज भएको छ। दिउँसोदेखि घरबाट निस्कन सजिलो भए पनि टेलिफोन, मोबाइल र सञ्चारका अन्य साधन अवरुद्ध छन् भने बिजुलीको लाइन पनि दुई दिनदेखि नहुँदा सदरमुकाममा सबै किसिमको समस्या देखिएको छ। जिल्ला सदरमुकाम गौरमा बाढीपछि उत्पन्न हुने महामारीको खतरा रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

यसैबीच, बाढीबाट अत्यधिक प्रभावितमध्ये दुर्गा भगवती गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको तलब विपद् व्यवस्थापन समितिलाई दिने भएका छन्। आइतबार पालिकास्तरीय बैठकबाट बाढी प्रभावित परिवारका लागि जनप्रतिनिधिहरूले एक महिनाको तलब दिने निर्णय गरेको गापा अधयक्ष अरुणकुमार साहले बताए। यसबाहेक बाढीबाट क्षति भएका परिवारलाई राहत प्रदान गर्न विभिन्न शीर्षकको रकम रकमान्तर गरी विपत् व्यवस्थापन समितिमा ल्याउने, मृतक वीरेन्द्र मिश्र र नरेश चौधरीको परिवारलाई क्रिया खर्चबापत जनही २५ हजार, प्रभावित परिवारलाई तत्कालीन राहतस्वरूप २५ किलो चामल, पाँच किलो चिउरा, खानेतेल, चाउचाउ बिस्कुट, नुनको प्याकेट २५ सय परिवारलाई उपलब्ध गराउने निर्णय भएको अध्यक्ष साहले बताएका छन्।

जिल्लामा बाढी तथा डुबानबाट भएको भौतिक क्षतिको विवरण संकलन भइरहेको छ। जिल्लाको मुख्य ध्यान अहिले राहत तथा उद्धारमा केन्द्रित रहेकोले एक हप्तामा भौतिक क्षतिको विवरण आइपुग्ने बताइएको छ। घरबाट विस्थापित भएर विभिन्न विद्यालय तथा सार्वजनिक ठाउँमा शरण लिइरहेकाहरूको व्यवस्थापनमा पनि अहिले ध्यान केन्द्रित रहेको जिल्ला सुरक्षा स्रोतले जनाएको छ।

अविरल वर्षाका कारण डुबान हुँदा सर्लाहीका २५ हजार घरभित्र पानी पसेको छ। जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरका अनुसार अविरल वर्षाका कारण डुबान हुँदा २५ हजार घरभित्र पानी छिरेको प्रारम्भिक जानकारी संकलन गरिएको छ। एकिन तथ्यांक आउन दुई–तीन दिन लाग्छ।

लगातकार विद्युत उद्धार
विद्युत् नहुँदा सञ्चार सेट तथा मोबाइल सम्पर्क विच्छेद भएकाले उद्धार तथा क्षति विवरण संकलन गर्न कठिनाइ भइरेहेको प्रनाउ राठौरले जानकारी दिए। सयौं घर डुबानमा परेपछि बिचल्लीमा परेका हजारौं सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको उनले बताए। शनिबार साँझदेखि वर्षा रोकिएकाले केही राहत मिलेको र उद्धार एवं क्षति विवरणका लागि सहज अवस्था बनेको प्रनाउ राठौरले जानकारी दिए।

सर्लाहीमा झीम खोलाले बाँध फुटाएपछि शनिबार दिनभर सदरमुकाम मलंगवासहित दक्षिण–पूर्वी क्षेत्रका आधा दर्जन गाउँहरू डुबानमा परेका थिए। सदरमुकाम मलंगवा, ब्रम्हपुरी, पर्सालगायत स्थानीय तहका दर्जनौं गाउँ डुबानमा परेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए।

त्यस्तै मनुष्मारा खोलामा आएको बाढीले दक्षिण–पश्चिम क्षेत्रका धनकौल, महिनाथपुर, ढापटोल, छटौल, बैरिया, हरकठवा, भवानीपुर, हिरापुरलगायत दुई दर्जनभन्दा बढी गाउँहरू डुबानमा पारेको छ। घर डुबानमा परेपछि सयौं सर्वसाधारण अग्लो पक्की घर तथा अग्लो स्थानमा रहेको सडकमा बस्नुपरेको थियो। प्रायः गाउँको चारैतर्फ पाँच फिटभन्दा बढी पानी जमेका कारण शनिबार दिनभर उद्धारमा समस्या भएको प्रजिअ राउतले बताए। उनका अनुसार शनिबार साँझदेखि वर्षा रोकिएपछि भने डुबानको समस्या घट्दै गएको र उद्धार एवं क्षति विवरण संकलनका लागि सहज बन्दै गएको छ।

सुरक्षाकर्मी सम्पर्कविहिन
जिल्लाको दक्षिण–पश्चिम डुबान क्षेत्रमा खटिएका सुरक्षाकर्मी नै सदरमुकाम मलंगवास्थित जिल्ला हेडक्वार्टरबाट सम्पर्कविहीन बनेका छन्। नेपाल प्रहरीका विभिन्न प्रहरी चौकी, इलाका प्रहरी कार्यालय एवं सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट सम्पर्कविहीन भएका हुन्। ६ दिनदेखि विद्युत् अवरुद्ध हुँदा सञ्चार सेट तथा सुरक्षाकर्मीको मोबाइल चार्ज गर्न नपाइएकाले डुबान क्षेत्र रहेका सुरक्षा एकाइसँग सम्पर्कका लागि कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए। उनका अनुसार डुबान क्षेत्रका सबै युनिट तथा त्यहाँ कार्यरत सुरक्षाकर्मी यतिबेला सम्पर्कविच्छेद अवस्थामा छन्।

विद्युत् सुचारु नहुँदा डुबान क्षेत्रमा नेपाल टेलिकम र एनसेलको टावर सञ्चालनमा आउन नसकेकाले जिल्लाबाट गएका सुुरक्षाकर्मीको समेत मोबाइलमा कुरा हुन नसक्ने अवस्थाले डुबान क्षेत्रमा सम्पर्कविच्छेदको अवस्था रहेको राठौरले बताए। उनका अनुसार इलाका प्रहरी कार्यालय बलरा, प्रहरी चौकी इनर्वा, इलाका प्रहरी कार्यालय हरकठवा, प्रहरी चौकी छन्कीटोलालगायत आधा दर्जन इकाइ सम्पर्कविहीन बनेका छन्। डुबान क्षेत्रका युनिटसँग सम्पर्क नहुँदा उद्धार एवं क्षति विवरण संकलनमा कठिनाइ भइरहेको उनले बताए।

सशस्त्र प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठले पनि विद्युत् नहुँदा आन्तरिक सञ्चार सेट, मोबाइललगायत सञ्चारसाधन ठप्प हुँदा उद्धारलगायतमा समस्या भइरहेको बताए। ‘डुबान क्षेत्रका छतौना, बारा उद्योरणलगायत बिओपीमा सञ्चार सम्कर्पमा समस्या आइरहेको छ’, उनले भने, ‘सञ्चार सम्बन्धविच्छेद हुँदा उद्धारमा समस्या हुने नै भयो।’

त्यस्तै अविरल वर्षाका कारण सदरमुकाम मलंगवास्थित टेलिकम कार्यालय डुबानमा पर्दा ल्यान्डलाइन टेलिफोनसमेत अवरुद्ध भएको छ। बिहीबार दिउँसैदेखि विद्युत् नहुँदा मोबाइल, इन्टरनेटलगायत सञ्चार सम्पर्कविच्छेद भएकाले जिल्लामा सर्वसाधारण, सञ्चारकर्मीलगायत समस्यामा परेका छन्। बिहीबार बिहानदेखि अवरुद्ध विद्युत् सेवा आइतबार दिउँसोसम्म पनि नियमित सञ्चालन हुन सकेको छैन। मोबाइलहरू टावरविहीन छन्। इन्टरनेट सेवा अवरुद्ध छ।

अविरल वर्षाले जिल्लाका दर्जनौं स्थानमा पोल ढलेकाले विद्युत् सुचारु गर्न समस्या भइरहेको विद्युत् प्राधिकरण लालबन्दीका प्रमुख विजय महतोले जानकारी दिए। पोल ठड्याउने र अन्य मर्मत सम्भारको काम भइरहेको उल्लेख गर्दै महतोले मुख्य व्यापारिकस्थलहरूमा आइतबार साँझसम्म नियमित विद्युत् सञ्चालन हुने गरी काम भइरहेको जानकारी दिए।

सिरहा नगरपालिकाको सारश्वरनजिक आइतबार एक महिलाको शव फेला परेको छ। शवको पहिचान खुलाउन प्रहरीले प्रयास गरिरहेको छ। कमलानदीको बाढीमा बगेर बेपत्ता सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्राहाका ५५ वर्षीय कामेश्वर यादव अझै फेला परेको छैनन्। सुरक्षाकर्मीले उनको खोजी जारी राखेको छ। शनिबार दिउँसोबाटै उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भए पनि आइतबार रातिसम्म फेला नपरेको सिरहा प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले बताए।

रातु नदीमा आएको बाढीको भेलले महोत्तरीमा एक वृद्धसहित दुईजनाको मृत्यु भएको छ भने दुईजना बालक बेपत्ता भएका छन्। शुक्रबार रातु खोलामा आएको बाढीको भेलले बलवा नगरपालिका–२ का ७५ वर्षीय हनिफ बैठालाई वगेर बेपत्ता भएका थिए। बैठाको शव आइतबार बिहान महोत्तरी गाउँपालिका–३ डाम्ही मडैस्थित रातु नदीकिनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। उनी गाउँनजिकै घाँस काटेर घर फर्किदै गर्दा खोला तर्ने क्रममा एक्कासि आएको बाढीको भेलमा परेका थिए।

जलेश्वर नगरपालिका–८ बजराहीबाट जलेश्वर आउने क्रममा बाढीको भेलले बगाउँदा सोही ठाउँका १२ वर्षीय छोरा प्रसान्त ठाकुर र उनका भान्जा १३ वर्षीय युवराज ठाकुर बेपत्ता भएका छन्। बाढीले मानिस बगाएको खबर पाएलगत्तै त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरी बेपत्ता बालकद्वयको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधवप्रसाद बुढाथोकीले बताए। परिवारजनका अनुसार क्यारेम खेल्ने गोटी खरिद गर्न जलेश्वर आउने क्रममा बजराही र जलेश्वर बीचमा रहेको कल्र्भटबाट दुवै बालक एकैसाथ बेपत्ता भएका हुन्। बेपत्ता बालकहरू हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ।

धनुषामा दुई बेवारिसे शव फेला परेको छ। गणेशमान चारनाथ नगरपालिकाका–४ करजन्हास्थित पानी जमेको खाल्डोमा मृत अवस्थामा एकजना र जनकनन्दनी गाउँपालिका–१ रक्सी पसलनजिक एकजना गरी दुईजनाको शव बेवारिसे अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। धनुषाका प्रहरीका अनुसार मृतक दुवैजनाको शव आइतबार बिहान फेला परे पनि बेलुकासम्म पहिचान खुलेको छैन। खोलाकिनारमा भेटिएका ती शव अन्यत्रबाट बगेर आएको हुनसक्ने आशंका गरिएको छ।

बाग्मतीको खतरा ट-यो
सर्लाही र रौतहटको सीमा नदी बाग्मतीमा पानीका बहाब बढेर खतराको चिन्ह नाघे पनि आइतबारबाट भने पानीको सतह घट्दै गएको छ। अविरल वर्षाका कारण जमिनबाट पानीको सतह ६।७५ मिटर गहिराइ हुनुपर्नेमा शुक्रबार राति ९।७५ मिटरसम्म पुगेको पानी शनिबार रातिबाट भने घट्दै गएको छ। शुक्रबार नै पानीको मात्राले खतराको सूची नाघेसँगै रातो झन्डा फहराइएको थियो। बाढीले खतराको लेबल नाघेसँगै बाग्मती सिँचाइ आयोजनाको ब्यारेजका ३० वटै ढोका खोलिएका थिए।

प्रकाशित: ३० असार २०७६ ०१:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App