६ वैशाख २०८१ बिहीबार
समाज

सर्लाहीमा डुबान क्षेत्रमा खटिएका सुरक्षाकर्मी नै सम्पर्कविहीन, उद्धारमा समस्या

सर्लाही– जिल्लाको दक्षिण–पश्चिम डुबान क्षेत्रमा खटिएका सुरक्षाकर्मी नै सदरमुकाम मलंगवास्थित जिल्ला हेडक्वार्टरबाट सम्पर्कविहीन बनेका छन्। 

नेपाल प्रहरीतर्फ प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय जस्ता इकाई एवं सशस्त्र प्रहरीतर्पm बोर्डर आउट पोष्ट सम्पर्कविहीन भएका हुन्। ६ दिनदेखि विद्युत अवरुद्ध हुँदा संचार सेट तथा युनिट इन्चार्जसहित सुरक्षाकर्मीको मोबाइलसमेत चार्ज गर्न नपाईएकाले डुबान क्षेत्र रहेका सुरक्षा इकाईसँग सम्पर्कका लागि कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता डिएसपी प्रतित सिंह राठौरले जानकारी दिए। 

‘विद्युत अभावले डुबान क्षेत्रका युनिटमा रहेको संचार सेट तथा युनिट इन्चार्ज सहित सबै सुरक्षाकर्मीको मोबाइल चार्ज हुन सकेको छैन’, डिएसपी राठौरले भने, ‘त्यसैले डुबान क्षेत्रका सबै युनिट तथा त्यहाँ कार्यरत सुरक्षाकर्मी सम्पर्क विच्छेद भएका छन्।’

विद्युत सूचारु नहुँदा डुबान क्षेत्रमा नेपाल टेलिकम र एनसेलको टावर सञ्चालनमा आउन नसकेकाले जिल्लाबाट गएका सुुरक्षाकर्मीको समेत मोबाइलमा कुरा हुन नसक्ने अवस्थाले डुबान क्षेत्रमा सम्पर्क विच्छेद्को अवस्था रहेको राठौरले बताए। राठौरका अनुसार ईलाका प्रहरी कार्यालय बलरा, प्रहरी चौकी ईनरर्वा, ईलाका प्रहरी कार्यालय हरकठवा, प्रहरी चौकी छन्कीटोला लगायत आधा दर्जन इकाई सम्पर्कविहीन बनेका छन्। डुबान क्षेत्रका युनिटसँग सम्पर्क नहुँदा उद्धार एवं क्षति विवरण संकलनमा कठिनाई भइरहेको उनले बताए। 

त्यस्तै सशस्त्र प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठले पनि विद्युत नहुँदा आन्तरिक संचार सेट, मोबाइल लगायत संचार साधन ठप्प हुँदा उद्धार लगायतमा समस्या भइरहेको बताए। ‘डुबान क्षेत्रका छतौना, बाराउद्योरण लगायत बीओपीमा संचार सम्बन्धमा समस्या आईरहेको छ’, उनले भने, ‘संचार सम्बन्ध विच्छेद हुँदा उद्धारमा समस्या हुने नै भयो।’

त्यस्तै अविरल वर्षाका कारण सदरमकाम मलंगवास्थित टेलिकम कार्यालय डुबानमा पर्दा सदरमुकाम मलंगवामा ल्याण्डलाइन टेलिफोन समेत अवरुद्ध बनेको छ। विहीबार दिउँसैदेखि विद्युत अवरुद्ध हुँदा मोबाइल, इन्टरनेट लगायत सञ्चार सम्पर्क विच्छेद भएकाले जिल्लामा सर्वसाधारण, संचारकर्मी लगायत समस्यामा परेका छन्। विहीबार बिहानदेखि अवरुद्ध विद्युत सेवा आइतबार दिउँसोसम्म पनि नियमित सूचारु हुन सकेको छैन। मोबाइलहरु टावरविहीन छन्। इन्टरनेट सेवा अवरुद्ध बनेको छ। 

अविरल बर्षाले जिल्लाका दर्जनौं स्थानमा पोल ढलेकाले विद्युत सुचारु गर्न समस्या भइरहेको विद्युत प्राधिकरण लालबन्दीका प्रमुख विजय महतोले जानकारी दिए। पोल ठड्याउने र अन्य मर्मत संभारको काम भइरहेको उल्लेख गर्दै महतोले मुख्य व्यापारिक स्थलहरुमा आइतबार साँझसम्म नियमित विद्युत सुचारु हुने गरी काम भइरहेको जानकारी दिए। मुख्य व्यापारिक स्थलमा नियमित विद्युत सुचारु भएपछि डुबान क्षेत्रमा पनि मर्मत संभार गरी विद्युत सुचारु गरिने प्राधिकरणले जनाएको छ।

प्रकाशित: २९ असार २०७६ ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App