६ वैशाख २०८१ बिहीबार
समाज

८ वर्षमा सडक दुर्घटनामा परी १३ सय बढीले ज्यान गुमाए (भिडियो)

भिडियो : प्रेम श्रेष्ठ

काठमाडौं - पछिल्लो समय उपत्यका लगायत देशैभर सडक दुर्घटना बढेको छ। बढ्दो सवारीसाधन तथा सडकको अवस्था कमजोर भएको कारण अहिले सडक दुर्घटना ठूलो चुनौती बनेको छ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार अव्यवस्थित सडक, चालकको लापरवाही, तीव्र गति, क्षमताभन्दा बढी यात्रु बोक्नु दुर्घटनाका मुख्य कारण मानिएका छन्। २०६८ देखि २०७६ जेठ मसान्तसम्ममा १ हजार ३ सय ४२ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी रवि कुमार पौडेलले बताए।

उनका अनुसार उपत्यकाका मुख्य तथा गल्लीका सडकहरू खाली भएकाले तीव्र गतिमा सवारी हाँक्ने तथा चालकको लापरवाहीका कारण सवारी दुर्घटना बढेको छ।

उनले भने, 'बाटोमा रहेका पोल, डिभाइडर तथा रेलिङमा ठोक्किएर पनि सवारी दुर्घटना भएको छ।'

उनले चालकको लापरवाहीका कारण पोल, डिभाइडर तथा रेलिङमा ठोक्किएर भएको दुर्घटनामा परी पछिल्लो ८ वर्षमा ५ सय भन्दा बढीको ज्यान गएको बताए।

एसपी पौडेलका अनुसार आर्थिक वर्ष २०६८ /०६९ मा १ सय ४८, २०६९/०७० मा १ सय ४८, २०७०/०७१ मा १४३, २०७१/०७२ मा १ सय ३३, २०७२/०७३ मा १६६, २०७३/०७४ मा १ सय ८२ , २०७४ /०७५ मा १ सय ९४,  २०७५/०७६ मा २ सय ८८  जनाको ज्यान गएको छ।

उनले भने, सडक दुर्घटना  अन्तरगत सबै भन्दाबढी मोटरसइकल र स्कुटर परेका छन्. त्यसमापनि टिनएजरका किशोर किशोरीले चलाएको सवारीसाधन बढी नै दुर्घटनामा परेको हो।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सन् २०१३ देखि २०२० सम्ममा सडक दुर्घटना ५० प्रतिशत घटाउने लक्ष्यसहितको कार्ययोजना बनाएको छ।

चालकले द्रूत गतिमा गाडी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, आकस्मिक ब्रेक लगाएका कारणले पनि दुर्घटना हुने गरेका छन्। घुमाउरा सडक र सडकमा पर्याप्त सांकेतिक बोर्डको प्रयोग नहुँदा पनि दुर्घटना हुने गरेका छन्।

सडक निमार्णमा जथाभावी कमसल सामाग्रीको प्रयोग, सडकमा जथाभावी निमार्ण सामाग्रीहरु थुपार्ने, चौपायाहरु छाडा छोड्ने र सडक प्रयोगकर्तामा जनचेतनाको कमीले गर्दा पनि दुर्घटना बढेको छ।

जथाभाबी यात्रुलाई झार्ने र चढाउने, स्कुटर तथा मोटरसाइकलमा क्षमताभन्दा बढी सामान बोक्नु, फुटपाथमा गाडिपार्किङ, फुटपाथका व्यापारले पनि सवारी आवागमनलाई असर गरेको छ।

यात्रुहरु बाटो काट्दा जेब्राक्रसबाट र आकासे पुलको प्रयोग गर्दैनन्। सडकको बिचबाटै बाटो काटिरहेका हुन्छन्। अनि, नक्कली चालक अनुमतिपत्रले पनि यस्ता समस्याहरु बढ्दै गएका छन्।

तीब्र गतिबाट गाडी चलाउँदा हुने दुर्घटना न्युनिकरणका लागि कतिपय सडकमा टाइम कार्डको प्रयोग गरिएको छ। कतै चेकिङ पोस्ट थपिएका छन्, मादक पदार्थ सेवनको चेकजाँचलाई पनि कडाइका साथ कार्यान्वयन गरिएको छ। तर दुर्घटनाबाट हुने क्षति भने वर्षेनि बढ्दै गएको छ।

यात्रुलाई बाटो काट्न, चालकलाई सिटबेल्टको प्रयोग अनिवार्य गर्न र मोटरसाइकलमा सवार दुवै जनाले हेलमेट लगाउने नियमलाई अझै कडाइका साथ कार्यान्वयन गराउन जोड दिने हो भने दुर्घटनाबाट हुने क्षति कम गर्न सकिन्छ।

पछिल्लो अवस्थामा उपत्यका लगायत देशैभर चुनौतीको विषय बनेपछि सवारी दुर्घटना कम गर्न सडकको अवस्था सुधारदेखि चालक अनुमती पत्र वितरणमा समेत ध्यान दिनुपर्ने अधिकारीहरु बताउँछन्।

 

प्रकाशित: २९ असार २०७६ ०७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App