८ वैशाख २०८१ शनिबार
समाज

जंगली च्याउ खाँदा १२ बिरामी

रूकुम – जंगली च्याउ खाँदा रुकुम पश्चिममा एकै गाउँका १२ बिरामी भएका छन्। जङ्गलबाट ल्याएको च्याउ खाँदा मुसीकोट नगरपालिका–१ चन्दननाथ टोलका १२ बिरामी परेका हुन्।

च्याउ खाएर बिरामी पर्नेमा आठ वर्षीया अञ्जु केसी, ६ वर्षीय अनोज केसी, १२ वर्षीय रमेश केसी, १५ वर्षीय नवीन केसी, १७ वर्षीया कल्पना केसी र ५४ वर्षीया चन्द्रकुमारी गिरी रहेका छन्। त्यस्तै २४ वर्षीया जमुना गिरी, २५ वर्षीया पुष्पाञ्जली गिरी, ३० वर्षीया मनिषा बुढा, ६० वर्षीया देवी खनाल, १३ वर्षीय नवराज खनाल र १६ वर्षीया हिमाली खड्का पनि च्याउ खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिरामी सबैको मुसीकोट नगरपालिका–१, खलङ्गाको साझा अस्पतालमा उपचार भइरहेको छ। अहिले बिरामी सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। उनका अनुसार जंगलबाट ल्याएको च्याउ पकाएर हिजो साँझ खाएका उनीहरु लगत्तै बिरामी परेका थिए। समयमै स्वास्थ्य संस्थामा ल्याएका कारण उनीहरुलाई केही हुन नपाएको प्रहरी नायव उपरीक्षक खड्काको भनाइ छ।

यसैबीच प्रहरीले जंगली च्याउ नखान आग्रह गरेको छ। जंगली च्याउ विषालु हुने र त्यसको सेवनबाट ज्यानै जाने भएकाले जंगलबाट ल्याएको च्याउ नखान जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक खड्काले सबैलाई आग्रह गरेका छन्। सधैं खाइरहेको र चिनेको च्याउसमेत विभिन्न कारणले विषालु हुनसक्ने भएकाले जंगली च्याउ नखान स्वास्थ्यकर्मीले समेत आग्रह गरेका छन्। जंगलमा पाइने विभिन्न प्रकारका च्याउ तरकारीको रुपमा खाने गरिन्छ।

यस्तै जाजरकाेटमा पनि जंगलबाट ल्याएको च्याउ खाँदा सात बिरामी परेका छन्। जंगलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका–१, सिल्पाचौर घर भई सदरमुकाम खलंगामा डेरा गरी बस्दै आएका ३८ वर्षीय शान्त बुढा, ३५ वर्षीय रत्न बुढा, २३ वर्षीय ओमप्रकाश बुढा बिरामी परेका छन्। यस्तै २६ वर्षीय डम्बर पुन, २२ वर्षीया शान्ति पुन, २३ वर्षीय टकबहादुर पुन र ४७ वर्षीय तीलबहादुर थापा छन्। उनीहरुको जाजरकोट अस्पतालमा उपचार भइरहेको अस्पतालका डा. अमिन शाहले बताए।

प्रकाशित: २९ असार २०७६ ०६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App