coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अवकाशपछिकाे जीवन बिताउन नेपाल रोज्ने बढे

अमेरिका – सियाटलस्थित वाणिज्य दूतावासमा नेपाली भिसा लिन आउने हरेक १० जनामा तीनजनाले अवकाशपछिको जीवन नेपालमा बिताउने चाहना व्यक्त गर्ने गरेका छन्। सुन्दर, शान्त र शीतल पहाडी क्षेत्र भएको नेपाललाई उनीहरु अवकाशपछिको जीवन बिताउने उत्कृष्ट स्थान ठान्छन्।

अमेरिकीले पनि अवकाशपछिको जीवन नेपालमा बिताउने चाहना राख्दै नेपालबारे जिज्ञासा राख्ने गरेको महावाणिज्यदूत एसी शेर्पाले बताए।

पछिल्लो अध्ययनले पनि ‘रिटायर्ड लाइफ’का लागि पोर्चुगलपछि नेपाललाई निकै राम्रो गन्तव्यको रुपमा औंल्याएको छ। नेपाल भ्रमण गरेर फर्कनेहरुले नेपाल अवकाश जीवनको उत्कृष्ट गन्तव्य रहेको भन्दै चर्चा गरेपछि महावाणिज्यदूत शेर्पाले नेपाल सरकार, सरोकारवाला र अमेरिकी सहित विश्वका दर्जनौं कन्सुलरहरुलाई जम्मा गरी नेपालको पर्यटकीय गन्तव्यबारे बृहत् छलफल गर्ने तयारी गरेका छन्।

अघिल्लो महिना नेपाल जाँदा प्रधानमन्त्रीलगायत सरकारका विभिन्न निकायसँग सम्भावनाबारे आफूले जानकारी दिएको उनले बताए। सोहीअनुसार वातावरण बन्न सके पर्यटकीय हिसाबले धेरै अमेरिकी नेपाल पठाउन सकिने भएकाले आफूले सोही विषयमा बृहत् छलफल गर्न कार्यक्रम आयोजना गरेको उनी बताउँछन्।

नेपाल र उत्तर अमेरिका क्षेत्रमा हुन सक्ने व्यावसायिक अवसर र सम्भावनाबारे एक छलफल गर्न २६ जुलाईमा एक कार्यक्रम गर्न लागेको उनले बताए। उनका अनुसार सो अवसरमा वासिंगटनका गभर्नर जय इन्स्ली, रेडमन्डका मेयर जोन माकोइन र बेथलका मेयर एन्डी रेयुमी र नेपालका लागि अमेरिकी राजदूत अर्जुन कार्की नेपालमा लगानीसम्बन्धी प्रमुख वक्ताका रुपमा सहभागी हुनेछन्।

विश्वकै ठूला कम्पनीहरुको हेडक्वार्टर रहेको व्यापारिक हब मानिने सियाटलका काउन्सिलर एसोसिएसनका अध्यक्ष टेरेसा डेभिससहित गैरआवासिय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले नेपालमा लगानीका अवसर र पर्यटकीय सम्भावना बारे प्रस्तुति दिनेछन्।

नेपाल भ्रमणमा जाने अमेरिकीले अवकाशपछिको जीवन नेपालमा बिताउन इच्छा व्यक्त गरेको र नेपालमा लगानी गर्न सकिने पर्यटनलगायत अन्य क्षेत्र भएको भन्दै चासो प्रकट हुन थालेपछि नेपाल सरकारको समन्वयमा हुने कार्यक्रम फलदायी हुने महावाणिज्यदूत शेर्पाको विश्वास छ।

उनले नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन पनि उक्त कार्यक्रमबाट योगदान हुनेछ। कार्यक्रममा पर्यटन बोर्डको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले नेपालको चिनारी प्रस्तुत गर्नेछिन्।

दुई वर्षअघि वाणिज्य दूतावास स्थापना भएपछि सियाटल आसपासबाट नेपाल भ्रमण गर्ने अमेरिकीको संख्या व्यापक बढेको दूतावासले जनाएको छ। यहाँबाट भिसा जारी हुन थालेपछि झण्डै १० हजार अमेरिकीले नेपाल भ्रमण गरिसकेको तथ्यांक छ।

प्रकाशित: २९ असार २०७६ ०४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App