coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सोलुमा तीन दिनदेखि आवागमन ठप्प

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा तीन दिनदेखि आवागमन ठप्प भएको छ। अविरल वर्षासँगै मौसम प्रतिकूल बनेपछि सडक तथा विमानस्थल सञ्चालनमा आउन सकेका छैनन्। मौसम सक्रिय भएसँगै परिर्वतन भएको मौसमले जिल्लाको आवागमन ठप्प पारेको हो।

फाप्लु विमानस्थलमा पाँच दिनदेखि उडान हुन सकेको छैन भने लुक्लास्थित तेन्जिङहिलारी विमानस्थलमा तीन दिनदेखि उडान भएको छैन। उडान नहुँदा खुम्बु क्षेत्रको भ्रमण सकेर फर्केका करिब ३० पर्यटक र केही नेपाली लुक्लामा अलपत्र परेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख ईमनाथ अधिकारीले जानकारी दिए।

सल्लेरी हुँदै काठमाडौं र तराईका विभिन्न भाग जानका लागि प्रयोग हुने सडक अबरुद्ध भएपछि आवतजावत बन्द भएको छ। सडक अबरुद्ध भएपछि तीन दिनदेखि लामो दूरीको सवारी आवागमन बन्द रहेको दूधकुण्ड यातायातका सल्लेरी काउन्टर इन्चार्ज छिरिङ तामाङले बताए।

ओखलढुंगाको मानेभन्ज्याङ, उदयपुरको बेतिनी–घुर्मी सडक र विपि राजमार्गमा सडक अवरुद्ध भएपछि माथिल्लो सगरमाथाका तीन जिल्लाका सर्वसाधारण घुर्मिमा अलपत्र परेका छन्। सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ४ जुबुका अध्यक्ष नातिकाजी गुरुङले तिन दिन देखि सयौँ यात्रु अलपत्र हुदा समेत स्थानीय प्रशासनले चासो नदिएको गुनासो गरे।

घुर्मिमा डेढ सय बढि सवारीसाधन र एक हजारको हाराहारीमा व्यक्ति अलपत्र परेको उदयपुरको घुर्मिबाट बजिन्द्र विष्टले जानकारी दिए। घुर्मिबजारमा स्टक रहेका सामाग्री सकिएकाले खानेकुराकै हाहाकार शुरु भएको विष्टको भनाई छ। निरन्तरको बर्षाले बाढीपहिरोको समेत जोखिम बढेको बताइएको छ।

ग्रामीण सडक अबरुद्ध
तीन दिन देखिको अविरल वर्षा भएपछि सोलुखुम्बुका ग्रामीण सडकहरु अबरुद्ध भएका छन्। कच्ची सडकमा ठाउँठाउँमा पहिरो जादाँ, भासिदा र हिलाम्मे हुदा सडक आवतजावत् ठप्प भएको हो। लगातारको बर्षाकै कारण सल्लेरी–नेचासल्यान, सल्लेरी बासा–अधेँरी र सल्लेरी–दिप्ली ग्रामिण सडक अबरुद्ध भएका छन्।

थुलुङ दूधकोशी गाउँपालिका–८ स्थित मुल्ठा नजिकैको भिरमा माथिबाट पहिरो खस्दा सडक अबरुद्ध भएको छ। पहिरोका कारण सल्लेरीदिप्ली सडक सञ्चालनमा बाधा पु-याएको यातायात व्यवसायी कुमारसिं राईले बताए। सल्लेरीदेखि माप्य दूधकोशी गाउँपालिकाको बासा–अधेंरीसम्मको सिधा यातायात सञ्चालनमा समस्या आएको छ। ठाउँठाउँमा सडक अबरुद्ध भएपछि आवतजावतका लागि तीन स्थानमा सवारी परिर्वतन गर्नुपर्ने बाध्यता रहेको ललित कार्कीले जानकारी दिए।

सल्लेरीदेखि तिङ्ला, सल्यान हुँदै नेचासम्मको सडकमा पनि सवारी सञ्चालनमा समस्या देखिएको छ। खहरे र ठाडो खोला बढ्नु र ठाउँठाउँमा सडकमा समस्या आएपछि तीन दिनदेखि सवारी सञ्चालनमा नआएको धनकुमार ढुंगेलले जानकारी दिए। ग्रामीण सडक बन्द हुँदा काठमाडौंलगायत स्थानमा आवतजावतका लागि असहज भएको छ।

प्रकाशित: २९ असार २०७६ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App