७ वैशाख २०८१ शुक्रबार
कला

विपिन र स्वस्तिमा उत्कृष्ट

काठमाडौ – अभिनेता विपिन कार्की विसं. २०७५ सालमा उत्कृष्ट हुँदै राष्ट्रिय चलचित्र पुरस्कार जितेका छन्। शुक्रबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई उत्कृष्ट अभिनेताको अवार्ड र प्रमाणपत्र प्रदान गरिन्। ‘प्रसाद’ फिल्मबाट उनले अवार्ड जितेका थिए।

उत्कृष्ट अभिनेत्रीको अवार्ड भने ‘बुलबुल’ फिल्मबाट स्वस्तिमा खड्काले जितेकी थिइन्। ‘गोपी’ उत्कृष्ट फिल्म घोषित हुँदै कथा र पटकथामा दीपेन्द्र लामा र सामिप्य तिमिल्सेनाले अवार्ड थापे। ‘बुलबुल’ फिल्मबाट विनोद पौडेलले उत्कृष्ट निर्देशकको अवार्ड पाएका थिए। त्यस्तै सम्पादनमा निमेष श्रेष्ठ (साइली), छायांकनमा सन्जय लामा (समर लभ) ले अवार्ड थापेका थिए।

आदीवासी, जनजाति, विभिन्न मातृभाषी फिल्मतर्फ गुरुङ भाषाको ‘रिजे नासाँ’ र जुरी प्रोत्साहन अवार्ड ‘भोर’ फिल्मकी पूजा कर्णलाई प्रदान गरिएको थियो। त्यस्तै ‘छक्का पन्जा ३’ लाई फिल्मको व्यापार, विस्तार तथा प्रवद्र्धन सम्मान प्रदान गरियो। विभिन्न विधामा पुरस्कारबाट पुरस्कृत हुनेलाई जनही २५ हजार रुपैयाँसमेत प्रदान गरिएको थियो। कार्यक्रममा दीर्घ साधना सम्मानबाट निर्देशक तुलसी घिमिरेलाई तीन लाख ५१ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो।
विसं. २०७४ को राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता पुष्पबहादुर खड्का र अभिनेत्री बेनिशा हमालले अवार्ड जितेका थिए। अभिनेता पुष्पबहादुर खड्काले ‘मंगलम्’ र अभिनेत्री बेनिशाले ‘ब्लाइन्ड रक्स’ बाट अवार्ड हात पारेका थिए। ‘ब्लाइन्ड रक्स’ फिल्मले उत्कृष्ट फिल्म र सोही फिल्मबाट मिलन चाम्सले उत्कृष्ट निर्देशकको पुरस्कार प्राप्त गरेका थिए।

उत्कृष्ट लेखनको पुरस्कार ‘धनपति’ फिल्मका लागि खगेन्द्र लामिछानेले प्राप्त गरेका थिए। त्यस्तै सम्पादन मित्रदेव गुरुङ (मंगलम्) र छायांकनमा पुरुषोत्तम प्रधान (कृ) ले पुरस्कार प्राप्त गरेका थिए। उल्लेखनीय अभिनय महिलातर्फ ‘मंगलम्’ फिल्मका लागि मिथिला शर्मा र पुरुषतर्फ ‘शत्रु गते’ बाट रमेशरञ्जन झा पुरस्कृत भएका थिए। शेर्पा भाषाको ‘टिन्छेन फामा’ ले आदीवासी, जनजाती तथा विभिन्न मातृभाषी फिल्मतर्फको अवार्ड जित्यो। निर्देशक किशोर रानामगरलाई दीर्घ साधना सम्मानसहित तीन लाख ५१ हजार रुपैयाँ र ताम्रपत्र र प्रदान गरिएको थियो।

विसं. २०७३ को राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेताको अवार्ड ‘जात्रा’ फिल्मको लागि विपिन कार्कीले हात पारे। त्यस्तै अभिनेत्रीको अवार्ड ‘डाईङ क्यान्डल’ का लागि सृजना सुब्बाले जितिन्। ‘सेतो सूर्य’ बाट दीपक रौनियारले उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए। ‘कालोपोथी’ उत्कृष्ट फिल्म, कथा मीन भाम र पटकथामा अविनाशविक्रम शाहले अवार्ड थापेका थिए। उत्कृष्ट सम्पादन मित्रदेव गुरुङ (जात्रा) र छायांकन शिवराम श्रेष्ठ (लभ सासा) उत्कृष्ट ठहरिए। आदिवासी, जनजाति तथा मातृभाषी फिल्मतर्फ ‘क्यु प्ह्रो छे’ ले र ‘छक्का पन्जा’ उत्कृष्ट लोकप्रिय फिल्म हुँदै अवार्ड जितेका थिए। त्यस्तै दीर्घ साधना सम्मान अभिनेत्री सुभद्रा अधिकारीलाई तीन लाख ५१ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो।

चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले फिल्म क्षेत्रले देशको कला, संस्कृतिको विकासका लागि काम गर्नुपर्ने बताइन्। ‘फिल्म क्षेत्रले देशको कला र संस्कृतिको विकास र प्रवद्र्धन गर्ने हुँदा यसमा सबैले ध्यान दिनु जरुरी छ। ‘भिजिट नेपाल २०२०’ लाई फिल्मकर्मीहरूले सफल बनाउन आग्रह गर्दछु,’ उनले भनिन्। संचार, सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले फिल्म क्षेत्रको विकासमा जोड दिने प्रतिवद्धता जनाए।

कार्यक्रममा दीपाश्री निरौला, शनि रौनियार, सरोज खनाल, गौरी मल्ल, दिलिप रायमाझी, रेजिना उप्रेती, रमेश उप्रेती, जीतु नेपाल, केदार घिमिरे, यशराज गराच र जयकिशन बस्नेत लगायत कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए। नृत्य निर्देशकहरु बसन्त श्रेष्ठ, राजु शाह, कमल राई र कविराज गहतराज लगायतले नृत्यहरूको कोरियोग्राफी गरेका थिए।

 

प्रकाशित: २९ असार २०७६ ०३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App