७ वैशाख २०८१ शुक्रबार
अर्थ

दूधको अनुदानमा निरन्तरता

धुलिखेलको दुग्ध संकलन केन्द्रमा दूध खन्याउँदै कृषक। तस्बिर : नागरिक

बनेपा – दूध उत्पादन र बजारीकरण सहकारीमा आवद्ध कृषकलाई प्रदेश ३ सरकारले एक करोड ५५ लाख रुपैयाँ प्रतिफलमा आधारित प्रोत्साहन अनुदान (आउटपुट बेस्ड सब्सिडी) वितरण गरेको छ।

‘प्रदेशमातहतका सहकारीले आव ०७४/७५ मा दूध संकलन गरेको आधारमा किसानले नै पाउने गरी आउटपुट बेस्ड सब्सिडी दिएका हौं,’ महाशाखा प्रमुख डा. शरणकुमार पाण्डेले भने, ‘यस वर्ष प्रदेशमा रहेको बजेटबाट दिइएको हुँदा प्रतिलिटर दूधमा ५१ पैसाका दरले अनुदान दिएका हौं।’ चालु वर्षदेखि प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमातहतको पशुपक्षी विकास महाशाखामा प्राप्त आवेदनका आधारमा यस्तो अनुदान दिइएको हो।

प्रतिलिटर दूध अनुदानमा सहभागी हुन चाहने सहकारी विगतभन्दा यस वर्ष बढेको उनको भनाइ छ। ‘एउटा जिल्ला थप भएको र माग गर्ने सहकारीसमेत ३२ वटा बढेर डेढ सय पुगेका छन्। त्यही भएर कूल मागको ५० प्रतिशत दूधलाई आधार मानेर प्रतिलिटर ५१ पैसा अनुदान दिएका हौं,’ पाण्डेले थपे।

महाशाखाले आव ०७४/७५ मा तोकिएका सर्त पूरा गरेका सात जिल्लाका एक सय ५० सहकारीलाई अनुदान पाउन योग्य संस्थाका रुपमा छनौट गरेको हो। यी सहकारीले ६ करोड आठ लाख ८६ हजार लिटर दूधका लागि अनुदान माग गरेका थिए। प्रदेश कृषि मन्त्रालयले मागको आधा अर्थात तीन करोड चार लाख ७८ हजार लिटर दूधलाई मात्रै अनुदान दिएको हो।

‘प्रदेश सरकारले यो अनुदानका लागि डेढ करोडमात्रै बजेट विनियोजन गरेको थियो। त्यही भएर आवेदक सबै सहकारीको मागको आधा परिमाण र प्रतिलिटर ५१ पैसाका दरले वितरण गर्दै कार्यक्रमलाई निरन्तरतामात्रै दिएका हौं। अनुदान रकम थोरै भए पनि दूधको गुणस्तर सुधार्न यसले किसानलाई मद्दत गर्ने ठानेका छौं,’ उनले भने।

चालु वर्ष मागको आधा र रकम पनि आधा हुँदैमा चित्त नदुखाउन पाण्डेले सहकारी र आवद्ध किसानलाई आग्रह गरेका छन्। ‘प्रदेश सरकारका लागि पनि यस्तो अनुदान नौलो र पहिलो थियो। दुग्ध उत्पादक सहकारीलगायत किसान तहबाट धेरै सुझाव आएका छन्। त्यही भएर आव ०७६/७७ का लागि प्रदेश सरकारले १२ करोडको बजेट विनियोजन गरेको छ। आगामी वर्ष १२ करोड लिटरसम्मलाई प्रतिलिटर एक रुपैयाँ नै अनुदान दिन  सक्छौं,’ उनले भने।

यस वर्ष प्रदेश ३ अन्तर्गत चितवनका ७४, मकवानपुरका २७, काभ्रेपलाञ्चोकका २२, सिन्धुपाल्चोकका दुई, धादिङ र नुवाकोटका एक–एक दुग्ध उत्पादक सहकारीले अनुदान पाएका हुन्। दूध उत्पादनमा संलग्न किसानलाई दूध उत्पादन र बजारीकरणमा प्रोत्साहनका लागि आव ०७२/७३ देखि प्रतिलिटर दूधमा एक रुपैयाँ थपिदिने कार्यक्रम ल्याइएको हो। विगतमा संघीय पशु सेवा विभागअन्तर्गत पशु उत्पादन निर्देशनालय, केन्द्रीय गाईभैंसी प्रवद्र्धन कार्यालयले यो अनुदान वितरण गर्दै आएको थियो।

काभ्रेपलाञ्चोकमा भने २२ दुग्ध उत्पादक सहकारीले प्रदेश सरकारबाट पहिलोपटक अनुदान पाएका छन्। काभ्रेका १३ स्थानीय तहमध्ये मण्डनदेउपुर, धुलिखेल, पाँचखाल र पनौती नगरपालिकामा रहेका सहकारीले मात्रै यो अनुदान पाएका छन्। अघिल्लो वर्ष संघबाट अनुदान पाउँदा सहकारीको संख्या १९ र त्यसअघि १२ वटामात्रै थियो।

‘दूध उत्पादक कृषक सहकारीमा आवद्ध भएको हुनुपर्ने र सहकारीले दैनिक न्यूनतम तीन सय लिटर दूध र बिहान बेलुकी नै संकलन गरेको हुनुपर्ने सर्त राखिएको थियो। यस्तै, वार्षिक लेखा परीक्षणलगायत सुशासनमा सबल हुनुपर्नेजस्ता सर्त पूरा गरेका सहकारीमात्रै छनौट भएका हुन्,’ भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयका प्रमुख डा. मोगलप्रसाद शाहले भने।

काभ्रेका लागि २१ लाख ५० हजार अनुदान निकासा भएर सहकारीलाई प्रदान गरिसकिएको छ। जसमा मण्डन–देउपुर नगरपालिकाका ११ सहकारीले नौ लाख ४४ हजार, धुलिखेलका तीन सहकारीले ६ लाख ३२ हजार, पाँचखालका ६ सहकारीले चार लाख ८२ हजार र पनौतीको एउटा सहकारीले ३९ हजार सात सय ८७ रुपैयाँ अनुदान पाएकोे छ।

साविकको रबिओपी गाविस (हाल धुलिखेल–२)को सेतीदेवी दुग्ध सहकारीले जिल्लाभरमै सबैभन्दा बढी चार लाख ६ हजार रुपैयाँ पाएको छ। अघिल्लो वर्ष पनि यसै सहकारीले सबैभन्दा बढी रकम अनुदान पाएको थियो। काभ्रेमा जिल्लास्तरिय दुग्ध उत्पादक सहकारी संघ एउटासहित दुई सय ७२ दुग्ध उत्पादक सहकारी संस्था क्रियाशील रहेका छन्। सबै सहकारीलाई काभ्रेका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले प्रदेशबाट प्राप्त रकम हस्तान्तरण गरेका छन्।

काभ्रे जिल्लाभरका चार सयवटा दुग्ध संकलन केन्द्रबाट दैनिक तीन लाख लिटर अप्रशोधित दूध संकलन हुने गरेको छ। पशु सेवा विज्ञ केन्द्रका अनुसार आव ०७४/७५ मा एक लाख ३२ हजार पाँच सय मेट्रिक टन दूध उत्पादन भएको थियो। यसरी उत्पादित दूधमध्ये ८० प्रतिशत दूध दैनिक काठमाडौं उपत्यकामा जाने गरेको छ। पछिल्लो समय काभ्रेमै स्थापना भएका दुग्ध उद्योगमै प्रशोधन भएर दूधका विभिन्न उत्पादन पनि बजारमा जाने गरेको छ।

काभ्रेमा प्रतिव्यक्ति/प्रतिवर्ष दूध उपलब्धता ३३१.३० लिटर पुगेबापत मुलुककै पहिलो दुग्ध आत्मनिर्भर जिल्ला घोषणा भइसकेको छ। विश्व खाद्य संगठनको मापदण्डअनुसार यो उपलब्धता प्रतिव्यक्ति/प्रतिवर्ष ९१ लिटर हुनुपर्ने रहेकामा काभ्रेले करिब चार गुणाभन्दा बढी उपलब्धता हासिल गरिसकेको छ।

दुई सहकारीलाई मिल्क एनालाइजर
किसानले सहकारीसम्म ल्याएको दूधको अवस्था जाँच्नका लागि प्रदेश कृषि मन्त्रालयले काभ्रेपलाञ्चोकका दुईवटा दुग्ध उत्पादक सहकारी संस्थालाई मिल्क एनालाइजर मेसिन अनुदानमा उपलब्ध गराएको छ। अप्रशोधित दूधको शुद्धता, फ्याट, एसएनएफसमेत जाँच्नका लागि अधिकांश सहकारीले कम्प्युटराइज्ड मिल्क एनालाइजरको प्रयोग गर्दै आएका छन्। प्रदेशको चालु बजेटबाट यस्तो एनालाइजर पाउनेमा पाँचखाल–१ स्थित अनैकोट दुग्ध उत्पादक सहकारी र धुलिखेल–११ स्थित कालीदेवी दुग्ध उत्पादक सहकारी संस्था रहेका छन्। मिल्क एनालइजर एक सेटको तीन लाख रुपैयाँ पर्ने विज्ञ केन्द्रले जनाएको छ।

व्यास नगरपालिकाले पनि अनुदान दिने
तनहुँको व्यास नगरपालिकाले कृषकलाई दूधमा प्रतिलिटिर एक रूपैयाँ अनुदान दिने भएको छ। नगरक्षेत्रभित्र रहेका दुग्ध सहकारीमार्फत बिक्री हुने दूधमा प्रतिलिटर एक रूपैयाँ कृषकलाई अनुदान दिने प्रस्ताव नगरपालिकाले पारित गरेको छ।

नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि पारित गरेको नीति तथा कार्यक्रममा सहकारीमार्फत बिक्री हुने दूधमा अनुदान दिने जनाइएको छ। कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले कार्यविधि बनाई अनुदान उपलब्ध गराइने नगरपालिकाका उपप्रमुख मीरा जोशीले जानकारी दिइन्। दूधमा अनुदान दिनका लागि नगरपालिकाले आगामी वर्ष १० लाख विनियोजन गरेको छ।

उपप्रमुख जोशीका अनुसार सहकारीमार्फत बिक्री हुने खसीबोकामा कृषकलाई १० रुपैयाँ अनुदान दिइनेछ जसका लागि नगरपालिकाले पाँच लाख बजेट विनियोजन गरेको छ।

कृषि व्यवसायसँग सम्बन्धित पशु, फलफूल, तरकारी, माछा, पक्षी आदिमा गत वर्ष लिइएको स्थानीय उत्पादन विकास शुल्क आगामी वर्षदेखि खारेज गरिएको छ। व्यावसायिक बाख्रापालन, माछापालन, स्थानीय जातको सुँगुर, कुखुरा, गाईभैंसीपालन र व्यवस्थापन कार्यक्रममा प्रोत्साहन गर्ने नीति अवलम्बन गरिएको जोशीले जानकारी दिइन्।

उनका अनुसार बजार क्षेत्रमा व्यवस्थित बधशाला सञ्चालन गरी स्वास्थ्यवद्र्धक मासु पसल व्यवस्थापन गर्न प्रोत्साहन एवं नियमन कार्यलाई प्रभावकारी बनाइनेछ।

दूध निर्यात गर्दै बागलुङ
बागलुङ जिल्ला दूधमा आत्मनिर्भर भएसँगै त्यसको निर्यातसमेत हुन थालेको छ। बागलुङमा खपत हुने दूध भन्दा उत्पादन धेरै हुन थालेपछि निर्यात थालिएको हो।

आर्थिक वर्ष २०७५/७६ मा बागलुङबाट चार करोड ३७ लाख ७० हजार रुपैयाँबराबरको दूध निर्यात भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ।

बागलुङमा निर्वाहमुखी पशुपालन घटे पनि व्यावसायिक रूपमा दूध उत्पादन गर्ने किसान वृद्धि हुनु तथा पशुमा कृत्रिम गर्भाधानका कारण दूध उत्पादनमा वृद्धि भएको हो। बागलुङमा दैनिक ६६ हजार नौ सय ६९ लिटर दूध आवश्यक पर्ने भए पनि ६८ हजार चार सय ६८ लिटर उत्पादन भएका कारण निर्यात गर्न थालेको वरिष्ठ पशु विकास अधिकृत डा नारायणप्रसाद शर्माले जानकारी दिए।

शर्माका अनुसार दैनिक एक हजार पाँच सय लिटर हाराहारी दूध बाहिर निर्यात भइरहेको छ। गाईवस्तुको उचित स्याहारसुसार, आहारामा सुधार र दूध उत्पादनमा युवा कृषकको आकर्षणले उत्पादन वृद्धि भएको छ,’ शर्माले भने, ‘दूधको खपतभन्दा दैनिक उत्पादन बढी भएका कारण छिमेकी जिल्ला पर्वत तथा गुल्मीमा दूध निर्यात हुँदै आएको छ।’

जिल्लाको दक्षिण क्षेत्र बलेवा, जैमिनी, कुश्मिशेरा, बिनामारेलगायत क्षेत्रमा उत्पादन हुने झन्डै एक हजार लिटर दूध सोझै पर्वत सदरमुकाम निर्यात हुने गरेको छ। पश्चिम क्षेत्र बूर्तिवाङ तथा खर्वाङमा दैनिक उत्पादन हुने करिब पाँच सय लिटर दूध गुल्मीको वामीटक्सारमा निर्यात भएको शर्माले जानकारी दिए।

एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध आवश्यक हुने तर बागलुङमा एक व्यक्तिलाई ९३ लिटर दूध उत्पादन भएको पशु प्राविधिक केशव शर्माले बताए। यही अवस्थामा दूध उत्पादन वृद्धि भएमा म्याग्दी तथा पोखरासम्म निर्यात गर्न सकिने पशुसेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ। बागलुङ बजारमा मात्र आवश्यक ५० प्रतिशतभन्दा बढी दूध जिल्लाका सहकारीले उत्पादन गर्दै आएको दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष युक्त कँडेलले बताए। सहकारीमार्फत दूध उत्पादन तथा वितरण गर्दा कृषकलाई आर्थिकरूपमा धेरैं फाइदा हुने भन्दै कृषक सहकारीका माध्यमबाट दूध उत्पादन तथा वितरण गर्न प्रोत्साहित भएको कँडेलको भनाइ थियो।

हाल बागलुङ बजारमा मात्र दैनिक ६ हजार लिटर दूध आवश्यक पर्छ, जसमध्ये दुई हजार पाँच सय लिटर दूध जिल्ला सहकारी संघमा आबद्ध १३ दुग्ध उत्पादक सहकारीले उत्पादन गरिरहेका छन्। दूध उत्पादनबाट व्यवसायीले मनग्य आम्दानी गर्न थालेपछि विदेश गएर फर्केका युवा पनि गाई, भैंसी फार्म स्थापना गर्न थालेका छन्।

प्रकाशित: २९ असार २०७६ ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App