५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

सोमालिया होटल आक्रमण, २६ को मृत्यु

मोगादिसु – सोमालियाको एउटा होटलमा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक प्रख्यात पत्रकारसहित कैयौं विदेशी नागरिक पनि रहेको अधिकारीले शनिबार जानकारी दिएका छन्। घटनामा परी अन्य ५६ जना घाइते भएका छन्।

देशको दक्षिणी क्षेत्रमा रहेको किस्मायो बन्दरगाहस्थित असासे होटलमा विस्फोटक पदार्थले भरिएको एउटा कारलाई आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताइएको छ। बम विस्फोटमा मारिनेमध्ये प्रख्यात पत्रकार होदान नालेयाह र उनको पतिसमेत रहेको बताइएको छ। मृत्यु भएका मध्ये एकजना स्थानीय राजनीतिकर्मी, तीन केन्याली, एक क्यानेडेली, एक बेलायती, दुई  अमेरिकी र तीन  तान्जानियाली नागरिक रहेका अधिकारीले जनाएका छन्।

देशको दक्षिणी क्षेत्रमा रहेको चर्चित तथा लोकप्रिय होटलमा भएको आक्रमणको जिम्मेवारी इस्लामिक लडाकु समूह अल सबाबले लिएको छ। घटनामा परी दुई जना पत्रकारको मृत्यु भएको पत्रकारसम्बन्धी संगठनले पुष्टि गरेको छ। त्यसैगरी घाइते हुनेमध्ये दुई जना चिनियाँ नागरिक पनि रहेको पत्रकार संगठनका क्षेत्रीय अध्यक्ष अहमद मोहम्मद इस्लामले जानकारी दिए। आक्रमणमा चार जना संलग्न भएको अधिकारीले बताएका छन्। विस्फोटन धेरै ठूलो भएको प्रत्यक्षदर्शीको भनाइ छ।

सोमालियाको जीवन उजागर गर्नका लागि पत्रकार नालेयाहले एउटा सञ्चार मञ्च ‘इन्टिग्रेसन टिभी’ स्थापना गरेकी थिइन्। उनको टेलिभिजन कार्यक्रमका पछिल्ला अंकहरु सोमालियाका महिला उद्यमी र लास एनोड सहरमा गर्नु पर्ने कार्यबारे केन्द्रित थिए।

कसरी आक्रमण भयो ?
आक्रमण सुरु हुँदा होटलभित्र आसन्न क्षेत्रीय निर्वाचनबारे क्षेत्रीय राजनीतिकर्मी र जातीय अगुवाहरु छलफल गरिरहेका थिए। हतियारबद्ध मानिस होटलभित्र पस्नुअघि ठूलो आवाजको विस्फोट सुनेको प्रत्यक्षदर्शीहरुले बिबिसीसँग बताएका छन्।
‘भित्र एकदमै आतंक थियो, मैले घटनास्थलबाट कैयौं शव निकालेको देखें र कैयौं मानिस त नजिकैको भवनहरुबाट भागिरहेको पनि देखें,’ एकजना प्रत्यक्षदर्शी हुसेन मुक्तारले बताएका छन्।

अल–सबाब लडाकु समूहको नियन्त्रणबाट होटललाई मुक्त गराउन अधिकारीहरुलाई कैयौं घण्टा लागेको थियो। बम आक्रमणमा परी २६ जनाको मृत्यु भएको र ५०  जनाभन्दा बढी घाइते भएको क्षेत्रीय राष्ट्रपति अहमद मोहम्मदले पुष्टि गरेका छन्। उनका अनुसार सुरक्षा कारबाहीमा चारजना आक्रमणकारी पनि मारिएका छन्।

को हुन् मारिने पत्रकार नालेयाह ?
मारिनेमध्ये ४३ वर्षीया प्रख्यात पत्रकार होदान नालेयाह र उनको पति फारिद पनि रहेको स्थानीय सञ्चारमाध्यम एवं सोमाली पत्रकार संगठनले जनाएका छन्।
सोमालियाको जीवन उजागर गर्नका लागि पत्रकार नालेयाहले एउटा सञ्चार मञ्च ‘इन्टिग्रेसन टिभी’ स्थापना गरेकी थिइन्। उनको टेलिभिजन कार्यक्रमका पछिल्ला अंकहरु सोमालियाका महिला उद्यमी र लास एनोड सहरमा गर्नु पर्ने कार्यबारे केन्द्रित थिए।

छ वर्षको हुँदा पत्रकार नालेयाह आफ्ना परिवारका अन्य सदस्यसहित क्यानडा बसाइँ सरेकी थिइन्। पछि क्यानडामा रहेका सोमालिया समुदायका बीच उनी चर्चित अनुहार बन्न पुगिन्। क्यानडामै नाम बनाइसकेकी भए पनि दुई सन्तानकी आमा नालेयाह पछिल्लो समय सोमालियामा नै बस्ने गरेकी थिइन्।

बम आक्रमणमा परेर उनको मृत्यु भएको समाचार बाहिरिएलगत्तै विश्वभरबाट उनीप्रति श्रद्धाञ्जी व्यक्त भइरहेका छन्। बिबिसीका पत्रकार फरहान जिमालेले उनलाई ‘सुन्दर मन’ भएको व्यक्ति भनेका छन् भने क्यानडाका आप्रवासनसम्बन्धी मन्त्री अहमद हुसेनले उनी ‘कैयौं मानिसको आवाज भएको’ बताएका छन्। सोमाली जर्नालिस्ट सिन्डिकेटले नालेयाहसहित अर्का एक पत्रकार, मोहम्मद ओमार साहेल किस्मायोस्थित सो होटल आक्रमणमा मारिएको बताएको छ। यस वर्ष सोमालियामा पत्रकार मारिएको यो पहिलो घटना भएको पनि उसले दाबी गरेको छ।

सोमालियामा यस्ता खालका आतंकारी आक्रमण हुने बारम्बार हुने गरेका छन्। यद्यपि सन् २०१२ मा किस्मायोबाट अल–सबाब धपाइएपछि भने सो बन्दरगाह तुलनात्मक रूपमा शान्त रहँदै आएको थियो।

अफ्रिकी युनियनको शान्ति सेना र अमेरिकी सेनाद्वारा तालिमप्राप्त सोमाली सेनाको बाक्लो उपस्थिति भए पनि अल–सबाब लडाकु समूहले राजधानी मोगादिसुमा लगातार आक्रमणका घटना घटाउँदै आएको छ। अल–सबाब अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल–कायदासँग सम्बन्धित छ र सोमालियाको ग्रामीण क्षेत्रमा शक्तिशाली उपस्थिति कायम गरेको छ।

प्रकाशित: २९ असार २०७६ ०२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App