८ वैशाख २०८१ शनिबार
विचार

नेपाली मनलाई नमन

साँच्चै विलक्षण छ– नेपाली पन र नेपाली मन। नेपालको भूगोल सानो छ, ठूला मुलुकको तुलनामा। परन्तु संसारका कतिपय ठूला राष्ट्रमा नपाइने विशिष्टता नेपालले पाएको छ। सारांशमा नेपाल विभिन्न विशिष्टताको समिश्रण हो भन्दा अत्युक्ति नहोला। सानो नेपालका नेपालीको मन ठूलो मात्र छैन, धेरै विशाल छ। गत चैत १७ गते साँझ बारा–पर्साका केही क्षेत्रमा भुमरी आयो, झन्झावात् आयो। बाराको फेटा गाउँ त भुमरीको केन्द्र नै बनेछ। सरकारले र सञ्चारमाध्यमहरूले त्यत्रो र त्यस्तो अभूतपूर्व भुमरीलाई न भुमरी भन्न सके न त झन्झावात् नै ! त्यस्तो प्रलयकारी प्रकृतिको प्रहारको नामकरण गर्न इसिमोडको सहयोग र सहअध्ययन रोजियो। सरोकारवालाहरू थलोमै गए। स्थलगत अध्ययनपछि यो प्राकृतिक विपत्ति (टोर्नेडो) भुमरी, झन्झावात् नै हो भन्ने ठहर गरियो।  

यो शब्दचित्र रह्यो, फेटा र प्राभावित ठाउँको। १८/१९ जना मानिसको मृत्यु भयो, टोर्नेडोको विनाशलीलाबाट। ६–७ सय मान्छे आहत भए। स्थानीय सभ्य मानिसले घाइतेहरूलाई यथाशक्य चाँडो अस्पताल पु¥याए। युद्धस्तरमा उद्धार गरे। यो कार्य आफँैमा अद्वितीय रह्यो। यस खालको सहयोगी भावना र उदारता संसारमा सर्वत्र पाइँदैन। साह्रै कम मुलुकमा मात्र पाइन्छ। वस्तुतः यो नेपाली मनको विशिष्ट नेपालीपन हो, तसर्थ ती सम्पूर्ण सरोकारवालालाई सलाम, सहयोगी भावना, अग्र्रसरता र कार्यान्वयनको परम पावन कार्यका लागि। त्यस पुनीत कार्यको जति प्रशंसा गरे पनि कमै हुन्छ, पूर्ण हुने त कुरै भएन।

नेपालमा जुन जाति, धर्म र परिवेशका मानिस भए पनि विपद् परेका बेला एकअर्कालाई हृदयदेखि नै सहयोग गर्न तत्पर हुन्छन्।

प्रकृतिको त्यो निर्मम प्रहारबाट आहत भएका ६ सय ६८ घाइतेलाई यथाशक्य छिटो अस्पताल मात्र पु¥याएनन्, त्यस क्षेत्र र आसपासका जनसमुदायले आवश्यक पर्नेहरूलाई अमूल्य रक्तदान पनि गरे। रक्तदान वास्तवमा जीवनदान नै हो। अत्यधिक रक्तस्रावका कारण मान्छेको मृत्यु नै हुन्छ। तत्काल रगत पाए ज्यान जोगिन्छ, नत्र मरिन्छ। ज्यानमारा आँधीबेहरीबाट आहत भएका धेरैजनालाई रगत दिन जरुरी भो र स्वयंसेवी उपस्थित रक्तदाताका रगत पर्याप्त नभएपछि उद्धारकर्ताहरूले हार्दिक आह्वान गरे– घाइतेहरूलाई बचाउन रगत दिनुहोस्। नभन्दै यति धेरै रक्तदाता तयार भए र दिए पनि। केही क्षणमै रगत पर्याप्त भएछ। आह्वानकर्ता स्वयंसेवीहरूले भो रगत पुग्यो अहिलेलाई भनी कृतज्ञता पनि जाहेर गरे।

यो आह्वानको प्रभाव सुदूरपश्चिमको धनगढीसम्म परेछ। रोटरी क्लब अफ धनगढीले आकस्मिक रूपमा रक्तदान कार्यक्रम आह्वान ग¥यो। ३५ पिन्ट रगत जम्मा भो। बारा–पर्साका प्रचण्ड आँधीबेहरी पीडितहरूका निम्ति रगत पठाए, धनगढी रोटरी क्लबका अध्यक्ष पुष्करराज ओझाले। उनलाई यस्तो अनुपम कामका लागि सलाम ! ठूलो काम गर्नु भो।  यताका र उताका सम्पूर्ण रक्तदातालाई पनि सलाम ! नेपाली संवेदनशीलता कति उच्चस्तरको छ। नेपाली जनता जे  जस्तो आफूसँग छ, त्यो दिन्छन्, आपत्–विपत्मा परेका अर्का नेपालीलाई। यस्तो स्तुत्य परम्परै छ, नेपालीमा।

गत चैत १७ गते मात्र ३ मिनेटको झन्झावात्ले गरेको विध्वंश सम्झँदै पनि आङ सिरिङ हुन्छ। भोग्नेहरूले झन् कसरी भोगे होलान् ? त्यो भयानक प्रकोपले अकल्पनीय विनाश त ग¥यो–ग¥यो, त्यसपछि तत्काल उद्धारमा स्थानीय समुदायले देखाएका अग्रसरताको जति प्रशंसा गरे पनि कम हुन्छ।

२०७२ सालको भूकम्पपीडितहरूका लागि तराईबाट भएको सहयोग पनि उच्च उदारताको नमुनै  थियो। धन छैन धेरैसँग, दिन सक्ैदनन्। तर विशाल मन छ, नेपालीसँग। आफूसँग जे छ, त्यो दिन्छन्। रगत छ नेपालीसँग, त्यो दिए। यो उच्चतम सभ्यताको उत्कृष्ट दृष्टान्त हो। हामी नेपालीबीच जात फरक छ। सबैको एउटै धर्म सम्प्रदाय पनि छैन। पोसाक भिन्न–भिन्न छन्, आकृति–प्रकृति, रङ अलग–अलग छन्। स्वाद एउटै छैन, बाजा, नृत्य, गीत, फाँकी, लय, खानपान विविध छन्। भाषामा व्यापक अन्तर छ। तर छ, पर्दा एकले अर्कालाई रगतसमेत दिएर सघाउने उच्चतम व्यवहार। यसका निम्ति फेरि पनि सलाम !

हुरीबतास होइन, आँधीबेहरी
त्यो साँझ भएको प्रकृतिको निर्मम प्रहारलाई हुरीबतास भनियो। नेपाली शब्दकोशअनुसार बारा र पर्साका केही ठाउँमा अकस्मात् आएको प्रकृतिको वितण्डा हुरीबतास थिएन, त्यो त आँधीबेहरी थियो। त्यो आँधीबेहरी पनि सामान्य थिएन, प्रचण्ड थियो। घटना तहअनुसार नेपाली भाषा पनि शब्दमा धनी छ, सम्पन्न छ। परन्तु १७ चैतको बारा–पार्साको वायुप्रकोप हुरीबतास मात्र होइन, प्रचण्ड आँधीबेहरी हो। १९ चैत मंगलबारको एउटा दैनिकका स्तम्भकार चन्द्रकिशोरले लेखेजस्तो ‘चक्रवात्’ भन्नु बढी सान्दर्भिक होला। पत्रकारले अरूले भनेका भरमा मात्र घटना, दुर्घटना एवं परिघटनाको नाम दिनु गैरपत्रकारिता हुन्छ। कुन अधिकारीले वा कसले हुरीबतास भन्यो, पत्रकार मित्रहरूले त्यही शब्द प्रयोग गरे। यो ठीक होइन, पच्चीसै आना गलत हो। घटना, दुर्घटनाहरूको नाम उसको आयतन, प्रभाव, गम्भीरता, समय, क्षतिका आधारमा गरिन्छ, गर्नैपर्छ भन्ने मान्यता हो मेरो।

खादा लाउन कि उद्धार गर्न ?
प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापाका निर्धारित यावत् कार्यक्रम छाडी विपद्ग्रस्त क्षेत्रमा आएर सहयोग गर्ने जुन आह्वान गर्नु भो तत्कालै, त्यो बुद्धिमत्तापूर्ण निर्णय हो, काम हो। यसका निम्ति उहाँलाई धन्यवाद दिनैपर्छ। यो उताको स्थगन, यताको हाजिरी राजनीतिक निर्णय हो। यसपछिका कुरा यसपछिका सहयोगका ढाँचा र स्तरका आधारमा गर्नु उचित ठान्छु। अर्को घिनलाग्दो कुरा, विपद्ग्रस्त क्षेत्रमा उद्धारका लागि आएका प्रधानमन्त्रीलाई खादा लगाएर सार्वजनिक स्वागत गरिनु मूर्खता मात्र होइन, महामूर्खता हो। प्रधानमन्त्री स्वयंले पनि त्यो खादा ठाडै अस्वीकार गर्नुपथ्र्याे, तर लगाइरहनु भो। प्रधानमन्त्रीको यो खादा प्रेमले झापा भ्रमण खारेज गरी दुर्घटनास्थल आउनुलाई पनि अवमूल्यन ग¥यो। प्रधानमन्त्रीज्यू, तपाईं त्यहाँ खादा लगाइ स्वागत खान आउनुभएको होइन, उद्धार तथा राहतका स्तरीय बन्दोबस्तका लागि निर्देशन दिन आउनुभएको हो, याद रहोस्।

कस्तो सहयोगी भावना ?
चैत १७ गते मात्र ३ मिनेटको झन्झावात्ले गरेको विध्वंश सम्झँदै पनि आङ सिरिङ हुन्छ। भोग्नेहरूले झन् कसरी भोगे होलान्, अनुमान गर्न पनि गाह्रो छ। त्यो भयानक प्रकोपले अकल्पनीय विनाश त ग¥यो–ग¥यो, त्यसपछि तत्काल उद्धारमा स्थानीय समुदाय र समाजले देखाएका अग्रसरताको जति प्रशंसा गरे पनि कम हुन्छ। त्यस्तो अवस्थामा तत्काल उद्धार गर्नु र आवश्यक रगत बन्दोबस्त गर्नु मानव सभ्यताको उत्कृष्ट नमुना हो भन्ने लाग्छ।

नेपाल त्यस्तो देश हो, जहाँ साम्प्रदायिक हिसाबले ठूलो होहल्ला भएको सुनिँदैन। हाम्रै छिमेकमा जातीय संकुचनका कारण ठूलठूला घटना तथा ठूलो जनधन क्षति भएका खबर बेलाबेला सुनिन्छन्। त्यस्तै आफ्नो थातथलो छाडेर लस्करका लस्कर मान्छे शरणार्थी बनेर अरूका देश गएका घटना पनि बेलाबेला हुने गरेका छन्। तर नेपालमा जुन जाति, धर्म र परिवेशका भए पनि विपद् परेका बेला एकअर्कालाई हृदयदेखि नै सहयोग गर्न तत्पर हुन्छन्। जुन कुरा २०७५ चैत १७ गते बारा–पर्सामा आएको झन्झावात्का बेला गरेको सहयोगले पनि सिद्ध गर्छ। यी सम्पूर्ण प्रयासको अन्तर्हृदयदेखि प्रशंसा गर्न मन लाग्छ, नमन गर्न मन लाग्छ।

प्रकाशित: २९ असार २०७६ ०२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App