भर्खरै रोपिएका धानका बोटका कारण सबैतिर हरियाली छाउने महिना हो– साउन। धानका कारण मात्र हैन, बोबिरुवा, तरकारी, फलफूल आदिका कारण पनि यतिबेला हाम्रा फाँटदेखि डाँडाकाँडासम्म हरिया भएका हुन्छन्। साउन हरियालीका कारण मात्र होइन, खासमा यही महिनाबाट हिन्दुको चाडपर्व पनि सुरु हुने भएकाले महत्वपूर्ण हुन्छ।
मेहन्दी लगाउने, रातो र अझ खासगरी हरियो, पहेँलो चुरा÷पोते लगाउने साउनमा विशेषतः महिला प्रत्येक सोमबार शिव भगवान्को व्रत बसी आराधना र पूजापाठ पनि गर्ने गर्छन्। त्यसैले शिवभक्तका लागि साउन र अझ त्यसमा सोमबारको महिमा निकै हुन्छ। साउनमा शिव आराधनाको महŒव कति छ भन्ने कुरा उनी स्वयंले नारदलाई बताएको पढ्न÷सुन्न पाइन्छ।
साउनमा सूर्य कर्कट हँुदै सिंह राशिमा प्रवेश गर्छ। साथै यो समयलाई साह्रै उत्तम र शुभ मानिन्छ। त्यसैले भगवान् शिवलाई पनि साउन अति प्रिय लाग्छ। सबैको प्यारो साउन देवलोकदेखि यमलोकसम्म यही कारण स्तुत्य छ। अर्कातर्फ व्रत, तीर्थ, चाडपर्व सबै सुरु हुने भएकाले पनि खासगरी महिलाले निकै मन पराएको देखिन्छ, साउन महिना। त्यसैले उनीहरू साउनमा रातो, हरियो, पहेँलो कपडा तथा चुरा÷पोते तथा धागोमा रमाउँछन्। र, घर–घरमा खुसियाली मनाउँछन्, गच्छेअनुसार।
सरकारले भित्रैदेखि संवेदनशील भएर आफ्ना सारा संयन्त्र परिचालन गर्ने हो भने अपराधी फेला नपर्ने कुरै छैन । कम्तीमा घटनाको १ वर्ष पुगेका बेला पारेर नै किन नहोस्, सरकारले असली अपराधी पत्ता लागेको घोषणा गर्न सक्यो भने यतिबेला निर्मलाका निम्ति यो नै ठूलो न्याय हुनेछ ।
चिन्ता निर्मलाको
यति रमाइलो साउन आउनै लागेको छ। अर्थात् भनौँ आगमनको पूर्वसन्ध्यामा छ। त्यसैले अरूजस्तै मलाई पनि खुसी तुल्याउनुपर्ने हो, साउनले। तर यसपटक मन खुसी छैन। कारण– मेरो नजरमा तिनै निर्मला पन्त झलझली आइरहेकी छन्, जसको बलात्कारपछि हत्या भएको आउने साउनमा १ वर्ष पुग्छ।
साथीको घरमा पढ्न गएर आफ्नो घर फर्कँदै गर्दा उनी बलात्कृत भइन्। त्यतिले पनि नपुगेर ती अबोध बालिकालाई हत्या गरे नरपिचासले। के गल्ती थियो, ती बालिकाको ? के अपराध गरेकी थिइन्, उनले ? छोरी भएर जन्मनु नै उनको गल्ती थियो वा शारीरिक रूपमा कमजोर हुनु नै उनको कमजोरी थियो ? यस्ता प्रश्न अहिले पनि अनुत्तरित नै छन्।
ती बच्चीलाई आफूलाई बलात्कारीबाट जोगाउन खोज्दा कति पीडा भएको थियो होला ? झन् मार्नै अघि सर्दा त के हालत भयो होला ? कल्पना मात्र गर्दा पनि आङ नै सिरिङ भएर आउँछ। यो घटनाले एउटी बालिका, एउटी महिला बलात्कृत भइन् र मारिइन्समेत भन्ने मात्र हैन, हाम्रो समाज कता गइरहेको छ वा हामी किन विकृत गन्तव्यतर्फ आकर्षित भइरहेका छौँ भन्ने चिन्ता पनि बढाइरहेको छ।
बुझ्न नसकिएको रहस्य
सरकारका तर्फबाट निर्मला काण्ड छानबिन गर्न टोली गठन भयो। भिआइपीको बैठक बस्यो। घटनास्थल निरीक्षण भयो। प्रहरी प्रमुख, नेता–मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले अपराधी छिटै पत्ता लगाउने आश्वासन दिए। तर महिना, ४५ दिन, ६ महिना, ९ महिना भन्दाभन्दै आज १ वर्ष बित्यो। उफ्... कति खेलबाड गरेको ?
सरकार आफैँ बलात्कारी हो ? कि यसमा सुरक्षा निकायमा आबद्धहरूकै संलग्नता छ ? हैन भने सिंगो राष्ट्र लाग्दा पनि किन अझै समातिन सकेनन्, अपराधी ? यसले रक्षक नै भक्षक भन्ने सन्देश फैलिइरहेको छ र सरकारले स्पष्ट पार्न सकिरहेको छैन। अर्कातर्फ यो घटनाले मुलुकको न्याय प्रणालीलाई मात्र गिज्याएको छैन, सिंगो सुरक्षा संयन्त्रको हैसियतमा पनि प्रश्न उठाइरहेको छ।
घटना भएको १ वर्ष पुग्दासम्म किन पीडक समातिँदैन ? उनी त मारिइन्–मारिइन्, तर अपराधीले सजाय पाउनु पर्दैन ? यस्ता घटना गराउन दाउ हेरिरहेकालाई ठेगान लगाउन पनि अपराधीलाई सजायको दायरमा ल्याउन आवश्यक थियो, तर सरकार चुकिरहेको छ। जसले राष्ट्रको अभिभावकत्व क्षमतामै औँला उठाइरहेको छ।
सवाल निर्मलाको मात्र हैन, रौतहटको होटलमा लगातार ३ दिनदेखि बलात्कृत बालिकाको आँसुले पोल्छ कि पोल्दैन भन्ने पनि हो। सवाल बलात्कृत हुन बाध्य ज्येष्ठ नागरिकको पनि हो। अनि सवाल, उखुबारीमा १०–१२ जनाबाट अस्मिता लुटिएकी विवाहित महिलाको पनि हो। र, त्यस्ता कुकर्ममा संलग्न यौनपिपासुहरूलाई कारबाही हुने कि नहुने भन्ने पनि हो।
प्रसंग सुर्खेतको
केही समयअघि सुर्खेत पुगेकी थिएँ, काम विशेषले। जहाजमा भेट भएकाहरू कुराकानीका क्रममा भन्दै थिए– ‘चेलीबेटीसम्बन्धी काम गर्छौँ। त्यही कार्यक्रममा भाग लिन जान लागेको।’ बसेको होटल परिसरमा भेट भएकाहरू भन्थे– ‘महिला हिंसाविरुद्ध काम गर्छौँ। त्यही कार्यक्रममा भाग लिन आएको।’ थप कुराकानीका क्रममा थाहा भयो– मध्यपश्चिममा जहाज र महँगा होटल चल्ने मुख्य आधार नै गैरसरकारी संस्थाका कर्मचारी रहेछन्। अनि यिनैले गर्ने कार्यक्रममा आउनेहरू रहेछन्।
अनि यो पनि थाहा भयो– गैरसरकारी संस्थामध्ये पनि महिला हिंसा, महिला अधिकार, चेलीबेटी बेचबिखनजस्ता महिला जोडिएका विषयमा काम गर्छौँ भन्ने धेरै रहेछन्। यो थाहा पाएपछि मनमा खुल्दुली लाग्यो– महिला सुरक्षा र अधिकारसम्बन्धी काम गर्ने यति धेरै संस्था हुँदा पनि किन महिला बलात्कृत भइरहेका छन् ? किन उनीहरू बेचिने क्रम रोकिँदैन ? किन महिलाले अधिकार पाइरहेका छैनन् ? तर मेरा प्रश्नका उत्तर सुर्खेतवासी त के, सिंहदरबारबासीले पनि आजसम्म दिन सकेका छैनन्।
सरकारले त एउटी बालिकाको बलात्कारपछि हत्या हुँदा १ वर्षसम्म अपराधी पत्ता लगाउन सक्दैन भने केही गैरसरकारी संस्थाले मुलुकभरका अधिकारबाट वञ्चित महिलालाई अधिकार दिलाउन सक्ला ? आफ्नै देशका महिलाको नकारात्मक चित्रणसहित प्रतिवेदन तयार पारेर विश्वका दाता राष्ट्रमा पठाउँदैमा नेपाललाई फाइदा होला ? लाखौँ रुपियाँ खर्चिएर बनाइने त्यस्ता प्रतिवेदनको प्रयोजन के होला र विदेश पठाइने ती प्रतिवेदनले हाम्रा लागि के योगदान पु¥याउलान् ? होटलको झ्यालबाट पार्किङस्थलमा राखिएका थुप्रै गैरसरकारी संस्थाका महँगा गाडी हेर्दै प्रश्न गर्न मन लाग्यो।
अबको अपेक्षा
पीडित सधैँ पीडामै छ। उसका लागि न सरकार छ न गैरसरकारी संस्था ! गैरसरकारी संस्थाहरूले दाबी गरेअनुसार वा आफ्ना प्रतिवेदनमा उल्लेख गरेअनुसार हुने भए आजसम्म मुलुकमा दुःखी प्राणी सायदै बाँकी रहन्थे। त्यसैले कामभन्दा हल्ला बढी गर्ने संस्थाका कारण पनि मुलुकले दुःख पाइरहेको छ भन्ने बुझ्न आवश्यक छ।
भनाइको मतलब, यतिखेर मुलुकमा दुईतिहाइ समर्थन प्राप्त सरकार छ। चाह्यो भने र इच्छाशक्ति हुने हो भने उसले नै सबै समस्या समाधान गर्न सक्छ। यस्तो अवस्थामा सरकार स्वयं सक्रिय हुन जरुरी छ। जहाँसम्म निर्मला बलात्कार÷हत्या घटना छ, सरकारले भित्रैदेखि संवेदनशील भएर आफ्ना सारा संयन्त्र परिचालन गर्ने हो भने अपराधी फेला नपर्ने कुरै छैन। कम्तीमा घटनाको १ वर्ष पुगेका बेला पारेर नै किन नहोस्, सरकारले असली अपराधी पत्ता लागेको घोषणा गर्न सक्यो भने यतिबेला निर्मलाका निम्ति यो नै ठूलो न्याय हुनेछ।
यसो हुन सके मात्र २०७६ को साउन सबै महिलाका लागि सुखमय र हर्षोल्लासपूर्ण हुन सक्नेछ। निर्मलाका हत्यारा खुलेआम छाडेर आउने साउनको कुनै महŒव र अर्थ रहने छैन। न त हिन्दु महिलाकै मुहारमा बहार ल्याउन सक्षम हुनेछ।
प्रकाशित: २९ असार २०७६ ०२:१९ आइतबार