८ वैशाख २०८१ शनिबार
समाज

जताततै कान्ले पहिरोको जोखिम

खोटाङ – भारी वर्षाका कारण खोटाङमा दर्जनौं घर–पहिरोको जोखिममा परेका छन्। ससाना कान्ले पहिरोका कारण हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र राजापानी वडा कार्यालयमा क्षति पुगेको छ। महादेवस्थान वडा कार्यालयअगाडिको जग पहिरोले भासिएको र राजापानी वडा कार्यालयलाई माथिबाट खसेको कान्ले पहिरोले क्षति पु¥याएको मेयर इवन राईले बताए। भित्ता खस्दा हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित शान्ति आधारभूत विद्यालयको प्रशासन कक्षमा क्षति पुगेको हो।

हलेसी तुवाचुङ नगरपालिकाकै जयराममा चार, हलेसीमा चार, दुर्छिममा चार, डिकुवामा तीन, अर्खौलेको नवलपुरमा एक र सल्लेमा एक घरमा क्षति पुगेको मेयर राईले बताए। ‘ठूलो पहिरोभन्दा पनि कान्ले पहिरो र तलबाट तान्ने पहिरोले बढी समस्या सिर्जना गरेको छ,’ राईले भने, ‘बाढी–पहिरोले जनको क्षति नभए पनि धनको ठूलो क्षति पु¥याइरहेको छ।’

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका सन्तोष बस्नेत विस्थापित भएका छन्। विस्थापितलाई रेडक्रस र नगरपालिकाले त्रिपाललगायत अस्थायी आवास सहयोग गरेको मेयर दीपनारायण रिजालले बताए। खसेका भित्ताले दिक्तेलकै कविराज रिजाल र सविन पाण्डेको ग्यारेज तथा ग्यारेजमा भएका उपकरण पुर्दा २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। पहिरोले दिक्तेलकै भवकृष्ण ढकाल, हरि लुइटेललगायत स्थानीयको घर जोखिममा परेको छ। जोखिममा परेका स्थानीयलाई सयको हाराहारीमा त्रिपाल प्रदान गरिएको मेयर रिजालले बताए।

यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिका छोरम्बुका सुवास राईको गोठसँगै चारवटा चौपाया बगाएको छ। पहिरोले पुर्दा सोही गाउँपालिका–४ बतासेका राजेन्द्र राई विस्थापित भएका छन्। साकेला गाउँपालिकाको खिदिमामा एक घर जोखिममा परेको छ। यस्तै बराहपोखरी गाउँपालिका–४ फाक्टाङका बिन्दा राईको घर पहिरोको जोखिममा परेको गाउँपालिकाले जनाएको छ। खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा एक घर विस्थापित भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए। ‘कान्ला खसेर बारी पुरेको, ढिस्को खसेको, कोदोबारी पुरिएको खबर आइरहेको छ,’ डिएसपी गौतमले भने, ‘अन्य ठूलो क्षतिको भने जानकारीमा आएको छैन।’ जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खु शिवालयका योगिन्द्र विष्ट, रमेश विष्ट, दुर्गाबहादुर विष्ट र सुरेन्द्र राई पनि पहिरोका कारण विस्थापित भएका छन्।

प्रकाशित: २९ असार २०७६ ०२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App