७ वैशाख २०८१ शुक्रबार
समाज

चक्रपथ सरसफाइको सय साता

काठमाडौं – उपत्यकाको चक्रपथ क्षेत्रमा सरसफाई अभियान चलाउँदै आएको ‘चक्रपथ सफाइ अभियान’ले औपचारिक रुपमा सरसफाइ थालेको सय साता पुरा गरेको छ। सय सातामा गरिएको सरसफाइका क्रममा २ सय ७८ ट्रक फोहर उठाइएको अभियानले जनाएको छ।

सय साता पुगेको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै चक्रपथ सफाइ अभियानका संयोजक ताराबहादुर कुँवरले २०५० सालदेखि नै सहर सरसफाइ अभियानमा जुटेको बताए। ‘२०÷२५ वर्षअघि उपत्यकाका चारैतिर जंगल र खाली जमिन मात्रै थियो, मानिसहरू त्यतिबेला मरेका पशुचौपाया ल्याएर सडक र खाली जमिनमा फाल्थे, त्यो अवस्था देखेपछि मैले सफाई अभियान थालेको हुँ,’ उनले सुनाए। उनका अनुसार करिब २० वर्षसम्म केही व्यक्तिहरुको सक्रियता मात्रै रहेको चक्रपथ सफाई अभियानलाई २०७१ सालपछि धेरै संघसंस्था, क्लब, समाजसेवी र स्थानीयवासीले साथ दिएका थिए। सफाइ अभियानकै कारण सहरवासी र बटुवाले चक्रपथ क्षेत्रमा फोहरका डंगुर देख्न परेको छैन। यद्यपी सफा गरेको ठाउँमा फोहर फाल्ने प्रवृत्ती नहटेको कुवँरले बताए।

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले उपत्यकाको फोहर व्यवस्थापन गर्ने विषय सधैं त्रुटीपूर्ण हुने गरेको जानकारी दिए। उनले आज भन्दा ४०÷५० वर्ष पहिले काठमाडौं उपत्यकाको हराभर दृश्य सम्झँदा अहिले सपनाजस्तै लाग्ने बताए। ‘काठमाडौं छोटो समयमै कंक्रिटको सहर बन्यो। धेरै विकृति फैलिए। सहर बसाल्दा यहाँका आधारभूत पक्षमा हेक्का नराखिँदा काठमाडौं वातावरणीय मापदण्ड बाहिर गएको छ,’ उनले भने। नेता खनालले चक्रपथ क्षेत्रको सरसफाइबाट सिक्दै उपत्यकाका भित्री सहर र चोकलाई सफा राख्नका लागि सहरवासी एकजुट हुनुपर्ने बताए। कार्यक्रममा सरसफाइ अभियानलाई सघाउँदै आएका समाजसेवी, सञ्चारकर्मी, यातायातकर्मी, व्यवसायीलगायतलाई सम्मानपत्र प्रदान गरिएको थियो।

प्रकाशित: २९ असार २०७६ ०२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App