७ वैशाख २०८१ शुक्रबार
समाज

जलमग्न वीरगन्ज, ढुवानी ठप्प

वीरगन्ज रानीघाट जिल्ला प्रसाशन कार्यालय आसपासको डुबान।

वीरगन्ज - आर्थिक तथा व्यापारिक नगरी वीरगन्ज जलमग्न बन्दा करोडौंको क्षति पुग्नुका साथै जनजीवन अस्तव्यस्त बन्न पुगेको छ। मुख्यबजार आदर्शनगरमा चार फिटसम्म पानी जमेको छ। लगातारको पानी र सिर्सिया नदीको बढीका कारण मुलुकका धेरै स्थानमा आवश्यक सामग्री ढुवानी गर्ने विभिन्न व्यवसायिक फर्म चपेटामा परेका छन्।

सहरका अन्य भाग पनि डुबानमा परेका छन्। आदर्शनगरमा प्रकृतिक बहाव पुरेर बनाइएको साँघुरो नालाले पानी तान्न नसक्दा डुबानको समस्या बिकराल बनेको स्थानीयको बुझाइ छ। व्यापारीले मौसमसँगै उपमाहानगरपालिका कार्यालय र मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजना’लाई बढी जिम्मेवार मानेका छन्। ‘मेरो घर र सटरमा बितेका वर्षमा कहिल्लै पनि पानी पसेको थिएन,’ आदर्शनगरका विकास अग्रवालले भने, ‘यसपालि पानी पस्यो, धेरै क्षति भयो।’ ‘सिर्सिया नदीको बाढीले ठूलो क्षति गरेको छ,’ आदर्शनगर क्षेत्रको सामुदायिक संस्था ग्रिन सिटीका अध्यक्ष प्रकाश खेतानले नागरिकसँग भने, ‘पसल, व्यापारिक प्रतिष्ठान, गोदाम र ट्रान्सपोर्ट गरी करिब २ सय ५० भन्दा बढी फर्ममा बाढीले क्षति पुर्याएको छ।’

बुधबारदेखि परेको अबिरल वर्षाका कारण मुख्य आर्थिक कारोबार हुने आदर्शनगरका व्यापारिक प्रतिष्ठान, गोदाम तथा पसलमा करोडौं मूल्य बराबरका सामान नष्ट भएको हो। यहाँका ट्रान्सपोर्टको गतिविधि रोकिएको छ। आदर्शनगरमा सवारी आवागमन रोकिएको छ। सवारी चल्दा जमेको पसलतिर धकलिँदा थप नोक्सानी भइरहेकाले आवागमन रोकिएको खेतानले बताए। सवारी प्रवेश रोक्न व्यापारीले प्रहरी गुहारेका थिए। रानीघाट, घडिअर्वा, श्रीपुर, राधेमाईमा पानीको स्तर बढी छ। त्यहाँ फिटसम्म पानी जमेको स्थानीयले बताएका छन्।

पानी ट्यांकी, मूर्ली, भिस्वा, नगवा, छप्कैया, बेल्वा, लाल पर्सालगायतका ठाउँमा बाढीको मार बढी परेको छ। कतिपय ठाउँमा खानेपानी र खाना अभाव भएको छ। खाना पकाउने ठाउँ नहुँदा र हाते धारा डुबानमा पर्दा यस्तो समस्या भएको रानीघाटका आँसु सर्राफले बताए। नयाँ बनाइएको नाला र ढलको डिजाइन नै यहाँको भौगोलिक बनाबटसँग बेमेल भएर समस्या भएको नगरबासीको बुझाइ छ।

प्रकाशित: २९ असार २०७६ ०१:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App