coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डुबानले दर्जनौं गाउँको सम्पर्क बिच्छेद

अविरल वर्षाका कारण डुबानमा परेको सर्लाहीका दृष्य। तस्बिर : टंक/नागरिक

सर्लाही - अविरल वर्षाका कारण सर्लाहीका सयौं घर डुबानमा परेका छन्। घर डुबानमा परेपछि बिचल्लीमा परेका सयौं सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए। डुबानबाट दर्जनौं घरमा क्षति पुगेको छ। झीम खोलाले बाँध फुटाएपछि सदरमुकाम मलंगवासहित दक्षिण–पूर्वी क्षेत्रका आधा दर्जन गाउँ डुबानमा परेका छन्। सदरमुकाम मलंगवा, ब्रम्हपुरी, पर्सालगायत स्थानीय तहका दर्जनौं गाउँ नै डुबानमा परेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए।

झिम खोलाले सदरमुकाम मलंगवासहित दक्षिण–पूर्वी गाउँ तथा मनुष्मारा खोलाले दक्षिण–पश्चिम गाउँ डुबान

त्यस्तै मनुष्मारा खोलामा आएको बाढीले दक्षिण–पश्चिम क्षेत्रका धनकौल, महिनाथपुर, ढापटोल, छटौल, वैरिया, हरकठवा, भवानीपुर, हिरापुरलगायत दुइ दर्जन बढी गाउँ डुबानमा पारेको छ। घर डुबानमा परेपछि सयौं सर्वसाधारण अग्लो पक्की घर तथा अग्लो स्थानमा रहेको सडकमा बसिरहेका छन्। प्रायः गाउँको चारैतर्फ ५ फिटभन्दा बढी पानी जमेका कारण उद्धारमा समेत समस्या भइरहेको प्रजिअ राउतले बताए। उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा लागिरहेको उनले बताए।

बागमतीको बाढी खतराको तहमाथि
सर्लाही र रौतहटको सीमा नदी बागमतीमा पानीका बहाब बढेर खतराको तह नाघेको छ। अविरल वर्षाका कारण जमिनबाट पानीको सतह ६.७५ मिटर गहिराइ हुनुपर्नेमा १० मिटरसम्म पुगेको प्रहरीले जनाएको छ। पानीको मात्रा खतराको सूची नाघेसँगै रातो झण्डा गाडिएको छ। बाढीले खतराको तह नाघेसँगै बागमती सिँचाइ आयोजनाको ब्यारेजको ३० वटै ढोका खालिएको छ।

त्यस्तै बागमती नदीको बाढीले ५ ठाउँमा तटबन्धमा क्षति पु¥याउन सुरु गरेको प्रजिअ राउतले बताए। ‘बलरा नगरपालिकाको १ ठाउँ, रामनगर गाउँपालिकाको २ ठाउँ र धनकौल गाउँपालिकाको २ ठाउँमा बागमतीको बाढीले तटबन्धमा क्षति पु¥याउन सुरु गरेको छ,’ प्रजिअ राउतले भने, ‘बाढी गाउँमा पस्ने खतरा बढेको छ।’
विद्युत्, टेलिफोन तथा इन्टरनेट अवरुद्ध

टेलिकम कार्यालय डुबानमा पर्दा सदरमुकाम मलंगवामा ल्याण्डलाइन टेलिफोन अवरुद्ध बनेको छ। बिहीबार दिउँसैदेखि विद्युत् अवरुद्ध हुँदा मोबाइल, इन्टरनेटलगायत सञ्चार सम्पर्क बिच्छेद भएको छ। बिहीबार बिहानदेखि अवरुद्ध विद्युत् सेवा शनिबार दिउँसोसम्म सञ्चालनमा आउन सकेको छैन। मोबाइल टावरबिहीन छन्। इन्टरनेट सेवा अवरुद्ध छ। दर्जनौं स्थानमा पोल ढलेकाले विद्यु्त सुचारु गर्न समस्या भइरहेको विद्युत् प्राधिकरण लालबन्दीका प्रमुख विजय महतोले जानकारी दिए। पोल ठड्याउने र अन्य मर्मत संभारको काम भइरहेको उल्लेख गर्दै महतोले शनिबार साँझसम्म विद्युत् सुचारु हुने गरी काम भइरहेको जानकारी दिए। मर्मत संभारपश्चात ठाउँठाउँमा भने विद्युत् सुचारु हुन थालेको प्राधिकरणले दाबी गरेको छ।

प्रकाशित: २९ असार २०७६ ०१:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App