८ वैशाख २०८१ शनिबार
समाज

दुई दिनदेखि अवरुद्ध विपी राजमार्ग अझै खुलेन

पहिरोले अवरुद्ध विपी राजमार्ग खुलाउने प्रयास हुँदै ।

सिन्धुली– चार दिनदेखिको अविरल बर्षाका कारण दुई ठूला राजमार्ग अवरुद्ध भएको छ। दुई दिनदेखि नै विपी राजमार्ग र मध्यपहाडी राजमार्ग अवरुद्ध भएको हो। माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

दिनभर खुलाउने प्रयास गरे पनि विपी राजमार्ग खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिए। ‘दिनभरी पहिरो पन्छाउने र राजमार्ग खुलाउने कोसिस गरियो, तर राजमार्गको माथिल्लो बारामा ठुला ठुला ढुङ्गा खसेर अवरुद्ध भएकाले पन्छाउन सकिएन’, उनले भने। विपी राजमार्गको ठाउँठाउँमा पहिरो गएको छ। विपी राजमार्गको खनियाखर्क, माथिल्लो बारा, झागाझोली रातमाटा, नेपालथोक लगायतका स्थानमा माथिबाट ठुलो पहिरो आइ अवरुद्ध भएको छ।

यस्तै मध्यपहाडी राजमार्ग र खुर्कोट मन्थली राजमार्ग समेत अवरुद्ध भएको छ। मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मिखण्ड अन्तर्गत गोलञ्जोर गाउँपालिका वितिजोर खोलाको पुलमा क्षति पुग्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। 

यस्तै खुर्कोट मन्थली सडक खण्ड अन्र्तगत सुनकोसी पुलमा माथिबाट पहिरो खसेपछि पुलमै अवरोध भएकाले सडक अवरुद्ध भएको स्थानियले जनाएका छन्। राजमार्गका ठाउँठाउँमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएपछि पुर्वी तराई सहित विभिन्न जिल्लाका यात्रुहरु अलपत्र परेका छन्। विपी राजमार्ग हुँदै काठमाडौंसहित तराईका विभिन्न जिल्लामा आवातजावत गर्ने यात्रुहरु अलपत्र परेका हुन्। राजमार्ग खुलाउने प्रयास जारी रहे पनि शनिबार खुलाउन नसकिने अवस्था आएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ असार २०७६ १४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App