७ वैशाख २०८१ शुक्रबार
राजनीति

मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

मकवानपुर– बाढी, पहिरोका कारण मृतक र घाइते परिवारलाई प्रदेश नम्बर ३ सरकारले राहत रकम दिने घोषणा गरेको छ। प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको शनिबार हेटौंडामा बसेको बैठकले बाढी, पहिरोका कारण मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो।

समितिका अध्यक्ष एवं मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले राहत रकम दिने घोषणा गरेको हो। त्यस्तै, बाढी र पहिरोमा परी घाईते भएकाहरुको प्रदेश सरकार मातहतका अस्पतालमा निःशुल्क उपचार गर्ने र अन्य अस्पतालमा उपचार गराएमा जनही २५ हजार रुपैयाँसम्म राहत रकम दिने निर्णय गरिएको मुख्यमन्त्री पौडेलले बताए। ‘बाढी र पहिरोबाट घाइते भएकाहरुको प्रदेश सरकार अन्तर्गतका अस्पतालमा निःशुल्क उपचार गर्नेछौ,’ उनले भने, ‘अन्य अस्पतालमा उपचार गराए उपचारको बिलका आधारमा २५ हजार रुपैयाँसम्म उपलब्ध गराइने छ।’

प्रदेश ३ सरकार मातहत विभिन्न जिल्लामा ८ वटा अस्पताल रहेका छन्। बैठकमा सहभागी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले बाढी, पहिरोको पीडामा परेकाहरुलाई राहत उपलब्ध गराउने उदेश्यले राहतको घोषणा गरिएको बताए। बाढी, पहिरोका कारण प्रदेशको जिल्लामध्ये मकवानपुरमा बढी क्षति भएको उनले बताए।

बाढी र पहिरोबाट ३ को मृत्यु, १ को उद्धार

अविरल बर्षापछि आएको बाढी र पहिरोको कारण दुई दिनमा मकवानपुरमा ३ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेहरुमा ईन्द्रसरोवर गाउँपालिका २ की १४ वर्षीया सुष्टी डिम्डुङ्ग, कैलाश गाउँपालिका १० का करिब ५५ वर्षीय सानुकान्छा सुनार र थाहा नगरपालिका ३ की १४ वर्षीया छोरी सन्तमायाँ बलामी रहेका छन्।

उत्तरी मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका २, भालुखर्क हँसिलीमा आएको भेलले बगाएर बेपत्ता भएकी स्थानीय १४ वर्षीया सुष्टी डिम्डुङ्ग शनिबार बिहान मृत अवस्थामा फेला परेकी हुन्। शुक्रबार साँझ घरनजिकै आएको भेलले बगाएकी उनी माटोले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।
जिल्लाकै कैलाश गाउँपालिका १० नामटारमा खोलाले बगाउँदा स्थानीय करिब ५५ वर्षीय सानुकान्छा सुनारको मृत्यु भएको छ। डुड खोलामा आएको बाढीले शुक्रबार साँझ ५ बजे बगाएका सुनारको शव शनिबार बिहान भेटिएको कैलाश वडा नम्बर १० का वडाध्यक्ष मानिकलाल मोक्तानले बताए। उनका अनुसार खोलाले बगाएको स्थानभन्दा करिब १० मिटर तल ढुङ्गाको कापमा च्यापिएको अवस्थामा शव फेला परेको थियो।

त्यस्तै, जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिका वडा नम्बर ३ मा महाभीर खोलाले बगाउँदा स्थानीय शिवराम बलामीकी १४ वर्षीया छोरी सन्तमायाँ बलामीको मृत्यु भएको छ। स्थानीय जनकल्याण माध्यमिक विद्यालयमा पढेर घर फर्कने क्रममा खोलाले बगाउँदा शुक्रबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

साथै, मकवानपुरको कैलाश गाउँपालिका ५ कालिखोलामा आएको पहिरोमा परी बेपत्ता भएकी स्थानीय तारामायाँ पाख्रिनको शुक्रबार साँझ सात घण्टापछि जीवितै उद्धार गरिएको छ। खुट्टा र टाउकोमा चोट लागेको उनको स्थानीय प्राथमिक स्वास्थ्य चौकीमा उपचार भईरहेको कैलाश गाउँपालिका ५ का वडाध्यक्ष छेकु लामाले जानकारी दिए।

त्रिभुवन राजपथ र हेटौंडा–कुलेखानी सडक मात्र सुचारु 

वर्षासँगै आएको बाढी र पहिरोले अवरुद्ध पारेको त्रिभुवन राजपथ र हेटौंडा–भीमफेदी–काठमाडौं सडकको हेटौंडा–कुलेखानी सडक खण्ड सञ्चालनमा आएको छ। तर कान्तिलोकपथ, हेटौंडा–भीमफेदी–फाखेल–काठमाडौं र हेटौंडा–भीमफेदी–सिस्नेरी–काठमाडौं सडक भने सञ्चालनमा आउन सकेको छैन।

भीमफेदी गाउँपालिका १ भैंसेस्थित बागझोरा खोलामा सडक मर्मत गरेसँगै शनिबार बिहानैबाट त्रिभुवन राजपथ र हेटौंडा–कुलेखानी सडक सूचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए। हेटौंडाबाट करिब ७ किलोमिटर उत्तरतर्फ रहेको बागझोरा खोलामा सडक मर्मत गरिएपनि सिस्नेरी र फाखेलमा सडक भने मर्मत सकिएको छैन।

कुलेखानीबाट सिस्नेरी र फाखेलहुँदै काठमाडौं चल्ने सडकमा झरेको पहिरो हटाउन नसक्दा सडक सुचारु गर्न नसकिएको प्रहरी उपरिक्षक सिंहले बताए। ‘सिस्नेरी र फाखेलको सडकमा मर्मतको काम भइरहेको छ,’ उनले भने, ‘आइतबारबाट सडक सञ्चालनमा आउँनेछ।’

त्यस्तै, ५ दिनदेखि अवरुद्ध रहेको कान्तिलोकपथ मर्मत गरी सञ्चालनमा आउन केही दिन लाग्ने उनले बताए। निरन्तरको वर्षा, बाढी र पहिरोका कारण मकवानपुरको पूर्वी छतिवन, फापरबारी र राईगाउँ तथा पश्चिमी क्षेत्रसँगको सडक सम्पर्क बिच्छेद भएको छ। 

जोखिममा रहेका १ सय ६६ जनाको उद्धार 

बाढी, पहिरोका कारण जोखिममा रहेका भिमफेदी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका १ सय ६६ जनालाई मकवानपुरमा उद्धार गरिएको छ। भिमफेदी गाउँपालिका ५, माथिल्लो दमारमा पहिरोको उच्च जोखिममा रहेका १८ परिवारका ९२ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
घरमाथि र घरमुनिबाट पहिरो गएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले ८ घण्टा लगाएर शुक्रबार साँझ उनीहरुलाई सुरक्षित स्थानमा सारेका हुन्। उद्धार गरिएकाहरुलाई आफन्त र नेपाल रेडक्रस सोसाइटी उपशाखा भिमफेदीको कार्यालयमा राखिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए।

त्यस्तै, हेटौंडा उपमहानगरपालिका ५, पिप्ले, शान्तिनगर, गर्दोई लगायतका स्थानबाट ७४ जनाको उद्धार गरेको प्रहरीले जनाएको छ। स्थानीय कर्रा खोलाको भल बस्तीहरुमा पसेर डुबानमा परेपछि प्रहरीको टोलीले उनीहरुलाई सुरक्षित स्थानमा सारेको प्रहरी उपरिक्षक सिंहले बताए।

प्रकाशित: २८ असार २०७६ १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App