coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहाड खसेर खोला थुनिँदा नेपालटार जलमग्न, उद्धार टोली नै अलपत्र

उदयपुर– लगातारको वर्षाले उदयपुरगढी ६ स्थित धप्पर पहाड खसेर स्थानीय वैद्यनाथ खोला थुनिएपछि आसपासका सयौं घरपरिवार डुबानको जोखिममा परेका छन्। केही दिनदेखि लगातार परिरहेको वर्षाले शनिबार विहान ११ बजे पहाडै खसेर खोला थुनिएपछि पानी जम्दै गएर नेपालटार उपत्यका जलमग्न हुँदै गएको स्थानीय बोधकुमार घिमिरेले बताए। 

खोला थुनिएर पानी जम्दै नेपालटार बजारतर्फ आइरहेको र २/३ दर्जन घर डुबिसकेको भन्दै उनले दिनभर पानी परे पुरै नेपालटार पोखरीमा परिणत हुने र ५ सय बढी घरपरिवार विस्थापित हुने बताए। यसबारे गाउँपालिका र प्रहरी प्रशासनलाई पनि जानकारी गराईसकिएको र गाउँपालिकाले जिल्ला समन्वय समिति, प्रशासन, प्रहरीमा खबर गरेर उद्धार टोली बोलाएको जनाइएको छ। गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए ५०/६० मिटर लामो पहाड खसेर साँगुरो ठाउँको खोला थुनिँदा पानी जम्दै नेपालटारतर्फ आइरहेको पुष्टि गरे। उनले सम्भावित खतराबाट उद्धार गर्न तत्काल प्रशासन, समन्वय समिति, संघीय र प्रदेश सांसदलाई खबर गरेर सदरमुकाम र अन्य ठाउँबाट उद्धार टोली पठाउन आग्रह गरेको बताए।

‘धप्परको पहाडै खसेर खोला थुनिएको सुनेलगत्तै तत्काल प्रशासन, प्रहरी र दुवै माननीयलाई जानकारी गराएर उद्धारको आग्रह गरेको छु’ गाउँपालिका केन्द्र उदयपुरगढीमै रहेका मगरले टेलिफोनमा भने, ‘यहाँबाट हेर्दा पनि पहिरो गएको र पानी बढ्दै गएको प्रष्ट देखिन्छ, मानवीय क्षति भने अहिलेसम्म भएको छैन, तर ठूलो खतरा छ।’ सो खोला तत्काल नखोलिए तथा अझै केही घण्टा वर्षा भइरहे नेपालटार डुबाउने र थुनिएको ठाउँभन्दा मुनिको दनुवारबेंसी, लामीदुवाली, धप्पर, बकपति, रिस्कु र सोमबारदेखि कटारीसम्मकै स्थानीयलाई खतरा रहेको अध्यक्ष मगरले बताए। स्थानीयले थुनिएको खोला एकैचोटी खोले मुनिको भागदेखि कटारीसम्मै क्षेत्रमा व्यापक विनाश हुने भन्दै अलिअलि मात्र खोलेर पानीको निकास निकाल्न सुझाएका छन्।  

उद्धार टोली खोला तर्न नसक्दा ढिलाई 

थुनिएको खोला खोल्न र स्थानीयको उद्धारका लागि सदरमुकामबाट गएको टोली भने खोला तर्न नसकेर घट्नास्थल पुग्न सकेको छैन। घट्नाबारे जानकारी भएको घण्टापछि नै खटाइएको उद्धार टोलीलाई मुर्कुची–नेपालटार खण्डको अँधेरी खोला तर्न नसक्दा टोली घट्नास्थल पुग्न समस्या भएको प्रमुख जिल्ला अधिकारी ध्रुब खड्काले बताए। उनका अनुसार उद्धारका लागि घट्नास्थल हिडेको ३ ट्रक जनपथ, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली चढेको गाडी खोला तर्न नसकेपछि १ घण्टादेखि त्यहीँ रोकिएको छ।

गाडी तर्न नसकेपछि उद्धार टोलीलाई पौडी खेलेर पारी जान लगाएर नेपालटारबाट टिप्पर मगाइएको सिडिओ खड्काले बताए। नेपालटार उद्योग बाणिज्य संघले टिप्पर छिटै पठायो भने उद्धार टोली घट्नास्थल पुग्न समय नलाग्ने उनको भनाई छ। संभावित डुबानबाट बँच्न नेपालटारबासीलाई सुरक्षित ठाउँतर्फ जान आह्वान गरिएको र थुनिएको ठाउँभन्दा मुनि खोला आसपासका धप्पर, दनुवारबेँसी, बकपति, सोमबारे, रिस्कु र कटारीका वैद्यनाथको सम्भावित खतराक्षेत्रका स्थानीयलाई घर छाडेर सुरक्षित ठाउँतर्फ स्थानान्तरण गरिँदै गरेको प्रजिअ खड्काले बताए। 

प्रकाशित: २८ असार २०७६ १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App