८ वैशाख २०८१ शनिबार
समाज

राप्तीमा पानीको सतह खतराको चिन्हभन्दा माथि

बाँकेको कुसुमस्थित बाढी मापन केन्द्र ।

नेपालगन्ज– राप्ती नदीमा पानीको सतह खतराको चिन्हभन्दा माथि पुगेपछि तल्लो तटिय क्षेत्र डुबानको उच्च जोखिममा परेको छ। बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार दिउँसो ३ बजेतिर गरिएको मापन अनुसार पानीको सतह ५ मिटर ६० सेन्टिमिटर पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पानीको सतह ५ मिटर पुगेपछि ‘खतरा’ मानिन्छ, भने ५ मिटर ४० सेन्टिमिटर पुगेपछि राप्तीको तल्लो तटिय क्षेत्रका अधिकांश गाउँ डुबाउने निश्चित हुन्छ। 

कुसुममा मापन गरिएको बाढी आउन करिव ३÷४ घण्टा समय लाग्ने भएका कारण तल्लो तटिय क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान अर्लट गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए। ‘कुसुमको बाढी मापन केन्द्रमा पानीको सतह खतराको चिन्हभन्दा माथी पुगेपछि हामीले एफ.एम रेडियो र स्थानीय प्रहरीमार्फत सतर्क रहन आग्रह गरेका छौं,’ उनले भने। 

राप्तीको बाढीले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३, ४, ५, ६ र ७ तथा नरैनापुर गाउँपालिकाको गंगापुर र मटेहिया, डुडुवा गाउँपालिकाको होलिया, बेतहनीका दर्जनौं गाउँ डुबानमा पर्ने खतरा देखिएको प्रजिअ भुजेलले बताए। गाउँमा बाढी पस्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उद्धार सामग्री सहित तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बाँकेका प्रहरी प्रमुख एसपी बीरबहादुर ओलीले बाढी प्रभावित क्षेत्रमा पुग्न नेपाल प्रहरीलाई ठाउँ ठाउँमा अलर्ट अवस्थामा राखिएको बताए। ‘बाढीको अवस्थालाई हेरेर तत्काल उद्धार गर्नका निम्ति प्रहरी एकदमै अलर्ट अवस्थामा बसेको छ, दिउँसोदेखि नै हामी नदी किनारमा पानी नाप्दै बसिरहेका छौं,’ उनले भने। बाढी पीडितलाई सुरक्षित स्थानमा जान पहिल्यै सूचना दिइएको एसपी ओलीले बताए। भारतले अन्तर्राष्ट्रिय नियम विपरित निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले राप्ती नदीको प्राकृतिक निकास थुन्दा हरेक वर्ष डुबान समस्या बल्झिँदै आएको छ। राप्ती नदीले वितन्डा मच्चाउँदा बाँकेको हजारौ हेक्टर जमिन मरुभूमिमा परिणत भएको छ। 

प्रकाशित: २८ असार २०७६ ११:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App