coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालद्वारा मलेशिया पराजित

काठमाडाैं– मलेशियाविरुद्धको पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले सहज जित हात पारेको छ।

सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले मलेशियालाई सात विकेटले पराजित गर्दै विजयी भएको हो। क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा आज भएको मलेशिया विरुद्वको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले नेपाललाई जितको लागि १२९ रनको चुनौती दिएको थियो। कूल १२९ रनको विजय लक्ष्य बोकेर मैदान उत्रेको नेपाल १८ दशमलव ३ ओभरमा मात्र तीन विकेट गुमाएर लक्ष्य पूरा ग-यो।

नेपालको जितमा कप्तान पारस खड्काले ८६ रनको अर्धशतकीय इनिङ् खेले। उनले ५० बल खेल्दै पाँच छक्का र आठ चौकाको मद्दतमा अविजित ८६ रनको योगदान दिएका हुन्। त्यसैगरी शरद भेषवाकरले अविजित १६ रन जोड्दा शुरुआती ब्याट्सम्यान प्रदीप ऐरीले ८, उपकप्तान ज्ञानेन्द्र मल्लले ७ तथा रोहित पौडेलले ५ रन जोड्दै बाहिरिए। बलिङतर्फ मलेशियाका अनवर रहमानले दुई तथा मोहमद फिट्रीले एक विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको मलेशियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन मात्र बनाउन सकेको थियो। मलेशियाका लागि भिरन दिप सिंहले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै अहमेद फाइज मोहमद नुरले ४५ तथा मोहमद फिट्रीले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन्। मलेशियालाई १२८ रनमा समेट्नेक्रममा नेपालका करण केसी एक्लैले तीन विकेट लिए। त्यसैगरी वसन्त रेग्मी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट झारे।

अब नेपालले मलेशिया विरुद्वको दोस्रो तथा अन्तिम खेल भोलि आइतबार खेल्नेछ। सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको एशिया फाइनल आगामी साउन ६ देखि १२ गतेसम्म सिङ्गापुरमा आयोजना हुदैछ।

प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेशिया, कतार र कुवेत भिड्ने छन्। नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ। यस्तै साउन ८ मा मलेशियासँग, ११ गते कुवेत तथा १२ गते सिङ्गापुरसँग खेल्नेछ। उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ। ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ।रासस

प्रकाशित: २८ असार २०७६ ०६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App