सम्झनामा भानुभक्त

नेपालीका प्रेरक भानुभक्त

शनिबार, २८ असार २०७६, १० : ११ दीर्घराज प्रसाई

‘चपला अवलाहरू एक सुरमा, गुकेसरिको फूल ली शिरमा।
 रिस राग कपट छल छैन जहाँ,
 तब धर्म कति छ कति छ यहाँ।
 पशुका पति छन् रखवारि गरी,
 शिवकी पुरी कान्तिपुरी नगरी।’
     
असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती। उनको जन्म विक्रम संवत् १८७१ असार २९ गते तनहुँको रम्बामा भएको थियो भने स्वर्गारोहण विक्रम संवत् १९२५ असोजमा भयो। भानुभक्तको नाम नेपालको राष्ट्रिय एकतासँग जोडिएको छ। भाषिक हिसावले मात्र होइन, विश्वभर छरिएका नेपालीका लागि उनी प्रेरणा बनेका छन्। बाल्मिकि रामायणलाई भानुभक्तले नेपाली भाषामा छन्दमय पद्यमा अनुवाद गरेर जनमानसलाई श्लोकमय बनाउन सकेका थिए।

बाल्मिकि संस्कृत भाषाका आदिकवि। बाल्मिकि रामायण अनुवाद गरेर भानुभक्त नेपाली भाषाका आदिकवि बन्न पुगे। बाल्मिकिले नेपालको चितवन दक्षिणतर्फ नारायण नदी किनारमा आश्रम बनाएका थिए। त्यही ठाउँमा रामले सीतालाई त्यागेपछि सीताले आश्रय लिएकी थिइन्। त्यही ठाउँमा लव–कुशको जन्म भएको थियो।

‘मानिसाद प्रतिष्ठात्गमय शास्वस्ती समा, यादकौंच मिथुनादेकः ममधि काम मोहितम्।’

यो संस्कृत साहित्यको पहिलो कविता हो। बाल्मिकि आश्रम किनारमा सोना र तमोसा नदीमा नुहाउन जाँदा एक व्याधाले चलिरहेका एक जोडी बाजलाई काँडाले हानेर घायल बनाएपछि त्यो विह्वल दृष्यबाट विष्फोटित बनेर करुण र समय श्लोक बाल्मिकिमा प्रस्फुटित हुन गयो र त्यही श्लोक प्रस्फुटित भएपछि बाल्मिकिले रामायण लेखे। बाल्मिकि ऋषि बने। बाल्मिकिले रामायणका केही भाग भक्तपुरको हनुमानघाटमा बसेर लेखेका थिए भन्ने प्रमाण पनि धेरै जुटेका छन्।

बाल्मिकि आश्रम र हनुमानघाटलाई अन्तर्राष्ट्रियकरण गर्न सकियो भने नेपालको ठूलो प्रतिष्ठा कायम हुन्छ। नेपालीभूमिमा रहेर रामायणलाई संस्कृत र नेपाली भाषामा यी दुई महारथी बाल्मिकि र भानुभक्तले लेखेर नेपालको प्रतिष्ठा बढाएका हुन्।

भक्तपुरको हनुमानघाट सानो छ, राम, सीता, लक्ष्मणको अखण्ड दीप प्रज्वलित हुमानघाट एउटा पवित्र धाम नैं हो। यसको चर्चा नभएकाले हनुमानघाटजस्तो पौराणिकस्थल अपरिचित हुन पुगेको हो। केही वर्षअगाडि मात्र हनुमानघाट अध्ययन–भ्रमणको मौका मिल्यो। तर, २०३७ सालमा बाल्मिकि आश्रमको अध्ययन–भ्रमण गर्दा मलाई अत्यन्त गौरव महसुस भएको थियो। दुवै बाल्मिकिका कर्मक्षेत्र हुन्। बाल्मिकि आश्रम र हनुमानघाटलाई अन्तर्राष्ट्रिय धामका रूपमा सरकारले विकास गरेर विश्वव्यापी बनाउनु पर्छ।

बाल्मिकि आश्रम र हनुमानघाटलाई अन्तर्राष्ट्रियकरण गर्न सकियो भने नेपालको ठूलो प्रतिष्ठा कायम हुन्छ। नेपालभूमिमा रहेर रामायणलाई संस्कृत र नेपाली भाषामा यी दुई महारथी बाल्मिकि र भानुभक्तले लेखेर नेपालको प्रतिष्ठा बढाए। 

‘चपला अवलाहरू एक सुरमा, गुनकेसरीको फूल ली शिरमा। रिस राग कपट छल छैन जहाँ, तब धर्म कति छ कति छ यहाँ। पशुका पति छन् रखवारि गरी, शिवकी पुरी कान्तिपुरी नगरी।’

कान्तिपुर देखेर भानुभक्तले मोहित भएर लेखिएको कविता हो यो। भानुभक्तका कविता प्राकृतिक सिर्जनात्मक नेपाली राष्ट्रवादसँग गाँसिएका छन्। भानुभक्तले दुर्गा कवच, रुद्री, अमरकोष, लघुकौमुदीको राम्रो अध्ययन गरेका थिए। उनलाई विद्याआर्जन गराउनमा उनका पितामह श्रीकृष्ण आचार्यबाट प्राप्त भएको र ती गन्थहरू भानुभक्तले राम्ररी अध्ययन गर्न सकेकाले बाल्मिकि रामायण अध्ययन गर्नमा सजिलो हुन गयो।

अध्ययन नगरी कोही पनि स्रष्टा बन्न सक्दैन। उनको मेहेनतको प्रतिफल नेपालले भानुभक्तबाट रामायण पायो। भानुभक्तले नेपाली भाषामा रामगीता, बधु शिक्षा जस्ता कयौं काव्य रचना गरेर नेपाली समाजलाई सिर्जनात्मक बाटो देखाएका थिए। भानुभक्त सम्झदा मोतीराम भट्टको नाम पनि सँगसँगै आउँछ। भानुभक्तका कीर्तिहरूलाई व्यापक प्रचार गर्नमा उनको ठूलो देन छ। भानुभक्त कवितात्मक सिर्जनाका धनी थिए। भानुभक्तलाई कसैले ‘तपाईं को हो भनेर सोध्दा भानुभक्तले कविताबाटै जवाफ दिएका थिए, ‘पहाडको अति बेस देश तनहुँमा श्रीकृष्ण आचार्य थिया। खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन्दिया।। विद्यामा पनि जो धुन्धर भई शिक्षा मलाई दिया। इन्को नाति म भानुभक्त भनि यो जानी चिन्ही लिया।।’ यसबाट थाहा हुन्छ भानुभक्त एक सहज कवि थिए।

मोतीराम भट्टले भानुभक्तका बारेमा लेखेका थिए, ‘धेरै नामका कवि भानुभक्तभन्दा पहिले भए। तर, कविताको मर्म जानी भाषा पद्ये लेख्ने कविमा आदिकवि भानुभक्त नैं हुन्। जस्ता भानुभक्तका सरल कविता छन् उस्तै इनको नाम पनि प्यारो छ। संसारमा जन्म लिइकन आफ्नो नाम राखेन भने त्यस पुरुषले जन्मेको के सार ?’

त्यसैले भानुभक्तको नामसँग कवि मोतीराम भट्टको नाम जोडिन्छ। मोतीराम भट्ट पनि नेपाली साहित्यको जग हुन्। उनले लेखेका थिए, ‘न्याय गर्नमा निसाफ नपाए गोर्खा जानु भन्ने उखानै छ। यसै अवसरमा म पनि श्री ५ गोर्खा सरकारको यश कीर्तिलाई धन्य भनी एक श्लोक लेख्छु– ‘अचल झण्डा फर्रोस् फरफर गरी कान्तिपुरीमा। रिपुको मन थकोस् थरथर गरी छिन घरिमा।। यमनले राज् गर्दा कति पतीत हिन्दूस्थल भयो। फगत यो नेपालको मुलुक कञ्चन रहिगयो।’

भानुभक्तको सम्मानार्थ प्रवासी नेपालीहरूले दार्जिलिङको चौरास्तामा उनको शालिक राखेका थिए। गोर्खाल्याण्ड आन्दोलनको बेला नेपाल विरोधीले ढालेका थिए। शालिक ढालिएको केही वर्षपछि म, श्रीमती सानुबाबा, भाइ भरत र मेरी छोरी टिष्टा दार्जिलिङ घुम्न गयौं। टिष्टा नदीको दर्शन र सिक्किमको अध्ययन भ्रमणका लागि ०५२ असोजमा हिँड्यौं। दार्जिलिङ पुगेर वरिष्ठ लेखक राजनारायण प्रधान र कवि तथा साहित्यकार गुमानसिंह चाम्लिङसँग भेट्ने इच्छा थियौं, भेट्यौं। राजनारायणले मलाई आठराई, चुहान्डाडाको वीरेन्द्र इन्टर कलेजमा आइए पढाउनुभएको र त्यसको अलावा उहाँले मलाई धेरै ज्ञान दिलाउनुभएको थियो। त्यस्तै, गुमानसिंह चाम्लिङसँग मेरो पहिलादेखिको सम्बन्ध थियो। उहाँलाई मैले आफ्नो डेरा काठमाडौंको क्षेत्रपाटीमा २०२४ सालतिर खाना खुवाएको थिएँ।

चाम्लिङजी नेपाली साहित्यका अगुवा स्रष्टाका रूपमा परिचित हुनुहुन्छ। उहाँसँग पनि भेट भयो। उहाँहरूलाई भेटेपछि अरु केही पुराना साथीको पनि खोजी भयो। तर, भेट्न सकिएन। दुःखको कुरा, चाम्लिङज्यूको केही वर्षपछि देहान्त भएछ। त्यसपछि हामीहरू दार्जिलिङ घुम्नमा लाग्यौं। चौरास्तामा पुगेपछि भानुभक्तको शालिक ढालेको देख्दा हामी सबैको मन रोयो। थाहा थिएन त्यसरी भत्काएको कुरा।

केही वर्षपछि चौरस्तामा नैं भानुभक्तको पूर्णकदको शालिक निर्माण भएको कुरा पत्रिकामा छापिएपछि खुसियाली मनाइयो। धन्य छन् दार्जिलिङका नेपालीभाषी स्रष्टा, जसले सगौरव भानुभक्तको शालिक उभ्याए। चार वर्षअगाडि भारतका राष्ट्रपति प्रणव मुखर्जी, पश्चिम बंगालका गभर्नर केएन त्रिपाठी, पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले आदिकविको शालिकमा पुष्पमाला अर्पण गरी भानुभक्तलाई ठूलो मान्यता दिएका थिए। यो सम्पूर्ण नेपाली भाषीका लागि गौरवको कुरा हो।

सिक्किमका हालै निर्वाचित मुख्यमन्त्री पे्रमसिंह तामाङले नेपाली भाषामा सपथ लिएर नेपाली भाषाको सम्मान गरेका थिए। पहिचानको लडाइँमा सिक्किमकी एक वीरंगना नरबहादुर भण्डारकी श्रीमती दिलकुमारीले भारतको संसदबाट नेपाली भाषालाई भारतको सरकारी लेखापढीको भाषाका रूपमा राख्ने अभियानमा सफलता हासिल गरेकी थिइन्। त्यस्तै सिक्किममा नेपाली भाषालाई सिक्किम राज्यको सम्पर्क भाषाका रूपमा अनिवार्य पाठ्यक्रमका रूपमा घोषित गरिएको छ।

नेपालभर नेपाली भाषा सबै भाषाभाषीका बीचमा सम्पर्क कायम गर्न सजिलो र लोकप्रिय हुनसकेकाले राष्ट्रभाषाका रूपमा सबै जातका नेपालीको प्रतिष्ठा र पहिचानको स्रोत बनिरहेको अवस्थामा भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपालका जातीय तथा स्थानीय भाषाभाषीका पनि प्रिय बन्न सके। विशाल नेपालको एकीकरण हुनुभन्दा धेरै वर्ष अगाडिदेखि नेपाली भाषा पूर्वमा ब्रह्मपुत्र र पश्चिममा काश्मिरसम्म प्रचलित भइसकेको थियो। विसं १३८२ सम्ममा किरात क्षेत्रमा पनि नेपाली भाषाको चल्ती थियो भन्ने संकेत सिमरौनगढका राजा हरिसिंह देवका पण्डित ज्योतिरीश्वरको मैथिति कृति ‘वर्णरत्नाकर’ बाट जाहेर हुन्छ भन्दै भाषाविद् बालकृष्ण पोखरेलले लेखेका छन्।

त्यस्तै, भानुभक्त पोखरेल लेख्छन्, ‘नेपाल एकीकरण हुनुभन्दा पाँच–सात सय वर्ष अघिदेखि नै यस भूभागका राजा–रजौटाले परम्परा पत्राचार, सन्धि सम्झौता गर्ने तत्कालीन अन्तर्राज्यीय भाषा नेपाली नै थियो। नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले बाइसे, चौबिसे, लिम्बुवान, खम्बुहाङ आदिका अपुङ्गी टुक्रे राजासित व्यवहार गर्ने भाषा पनि नेपाली नै थियो।’

पृथ्वीनारायणले नेपाल एकीकरण गर्नुअगाडि कान्तिपुका राजा लक्ष्मीनरसिंह मल्ल र उनका छोरा प्रतापमल्लका समयमा नेपाली भाषा प्रयोग भएका प्रशस्त अभिलेख  पाइन्छन्। जगतप्रकाश मल्ल, भूपतेन्द्र मल्ल, भास्कर मल्ल र जयप्रकाश मल्ले पनि पनि नेपाली भाषामा लेखापढी गरेका थुपै्र प्रमाण छन्। यसरी नेपाली भाषा हिमवतखण्डका स–साना राज्यमा केही मात्रामा चलनचल्तीमा आइसकेकाले र हिमवतखण्डमा सबै हिन्दू राज्य भएकाले नेपालको राष्ट्रिय एकीकरणमा धेरै सजिलो हुन सकेको थियो।

नेपाल विभिन्न जाति, भेषभूषा, भाषाभाषीको थलो। यहाँ १२४ भाषा छन्। तीमध्ये ४०/५० भाषा विकसित अवस्थामा छन्। मैथिली, भोजपुरी, अवधि, मगर, गुरुङ, तामाङ, शेर्पा, नेवार, थारू, राजबेशी, लिम्बु, राई, नेवार, थकाली, सुनुवार, सतार, उर्दू भाषा आदि भाषा आ–आफ्नो समुदायमा लोकप्रिय छ। भाषाका हिसाबले नेपाल धेरै धनी छ। खुला सिमानाका कारणले हिन्दी भाषा कहीकतै बोल्ने गरिन्छ। तर, तराईका मूलवासीको भाषा हिन्दी होइन, यसो भन्दैमा सबै स्थानीय भाषालाई सरकारी भाषामा स्थापित गर्न खोज्नु द्वन्द्व निम्त्याउनुसरह हुन्छ।

नेपाली भाषा र साहित्यलाई विश्वव्यापी बनाउनमा दार्जिलिङ तथा सिक्किमको ठूलो देन छ। दार्जिलिङको चौरास्तामा पारसमणि प्रधानको प्रयत्नमा आदिकवि भानुभक्तको शालिक उभ्याइएको थियो। नेपाली भाषा बारेमा दार्जिलिङका विद्वान पारसमणिले भनेका थिए– ‘नेपाली भाषा कुनै निश्चित जात वा जातिको भाषा होइन। यसलाई बाहुन, क्षेत्री लगायत गुरुङ, मगर, राई, लिम्बु, नेवार, तामाङ’ आदि जातिले आ–आफ्नो बोली छँदाछँदै पनि नेपाली भाषालाई मातृभाषा भनि अपनाएका छन्। यसो गर्नाले एउटा विशाल नेपाली जातिको सृष्टि भएको छ। कुनै जातका मानिसले आफ्नो जातीय बोली बिर्सनैं पर्छ भन्ने केही छैन। तर, नेपाली भाषा हाम्रो होइन भनेर विभिन्न नेपाली जातिले संघर्षका निम्ति संघर्ष गर्न थाले भने न उनीहरू आफै उभिन सक्छन् न अरुलाई उभिन दिन्छन्। पहिलेको खस बोली खसभाषामा परिणत भएर गोर्खा वा गोर्खाली भाषा हुन पुगेको र अहिले तमाम नेपाली जातिको भाषा हुनपुगेकोछ।’

भानुभक्त विश्वभरका नेपाली भाषिका लागि प्रेरक हुन्।                   
 







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad