६ वैशाख २०८१ बिहीबार
अन्य

बाजेको निधनपछि लेखिएको कविता

शर्वराज आचार्य 

पहाडको अतिवेश देश तनहुँमा श्रीकृष्ण ब्राह्मण थियो
खुब् उच्चा कुल आर्यवंशी हुन गई सत्कर्ममा मन् दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया
इन्को नाति म भानुभक्त भनी हुँ यो जानी चिन्ही लिया।।

उल्लेखित कविताबाट भानुभक्त आचार्यले काशीको विद्वान्–मण्डलीमा परिचय दिएका हुन्। यसमा सबै जीवनीकारहरूको एकमत पाइन्छ। काशीमा कविले कहिले यो कवितामार्फत आफ्नो परिचय दिएका हुन् भन्नेमा कवितामा प्रयुक्त थियो, दिया जस्ता क्रियाले तत्कालीन बितेको समय व्यक्त गरेका छन्। यससँग भानुभक्त आचार्य जीवन सन्दर्भ जोडेर कहिलेतिर यो कविता लेखे होलान् भन्ने कुराको यहाँ चर्चा गरिएको छ।  

उल्लेखित कवितामा भानुभक्तले तनहुँ देश र बाजे श्रीकृष्ण आचार्यको परिचय दिएर आफूलाई चिनाएका छन्। सर्वप्रथम कविले तनहुँको परिचय दिएका छन्। कवितामा नेपाल भन्ने नाउँ देखिँदैन। नेपाल एकीकरण अभियानमा नेपालभित्र गाभिए पनि (गाभिएको साल वि.सं. १८३९) तनहुँ राज्य वा तनहुँ देश भन्ने नामले भारतमा वा वाराणसीसम्म यो देश परिचित भइरहेको बुझिन्छ। त्यसैले भानुभक्तले तनहुँलाई पहाडी राज्यमध्ये बेस देश भनेर चिनाएका छन्।

भानुभक्तले आफूलाई बेस देशका बासिन्दा मात्र होइन, विद्यामा पनि धुरन्धर व्यक्ति श्रीकृष्णको शिष्य र नाति भनेर गौरव–बोधको परिचय दिएका छन्। तनहुँका मानिसमा पहाडको अति बेस देश भनेर भानुभक्त आचार्यले झैँ तनहुँप्रति गौरव–बोध गर्ने प्रवृत्तिमा कमी आएको छैन। अझै धुरन्धर विद्वान् श्रीकृष्ण आचार्यको सन्तति हुँ भनेर गौरव–बोध गर्ने प्रवृत्ति भानुका वंशजमा प्रशस्त भेटिन्छ। भानुभक्तका कारण पनि थप गौरब–बोध गर्ने प्रवृत्तिले मलजल पाएको हुनुपर्छ। कविताले यस्तो गौरवबोध बाहेक रचनाकालको पनि स्थूल संकेत गरेको छ। यो संकेतको विश्लेषण भानुभक्तको वाराणसी वा काशीतर्फ भएको गमन र पुनरागमनसँग सम्बन्धित छ। काशीतर्फ भएको भानुभक्तको गमन र पुनरागमनलाई कम्तीमा तीन श्रेणीमा राखेर हेर्न सकिन्छ।

जीवनीकारहरूले बाजे श्रीकृष्णसँग पढ्न बसेका बेला भानुभक्तले ‘पहाडको अतिवेश देश’ कविता लेखेको बताउँदै आएका छन्। तर, त्यो कविता बाजेको निधनपछि लेखिएको हो।

पहिलो श्रेणीमा कल्पवासी बाजे, बज्यै र काहिँला काकासँग भानुभक्तको काशीतर्फ भएको गमन पर्छ। यस समयमा जीवनीकारले भानुभक्त आचार्य १४ वर्ष हुँदा काशी गएका थिए र ४ वर्षसम्म काशीमा बसेर अध्ययन गरे भनेका छन्। काशीमा वि.सं. १८४८ तिर संस्कृत पाठशाला खुलेको उल्लेख भेटिन्छ। जीवन चरित पढ्दा भानुभक्तले दिउँसो पाठशालामा र बिहान–बेलुका बाजे श्रीकृष्णसँग पढेको उल्लेख पाइन्छ। जीवनीकारले उक्त कविता पनि भानुभक्तले बाजे छँदै काशीमा बसेका बेला लेखेको आशय व्यक्त गरेका छन्। उल्लेखित कवितामा श्रीकृष्ण ब्राह्मण थिया र शिक्षा मलाई दिया भनेर भूतकालका व्रिmया प्रयोग गरेको देखिन्छ। बाजेसँग बसी बिहान–बेलुका काशीमा नै पढ्ने गरेका भानुभक्तले यसरी भूतकालीन क्रियाको प्रयोग गर्दैनथे। कवितामा भूतकाल प्रयोग भएकाले भानुभक्तले उल्लेखित कविता १८ वर्षको उमेरभित्रै लेखेका थिएनन् भन्ने देखिन्छ। काव्यात्मक प्रौढताका दृष्टिले पनि यस कवितालाई भानुभक्तको प्रारम्भिक लेखनको कविता होइन कि ? भन्न सकिने ठाउँ छ।  
दोस्रो श्रेणीमा बाजे बज्यैको देहावसानपछि भानुभक्तले काशीमा पुनरागमन गरेको कुरा राख्न सकिन्छ। जीवनीकारहरूले अस्वस्थ धनञ्जय आचार्यलाई पाल्पाबाट काशी लगेको उल्लेख गरेका छन्, जसलाई काशीमा भानुभक्तको पुनरागमन मान्न सकिन्छ। यसपटक काशीको मणिकर्णिका घाटमा धनञ्जयले देहत्याग गरेको र पहाड चुँदीरम्घामा वि.सं. १९०४ पुस १३ गते रविवार दिन भानुभक्तले चिठी लेखेको चर्चा भेटिएको छ। यस समयमा भानुभक्तले धनञ्जयको काजक्रिया काशीमै गरे। काजक्रियाको समाप्तिपछि भानुभक्त काशीको विद्वान्–मण्डलीमा पुगेको हुनुपर्छ। काशीस्थित विद्वान्–मण्डलीका नेपाली विद्वान्ले भानुभक्त आचार्यलाई तपाईं को हुनुहुन्छ ? तपाईंको घर कहाँ हो ? कससँग पढ्नुभएको हो ? भनेर प्रश्न गर्दा उल्लेखित कविता लेखेको हुुनुपर्छ किनभने त्यस समयमा बाजे श्रीकृष्णको देहावसान भएको धेरै वर्ष व्यतित भएकाले कवितामा प्रयुक्त थिया, दिया जस्ता भूतकालीन व्रिmया प्रयोगको औचित्य पुष्टि हुन्छ।

तेस्रो श्रेणीमा भानुभक्त काशीमा गएको कुरा लिन सकिन्छ। उनी उल्लेखित दुई पटकबाहेक तेस्रो पटक काशी पुगेको घटना जीवनीकारहरूले लेखेका छैनन्। उनी पटक–पटक किन काशी गए भने त्यहाँ उनका काहिँला काका तुलसीराम पनि कल्पवासमा थिए। उनको हेरविचार र खर्चपर्चको व्यवस्था भानुभक्तले गरेका थिए। साथै तुलसीरामको काजव्रिmया समेत भानुभक्तबाट भएको अनुश्रुति छ। हेरविचार र काजक्रिया समेत गरेका कारण काठमाडौं डिल्लीबजारका तुलसीरामका छोरी (भानुभक्तका दिदी)सँग पनि भानुभक्तको राम्रो सम्बन्ध थियो। त्यसकारण धनञ्जयको देहावसानपछि पनि तुलसीराम जीवित भइन्जेल भानुभक्त काशीमा जाने र आउने गर्थे।

यसरी जाने–आउने गर्दा भानुभक्तले काशीको विद्वान्–मण्डलीमा शास्त्रार्थ सुन्ने अवसर पाउँथे। यस्तो अवसरका बेलामा कुनै नेपाली विद्वान्ले भानुभक्तसँग परिचय माग्दा उल्लेखित ‘पहाडको अति बेस देश’ भन्ने कविता बनाएको देखिन्छ। यसबाट के निष्कर्ष निस्कन्छ भने यसमा श्रीकृष्णसँग सम्बन्धित थिया, दिया जस्ता भूतकाल क्रिया भएकाले यो कविता श्रीकृष्ण जीवित छँदा लेखिएको होइन। तर, जीवनीकारहरूले भानुभक्त १८ वर्ष हुँदा बाजे श्रीकृष्णसँग बसेर पढ्दा यो कविता रचना भएको बताएका छन्। बाजे जीवितै छँदा कविता लेखिएको भए भूतकालबोधक क्रिया प्रयोग हुने थिएन। प्रायः जीवनीकारले पहिलो पटक पढ्न र दोस्रो पटक बाबु धनञ्जयको अन्त्येष्टि गर्न भानुभक्तलाई काशी वा वाराणसी पु-याएका छन्। काहिँला बाबु तुलसीरामको हेर विचार र काजक्रियाका निम्ति भानुभक्तलाई काशी पु-याएका छैनन्। जबकि भानुभक्तले नै कल्पवासी तुलसीरामको हेरविचार र काजव्रिmया समेत गरेका थिए। भानुभक्त दुई पटकभन्दा बढी काशी पुगेको देखिन्छ। त्यसकारण बाजे श्रीकृष्णको देहान्तपछि काशी पुगेका बेला उनले उल्लेखित कविता लेखेका हुन्।

प्रकाशित: २८ असार २०७६ ०३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App