८ वैशाख २०८१ शनिबार
अन्य

स्वदेशमै सपना पूरा गर्दै क्षितिज

गैरीधारा चोकबाट केही समय हिँडेपछि सानो गल्लीमा पुगिन्छ। त्यही गल्लीलाई पछ्याउँदै हिँडेपछि देखिन्छ– सेतो रंगको आकर्षक दरबार। १८ औं शताब्दीको सुरुवातमा तत्कालीन श्री ३ महाराज जुद्धशम्शेर जंगबहादुर राणाले बनाएको यो दरवार अहिले भने प्रसिद्ध होटलका रूपमा परिचित छ।

कलात्मक ढंगले निर्माण गरिएको उक्त दरबारमा आउने जोकोहीको नजर ठोकिन्छ। केही वर्षअघि क्षितिज मुनाकर्मीलाई पनि दरवारले आकर्षित गर्यो। र, उनले दरबारमा होटल व्यवसाय गर्ने इच्छा पलायो। तर, कसरी ? उनले ठम्याउन सकेनन्। भूकम्पपछि खाली रहेको जानकारी पाएपछि उनी यसको अध्ययनमा लागे।
दरबार सुनसान थियो। टुटफुट अनि बिग्रेको पनि। त्यसपछि उनले दरबारलाई नयाँ स्वरूप दिने योजना बनाए। अहिले उनले दरबारलाई भव्य अनि आरामदायी होटलमा परिणत गरेका छन्, जसको नाम राखिएको छ– रोयल इम्पाएर द बुटिक होटल।

लामो समय अध्ययनका लागि विदेश होमिएका क्षितिज मुनाकमी स्वदेशमा नै केही नयाँ गर्ने उद्देश्य बोकर नेपाल फर्किए। होटल व्यवसाय गर्ने उद्देश्यले भूकम्पले जीर्ण अवस्थामा रहेको दरबारको पुनर्निर्माणसँगै साजसज्जा गरी होटल बनाए। आलिसान राणाकालीन ऐतिहासिक दरबारमा अहिले जोकोही बस्न सक्छन्।  यहाँ थरिथरिका खानाका परिकारको स्वादमा रमाउन पाइन्छ।

डेढ वर्षदेखि सञ्चालनमा आएको ‘रोयल इम्पाएर द बुटिक होटल’मा स्वदेशीदेखि विदेशी पर्यटकको रोजाइमा रहेको सञ्चालक क्षितिजले बताए। हरेक शनिबार विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गर्ने गरेको उनी बताउँछन्। पाल्पामा जन्मेका क्षितिज, उच्च शिक्षाका लागि लन्डन पुगे। कम्प्युटर साइन्सबाट ब्याचलर र एमबिएको पढाइ सकेपछि उनलाई नेपालमा नै केही गरौं भन्ने सोचेर नेपाल फर्किए। त्यहाँ ८ वर्ष बसेपछि उनी २०७२ मा नेपाल फर्किए। नेपाल फर्किएलगत्तै भूकम्पको झट्काले उनको सपनामा तहल्का मच्यायो। उनले आफ्नो सोचलाई केही समयका लागि थाति राखे। उनी हजुरआमाको मायामा दिनरात स्याहारमा लागे। ‘दाजु–भाउजू युएसए गएपछि हजुरआमाको स्याहार गर्ने जिम्मा मेरो काँधमा आयो, मलाई मेडिकलको अनुभव के कसो गर्ने भन्ने अलिक ज्ञान नहुँदा हजुरआमाको चिन्ता पनि लाग्या थियो,’ उनले भने।

युएसमा भए पनि दाजु–भाउजूसँग कुरा गरेर हजुरआमाको रेखदेखमा लागिपरेका उनी होम डाक्टर सर्भिसको खोजीमा लागे। ‘युकेमा हुँदा होम डाक्टर सर्भिसको ट्रेन्ड निकै थियो। तर, नेपालमा भने खासै रहेनछ, एउटा मुस्किलले भेटे हेल्थ एट होम भन्ने तर मेरो लागि त्यो सर्भिस खासै उपयोगी भएन,’ उनी भन्छन्, ‘अनि आफैले हजुरआमाकै लागि भए पनि ‘डक्टर एट होम’ भनेर आफैले संस्था खोले।’

हजुरआमालाई आफूले राम्रो स्याहार गर्न समस्या भएपछि एउटा सहयोग पनि हुने काम पनि हुने तरिकाले निकै कम मूल्यमा डक्टर एट होम सञ्चालन गरे। नेपाल आएपछि क्षितिजको पहिलो बिजनेसको सुरुवात थियो– डक्टर एट होम। सबैको पहुँच पुगोस् भन्नको लागि एक हजार रूपैयाँमा नै डक्टर घरमा उपचार गर्न आउने भनेर सुरु गरे। ‘नेपालमा डक्टर एट होम निकै आवश्यक छ, डक्टर मात्र नभएर नर्सलाई समेत होम सर्भिसको काममा खटाए, सबैबाट धेरै राम्रो रेस्पोन्स आयो। तर, एक हजारमा खर्च धान्न सकस भयो,’ उनले भने।

९२ उमेर पुगेकी हजुरआमाको राम्रो स्याहारसँगै सहज तरिकाले अन्तिम सास फेरेको उनी सम्झिन्छन्। डक्टर र नर्सको खर्च मेन्टेन गर्न उनले मूल्यमा केही वृद्धि गरेका क्षितिजको बिजनेस करियर सुरु भयो। नेपालमा व्यवसाय गर्नलाई रिस्क निकै लिनु पर्ने उनी अनुभव सुनाउँछन्।

पारिवारिक बिजनेस गर्नका लागि परिवारबाट सल्लाह आए पनि क्षितिज भने केही फरक काम गरेर देखाउन चाहान्थे। विदेश गएर काम गर्नु र पढ्नु भनेको निकै ठूलो सिकाई रहेको उनी अनुभव सुनाउँछन्। उनी भन्छन्, ‘विदेशमा गएर भोगाई र अनुभवले मान्छेलाई धेरै कुरा सिकाउँछ, त्यहाँ सिकेको कुरा कुनै सर्टिफिकेटले दिँदैन। तसर्थ, जिन्दगी बुझ्न एकपटक विदेश जानचाहिँ पर्छ।’ नेपाली युवामा विदेशिने मोह निकै भए पनि अधिकांश युवाको मनशाय भने नेपालमा नै ‘केही गरौं’ भन्ने भावना रहेको उनी बताउँछन्। डक्टर एट होमको बिजनेस अगाडि बढ्दै गरेको भए पनि मनमा कामप्रति ठ्याक्कै सन्तुष्टि भने पाएका थिएनन्। नयाँ, अनि महŒवपूर्ण काम गरौं भन्दै हिँडेका क्षितिजको नजर बालुवाटारस्थित दरबारमा अडियो। बाहिरबाट देख्दा भग्नावशेष अवस्था जस्तो देखिएको दरबारको बारेमा बुझ्न क्षितिजलाई निकै कौतुहलता जाग्यो। र, उनी लागे– सोधखोज गर्न। ‘केही कामदार काम रंग खुइलिसकेको दरबारलाई रंगाउँदै थिए, उनीहरूलाई नै सोधपुछ गरेपछि पत्ता लगाए– कसले के गर्दै भनेर, केही समयको निरन्तर प्रयासपछि दरबार आफ्नो पोल्टामा पार्न सफल भैयो,’ उनले हाँस्दै भने।

पुरानो दरबारलाई पुन नयाँ बनाउन २ वर्ष लागेको उनी बताउँछन्। उनी भन्छन्, ‘देखेको सपना पूरा हुनलाई त्यति सजिलो त कहाँ हुन्छ र ? समयको धैयर्तासँगै आज त्यो पुरानो दरबार आज रोयल एम्पायरको रूपमा सञ्चालित छ।’

बालुवाटारस्थित रोयल एम्पाएरमा १५ कोठा रहेका छन्, जसलाई हेरिटेज डिलक्स, रोयल सुट र अपार्टमेन्ट गरी तीन प्रकारमा विभाजन गरिएको उनले बताए। ‘रोयल एम्पाएरमा बस्नको लागि सात हजार रूपैयाँदेखि २५ हजार रूपैयाँसम्म लागत खर्चिएर रमाउन सकिन्छ,’ उनले भने। होटलमा बस्न मात्र नभएर इभेन्ट अर्गनाइज गर्न, बाहिरी ग्राहक खाजा खानसमेत आउन सक्ने उनी बताउँछन्। विवाह, मग्नी, बड्डे लगायत विभिन्न समारोहसमेत आयोजना गर्न सकिने उनी बताउँछन्। प्रत्येक शुक्रबार सांस्कृतिक नृत्य प्रस्तुत गरेर, पाहुनालाई मनोरञ्जन समेत दिने उनी बताउँछन्। उनी भन्छन्, ‘हप्ताको शुक्रबार थरीथरी सांस्कृतिक नृत्य प्रस्तुत गर्न कलाकार मगाउँछौं। यो शुक्रबार लाखे नाँच, चितवनबाट थारू नृत्यकारलाई बोलाएर तयार गरेका छौं।’ रोयल एम्पायरमा सर्भिस, खानाको क्वालिटीमा कुनै कम्परमाइज नगर्ने उनी बताउँछन्। हामीले प्रदान गर्ने कोठाको साइज, खानाको क्वालिटी, रुमको मेन्टेनले गर्दा दैनिकजसो ग्राहकको भिड लाग्ने उनी बताउँछन्। उनी भन्छन्, ‘नेपालमा भएका रेस्टुरेन्ट, होटलले ग्राहकलाई दिने सेवासुविधा नै प्रमुख हो भन्ने सोचका साथ सर्भिस प्रदान गर्ने ट्रेन्ड बढेको छ, नाम राखेर मात्र भन्दा पनि काम गरेर समेत देखाउनुपर्ने हुन्छ।’ बुटिक होटल भनेपछि त्यही अनुसारको सर्भिसमा कुनै कसुर बाँकी नराखेको उनी बताउँछन्। उनी भन्छन्, ‘ठूलठूला होटलमा ग्राहकलाई सर अथवा म्याडम भनेर सम्बोधन गरिन्छ, भनौं चिनिँदैन। तर, हाम्रोमा नामले नै चिनिन्छ, प्रसनल्ली नामले ग्राहकको डिमान्ड पूरा गर्छौं, ग्राहकको नामले बोलाएर काम गर्दा निकटतासँगै आत्मियता महसुस भएको पाए।’

रोयल एम्पायरमा बस्दा होटल भन्दा पनि घरमा बसेको महसुस हुनु मुख्य आकर्षण रहेको उनले बताए। स्वदेश तथा विदेशबाट अनुभव प्राप्त कर्मचारी राखिएको रोयल एम्पायरमा गुणस्तरीय सेवासुविधा रहेकाले एक पटक आएका ग्राहक बारबार आउने गरेको उनी बताउँछन्। रोयल एम्पाएर सञ्चालनमा आएको डेढ वर्षभन्दा बढी भएको उनी बताउँछन्। सिजनको समयमा विदेशी ग्राहक आउने भए पनि सदावहार नेपाली ग्राहक आउने उनी बताउँछन्।

प्रकाशित: २८ असार २०७६ ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App