coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

स्वागत राष्ट्रपति मुखर्जी !

भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल आगमनले १८ वर्षदेखि हुन नसकेको उच्चस्तरीय भ्रमण शृंखला सुचारु हुने अपेक्षा गरिएको छ । तत्कालीन भारतीय राष्ट्रपति केआर नारायणनले २०५५ जेठ १४ गते नेपाल भ्रमण गरेयता भारतबाट नेपालमा यस तहको भ्रमण हुन सकेको थिएन ।

नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले भारतको औपचारिक र अनौपचारिक भ्रमण गरेका भए पनि उनका समकक्षीको भ्रमण गराउन सकिएको थिएन । निकट छिमेकी भएर पनि यति लामो समय उच्चस्तरीय भ्रमण नहुनु आफैंमा आश्चर्यजनक विषय हो । लामो अन्तरालमै भए पनि छिमेकी मुलुकका राष्ट्रपतिलाई स्वागत गर्न पाउनु नेपालीका निम्ति हर्षको विषय हो । भ्रमण क्रममा मुखर्जीले समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहालसँग गर्ने भेटवार्ताले निश्चय पनि दुई देशका आपसी हितका विषयलाई चर्चामा ल्याउनेछन् । दुवै मुलुकमा राष्ट्रपतिको भूमिका आलंकारिक मात्र हो । तैपनि यो तहको भ्रमणले दुई देशबीचको सम्बन्धमा ल्याउने सकारात्मक परिणाम अतुलनीय हुन्छ ।

भारतका राष्ट्रपति नेपालको तीनदिने भ्रमणमा आएको यो अवसरमा सरकारले एक दिन राष्ट्रिय बिदासमेत दिएको छ । सामाजिक सञ्जाललगायत माध्यममा यसको विरोध भइरहेको छ । पाहुनालाई स्वागत गर्ने सन्दर्भमा सर्वसाधारण यातायात कठिनाइमा नपरून् भनेर यस किसिमको प्रबन्ध गरिएको सरकारका तर्फबाट जानकारी दिइसकिएको छ । तैपनि, राजधानी काठमाडौंमा मात्र नभई देशभरि सार्वजनिक बिदा दिइएकामा सर्वत्र आलोचना भएको छ । भ्रमणको समयमा सर्वसाधारणले दुःख नपाउने अवस्था भने बिदाका कारण सिर्जना भएको छ । भ्रमणलाई दृष्टिगत गर्दै सरकारले राजधानीका सडक धोइपखाली सफासुग्घर बनाउने काम पनि गरेको छ । हाम्रा सडक सिनित्त राख्न अति विशिष्ट विदेशी पाहुनाको नेपाल भ्रमण हुनैपर्ने रहेछ भन्ने सन्देश यसले दिएको छ । सार्कका बेला रातारात सडक विस्तार, निर्माण तथा रंगरोगनका काम भएका थिए । त्यसयता राजधानीका सडक थोत्रिन थालिसकेका छन् । सबैतिरका सडक निर्माणका कामलाई निरन्तरता दिएको र सफाइका निम्ति पाहुना आगमन नै नपर्खेको भए अहिलेजस्तो हतपतमा काम गर्नुपर्ने थिएन । निर्माण र सफाइलाई आफ्नो दैनिक जिम्मेवारीजस्तो बनाउनुपर्ने आवश्यकता पनि यस घटनाले औँल्याएको छ ।

नेपालको एकतिहाइ भूभाग भारतसँग जोडिएको छ भने बाँकी चीन । एसियाका विशाल दुई मुलुक भारत र चीनको बीचमा रहेको नेपालले आफूलाई ‘दुई ढुंगाबीचको तरुल’ का रूपमा चित्रण गर्दै आएको छ । तर, भारतसँगको खुला सीमाका कारण मात्र होइन, दुई देशबीचका साझा सांस्कृतिक पहिचानले पनि सम्बन्धलाई अद्वितीय बनाइदिएको छ । यस अवसरमा मुखर्जीले गर्ने काठमाडौँ, जनकपुर र पोखरा भ्रमणले हाम्रो पर्यटनमा सकारात्मक प्रभाव पार्ने निश्चित छ । त्यति मात्र होइन, भारतीय अधिकारीले आफ्ना राष्ट्रपतिको भ्रमणमा नेपालका तीन प्रमुख सहरको एकैपटक भ्रमण हुनुलाई समेत आफैंमा अनौठो मानेका छन् । यस किसिमको न्यानोपन निकट छिमेकी भएका कारण नै हो ।

पञ्चायतकालमा समेत कतिपय विदेशी राष्ट्राध्यक्ष र सरकारप्रमुख नेपाल आउँथे तर मुलुकमा प्रजातन्त्र आएपछि भ्रमण परम्परालाई निरन्तरता दिन सकेको देखिएको छैन । अझ विदेश नीतिलाई प्रभावकारी रुपले सञ्चालन गर्ने विषयमै कतिपय सन्दर्भमा द्विविधा देखिन्छ । त्यसले गर्दा बेलाबेला भारतसँगको सम्बन्धमा चिसोपना उत्पन्न हुन पुगेको पनि हो । नेपालको हितलाई विशेष ध्यान दिँदै छिमेकीहरूसँग कुशल सम्बन्ध राख्न सक्ने राजनीतिक नेतृत्व अभावकै कारण यस्तो अवस्था सिर्जना हुन गएको हो । भारत सरकारले भूकम्पलगत्तै संविधान जारी गरेको निहुँमा लगाएको नाकाबन्दीलाई नेपालीले बिर्सन सकेका छैनन् । पाहुनाको स्वागत गर्दागर्दै पनि यस किसिमको जनभावनालाई बेवास्ता गर्न सकिँदैन । भारत सरकारले पनि नेपालीका मनमा रहेको यो भावनालाई अवश्य पनि महसुस गरेको छ । त्यसैकारण सम्बन्धलाई पहिलेकै अवस्थामा पु¥याउनकै निम्ति राष्ट्रपति मुखर्जीको भ्रमण भइरहेको चर्चा छ ।

जे होस्, छिमेकी मुलुकको विशिष्ट अधिकारीको भ्रमण शृंखला सुरु हुनु सुखद अवस्था हो । भारतीय राष्ट्रपति मुखर्जीको भ्रमण सम्पन्न भएको केही महिनापछि स्थगित राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण हुनेछ । पूर्ववर्ती केपी शर्मा ओली सरकारले त्यो भ्रमण अन्तिम घडीमा नरोकिदिएको भए झनै राम्रो हुन्थ्यो । उता, उत्तरी छिमेकी चीनका राष्ट्रपतिको एकाएक रद्द भएको भ्रमणको अर्को तिथि निश्चित भएको छैन । नेपाल सरकार उत्तरी छिमेकीको स्वागतका निम्ति पनि उत्तिकै आतुर छ । भारतसँगको सम्बन्धलाई सामान्यीकरण गर्न प्रधानमन्त्री दाहाल नेतृत्व सरकारले पहल गरिरहेको छ ।

भारतीय राष्ट्रपतिको भ्रमणले यसअघि सम्बन्धमा आएका तुफानलाई पक्कै पनि मत्थर पार्नेछ । विगतका दुर्घटनालाई सम्झे पनि त्यहीँ अड्केर बस्नु हुँदैन । अतिथि देवो भवः को मूल मन्त्र आत्मसात गर्ने हामी नेपालीले छिमेकी मुलुकका राष्ट्रपतिप्रति यथोचित सम्मान देखाउन सक्नुपर्छ । नेपाल–भारत सम्बन्धलाई सामान्य बनाउन दुवैतर्फका नेताले यो भ्रमणलाई एउटा कोशेढुंगा बनाउने प्रयास गर्नुपर्छ । र, भ्रमणको शृंखला बाक्लिनुपर्छ । त्यसका लागि हामीले पनि आफ्नो महŒव स्थापित गर्न अन्तर्राष्ट्रिय कूटनीतिमा उम्दा व्यवहार देखाउन सक्नुपर्छ ।

भारतका महामहिम राष्ट्रपतिलाई नेपालमा हार्दिक स्वागत छ ।
 

प्रकाशित: १८ कार्तिक २०७३ ०६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App