coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दिनभर रेकी, मध्यराति मुचुल्का

बिपी प्रतिष्ठानका उपकुलपति रौनियार। तस्बिर : नागरिक

धरान - तीन दिनको बिदा बसेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियार बिहीबारमात्र कार्यालय प्रवेश गरेका थिए। तर, बिहीबार कार्यालयबाट उनको बहिर्गमन सधैंको भन्दा असामान्य भयो।

करिब पाँच बज्नै लागेको थियो। कार्यालय समय सकिनै लाग्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोग केन्द्रीय टोली उपकुलपतिको कार्यालय प्रवेश ग¥यो। त्यसपछि न कोही बाहिर निस्कन पाए, न भित्र पस्न पाए। अख्तियारको एउटा टोलीले उपकुलपति कार्यालय सिल गर्दैगर्दा अर्को टोलीले उनको निवासमा पनि छापा मारिसकेको थियो। दुवैतिर छापा मारेर, सिल गरेर अख्तियार टोली सर्जमिन मुचुल्कासहित मध्यराति सवा एक बजेमात्र उपकुलपति रौनियारसँगै बाहिरियो। ‘पाँच बजेतिर अख्तियारको टोली आएपछि कसैलाई बाहिर निस्कन पनि दिइएन, भित्र छिर्न पनि दिइएन,’ उपकुलपति कार्यालयका एक कर्मचारीले भने, ‘अनुसन्धान भइरहेको छ भनियो। राति सवा एक बजेतिर मात्र भिसि (उपकुलपति) सरसँगै अख्तियार टोली कोठाबाट निस्केर तपाईहरू जानसक्नुहुन्छ भन्यो।’

प्रतिष्ठान स्रोतका अनुसार अख्तियार टोली बिहीबार कार्यालय समयदेखि नै प्रतिष्ठान पुगेको थियो। दिनभर उपकुलपति कार्यालयलाई रेकी गरेर बसेको टोलीले घुसबापतको पैसा रौनियारले बुझेको निश्चित भएपछि मात्र कार्यालय समय सकिनुअघि छापा मारेको थियो। ‘बिहानैदेखि अख्तियार टोली बिपी आएको रहेछ, दिनभरि निगरानी गरेर बसेछ, पैसा लिएको पक्का भएपछि छापा मारेछ,’ स्रोतले भन्यो।

अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा उपकुलपतिले कमिसन मागेको उजुरी परेको थियो। सोही आधारमा आठ लाख घुस लिएपछि उपकुलपति रौनियार सबुत–प्रमाणसहित पक्राउ परेका हुन्। उपकुलपति रौनियारसँगै उनका भतिज डा. रामहरि रौनियार पनि पक्राउ परेका छन्। दुवैलाई शुक्रबार काठमाडौं लगिएको छ। ‘आठ लाख घुस लिएको सबुत–प्रमाणसहित पक्राउ परेका छन्, जोसुकै पनि नियन्त्रणमा लिएपछि बाटोको म्यादबाहेक टंगाल (केन्द्रीय कार्यालय) ल्याइन्छ,’ प्रवक्ता कोइरालाले भने, ‘टंगाल ल्याएपछि विशेष अदालतमा म्याद थप गरेर अनुसन्धान गरिन्छ।’

उपकुलपतिले पैसा लिए, भतिजाले राखे
प्रतिष्ठान स्रोतका अनुसार बिहीबार उपकुलपति रौनियारले कमिसनबापत आठ लाख रुपैयाँ आफैंले बुझेका थिए। उनले पैसा बुझेपछि भतिजा डा. रामहरि रौनियारलाई बोलाए। मेडिकल अफिसरका रूपमा कार्यरत डा. रामहरि पैसा लिएर निवासतर्फ गए। उनी करिब साढे चार बजेतिर पैसा निवासमा राखेर पुनः बुलेट बाइक चढेर उपकुलपति कार्यालय प्रवेश गरेका थिए। लगत्तै अख्तियारको टोलीले छापा मारेको थियो। अख्तियार टोलीले पक्राउ गरेर लगेपछि डा. रामहरिको बुलेट बाइक शुक्रबार पनि उपकुलपति कार्यालयअघि बेवारिसे अवस्थामा छ। काका उपकुलपति भएपछि प्रतिष्ठानमा उनको अनावश्यक सक्रियता र हस्तक्षेप बढेको भन्दै चर्चा र असन्तुष्टि व्यप्त थियो।

छापा मार्ने क्रममा अख्तियारको एउटा टोली उपकुलपति कार्यकक्षमा पस्यो भने अर्को टोली भतिजा रामहरिले पैसा लिएर राखेको निवास पुग्यो। सर्जमिन मुचुल्का उठाउँदा उपकुलपति कार्यालयमा रेक्टर डा. गुरु खनाललाई राति करिब १० बजेतिर मात्र अख्तियार टोलीले बोलाएको थियो। दुवैतिर वडा नम्बर १८ का जनप्रतिनिधि (सदस्य) पनि राखेर सर्जमिन मुचुल्का उठाएको थियो।

एकपछि अर्को विवादमा
प्रतिष्ठानमा थुप्रै भौतिक संरचनाहरू निर्माणाधीन छन्। प्रतिष्ठानको भवन निर्माण तथा मेसिन खरिदका बेला करोडौं घोटाला हुने गरेको छ। ठेकेदार कम्पनीसँग मिलेमतो र कमिसनको खेल हुन्छ। अघिल्लो उपकुलपति डा. बिपी दासले आफ्नो कार्यकाल सकिने बेला एमसिएच भवन र फार्मेसी भवनको ठेक्का लगाएका थिए। उपकुलपति भएपछि फार्मेसी भवनका ठेकेदार सुशील झासँग रौनियारले पनि कमिसन मागेको चर्चा चलेको थियो।

स्रोतका अनुसार ठेकेदार झासँग उपकुलपति रौनियारले कमिसन मागेको फोन रेकर्ड थियो। सोही रेकर्ड झाले अख्तियारमा लगेर उजुरी दिएको बताइएको छ। पछिल्लो समय प्रतिष्ठानमा एस टाइप भवन पनि निर्माणाधीन छ। त्यसको ठेकेदार पनि झा नै हुन्। यस्तै, ओपिडी भवन, वार्डको भवन रंगरोगन गर्ने कामको ठेक्का लागेको थियो। सो ठेक्कामा ठेकेदारसँग पनि उपकुलपति रौनियारको विवाद थियो। त्यसमा पनि कमिसन मागेको बताइन्छ।

उपकुलपति पदमा आएपछि रौनियार निरन्त विवादमा तानिएका थिए। उनीमाथि एमआरआई मेसिन खरिद प्रकरणमा आर्थिक अनियमिताको आरोप लागेको थियो। मेसिन खरिदमा अख्तियारमा परेको उजुरीमा अनुसन्धान भइरहेको छ। पदाधिकारीबीच रहेको चर्को मतभेदले प्रतिष्ठान धरासायी भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो। पदीय दायित्व पूरा नगरेको आरोपमा उनलाई गत वर्ष फागुन १७ गते सिनेट बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो। सिनेटको निर्णयलाई कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सदर गरेपछि रौनियारले सर्वोच्च अदालतमा रिट हालेका थिए। सर्वोच्चले उनको पक्षमा स्टे–आर्डर जारी गरेपछि रौनियारले चैत ६ गते पुनः पदबहाली गरेका थिए।

प्रकाशित: २८ असार २०७६ ०१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App