coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विपद्बबाट हुने क्षति रोक्न ‘हाइ अलर्ट’

नारायण ढुङ्गाना

काठमाडौं- मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन्।    
    
 विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ। मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा छ भने तराई डुबान, कटान र बाढीको जोखिममा छ। भइपरि आउने घटनाको क्षति न्यूनीकरण, राहत र उद्धारका लागि सबै निकायको ध्यान केन्द्रीत भएको छ।    
    
 सम्भावित जोखिमलाई मध्यनजर गरी विपद्को प्रतिकार्य योजना बनाएर लागू गरिएको गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। मनसुन सक्रिय भएसँगै वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढी, पहिरो, डुबान र कटानको जोखिम बढ्दै जाँदा सम्भावित घटनाबाट क्षति कम गर्न मातहतका निकाय, तीनै तहका सरकार तथा सम्बद्ध अन्य सङ्घसंस्था उच्च तयारीमा जुटेको छ। सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७६ लागू गरी पूर्ण तयारी गरिएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए। उक्त योजनाभित्र पूर्व सूचनादेखि आपत्कालीन आश्रयस्थल व्यवस्थापनसम्मका कार्ययोजना समावेश छ।    
    
 हरेक क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आआफ्नो उद्धार टोली तयारी अवस्थामा राखेका छन्। नेपाली सेनाले काठमाडौँ, सुर्खेत र इटहरीमा हेलिकप्टरसहित उद्धार टोली राखेको खनालले जानकारी दिए। उनले भने, “विपद्मा हुने सम्भावित घटनाको उद्धार र राहतका लागि सबै तयारी भएको छ, प्रदेश, जिल्ला र स्थानीय तह पनि तयारी अवस्थामा छन्, समग्रमा भन्दा सरकार ‘हाइ अलर्टमा छ’।”    
    
 हालै लागू भएको प्रतिकार्य योजना २०७६ अनुसार खोज, उद्धार र तत्काल राहतका कामहरु गृहमन्त्रालयबाट हुन्छ। अन्य काममा गृहमन्त्रालय स्थानीय तहको सहयोगीको भूमिकामा रहन्छ। जोखिम न्यूनीकरणमा समन्वय, पुनःलाभमा नेतृत्व र राहत निर्माणमा सहयोगी भूमिका गृहमन्त्रालयको रहेको छ। नेपालको संविधान २०७२ ले विपद्मा स्थानीय तहलाई पूर्ण जिम्मेवार बनाएको छ। संविधानको अनुसूची ८ मा विपद् व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ।    
    
मौसम सूचना प्रणाली प्रभावकारी    
    
 मौसम तथा नदीमा बाढी सतहको पूर्व जानकारी दिन जल तथा मौसम विज्ञान विभाग र बाढी महाशाखाले सूचना र प्रविधिको प्रयोग गर्दै पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाएको छ।    
    
 मौसमविद् समिर श्रेष्ठका अनुसार हाल नेपालमा तीन दिनसम्मको मौसमको जानकारी दिन सकिने अवस्था रहेको केही महीनाभित्रमै मौसमको कुनै खतरा हुने वित्तीकै मोबाइलमा सन्देश पठाउन सक्ने गरी प्रविधिको विकास गर्न लागिएको छ। यसले अझै मौसमको जानकारी थप प्रभावकारी हुने श्रेष्ठले बताए।
    
 गृहमन्त्रालयका अनुसार विभागले नदीको जलाधारक्षेत्र मध्य २४४ जोखिम क्षेत्र पहिचान गरेको छ। त्यमध्ये मुख्य नदीमा हुने बाढीको पूर्वसूचना दिने गरिएको छ। पूर्वसूचनाका लागि एसएमएस प्रणालीदेखि वेबसाइटबाट जानकारी दिने तथा खतरा र चेतावनीको सूचनाका लागि साइरन बजाउनेसम्मका काम भैरहेको छ।    
    
 आज देशका अधिकांश क्षेत्रमा बदली हुने र धेरै स्थानमा वर्षा हुने विभागको सूचना प्रणालीमा उल्लेख छ। खासगरी पूर्व र मध्यक्षेत्रका केही स्थानमा भारी र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँमा अति भारी वर्षा हुने र केही स्थानमा हावाहुरीको सम्भावना छ। राती पनि मौसम बदली भई धेरै स्थानमा वर्षा हुने छ। तीन दिनसम्मै यो क्रम जारी रहने विभागले जनाएको छ।    
    
यस्तो छ मन्त्रालयका तयारी    
    
विभिन मन्त्रालयले समेत विपद् जोखिम कम गर्न आवश्यक तयारी गरेको छ। आफ्नो मातहतका निकायलाई उच्च सतर्कता अपनाउन लगाउनेदेखि उचित समन्वयका लागि तयारी अवस्थामा रहने गरी व्यवस्थापन गरिएको मनसुन आपत्कालीन कार्ययोजना २०७६ मा ती मन्त्रालयले उल्लेख गरेको छ। जसअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मनसुनमा हुनसक्ने जोखिम कम गर्न स्थानीय तहलाईसमेत उच्च सतर्कताका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। पूर्वसूचना प्रणालीलाई चुस्त राख्ने, स्थानीय क्षेत्रमा क्रियाशील विकास साझेदार संस्थासँग समन्वय गरी खाद्यान्न, राहत सामग्री औषधोपचारका लागि तयारी गरेको जनाएको छ।    
    
 परराष्ट्र मन्त्रालय नदी खोला पन्छाउने तथा आपत्कालीन अवस्थामा मित्रराष्ट्रको सहयोग लिने गरी समन्वयको तयारी अबस्थामा रहेको छ भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृहमन्त्रालयबाट प्राप्त सूचनाको आधारमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन कार्यलाई प्रभावकारी बनाई सार्वजनिक संस्थानलाई थप सक्रिय बनाउने, अत्यावश्यक वस्तुको मौज्दात र आपूर्ति व्यवस्थापनमा सहज पार्ने काममा सक्रिय रहेको कार्ययोजनामा जनाइएको छ।    
    
 शहरी विकास मन्त्रालय तथा शहरी विकास तथा भवन निर्माण विभागले सुरक्षित स्थानको व्यवस्थापन गरी आवश्यक समन्वयको काम गर्ने कार्ययोजनामा उल्लेख छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोग फैलन नदिन प्रकोप नियन्त्रण, चिकित्सक परिचालन गर्नेदेखि औषधोपचारमा क्रियाशील हुने छ। कृषि तथा पशुपक्षी विकास मन्त्रायलले कृषि तथा पशुपक्षी क्षेत्रको जोखिम कम गर्ने एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला बालबालिका र जेष्ठ नागरिकको उचित व्यवस्थापनमा सक्रिय हुने गरी कार्ययोजना पेश गरेको छ।    
    
सुरक्षाकर्मी पूर्ण तयारीमा    
    
 नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी विपद् जोखिम न्यूनीकरण, राहत तथा उद्धारका लागि आवश्यक तयारीमा बसेको छ।    
    
 विपद्को छोटो समयमा प्रभावकारी रुपमा परिचालन हुने गरी विपद् व्यवस्थापन निर्देशनालयअन्तर्गत नेपाली सेनाले १ नं विपद् व्यवस्थापन गणलाई काठमाडौँ र पूर्वतर्फको प्रदेश हेर्ने तथा २ नं गणलाई चितवन तथा पश्चिमतर्फको प्रदेश हेर्ने गरी तालीमप्राप्त उद्धारकर्ता तयारी अवस्थामा राखिएको छ। जसका लागि सेनाले आकस्मिक उद्धार टोली ५६१ जनशक्ति तयारी गरेको छ। अन्य एक हजार ७८२ जनशक्ति तयारी अवस्थामा छन् भने हरेक क्षेत्रबाट आवश्यकताअनुसार टोली खटिन सक्ने नेपाली सेनाका सूचना अधिकारी विज्ञानदेव पाण्डेले जानकारी दिए। गण भएको जिल्लामा १०४ र गुल्ममा ३० जना तैनाथ हुन्छन्। नपुग भए माथिल्लो तहबाट थप हुन्छ।    
    
 मनसुनको समयमा बाढी पहिरोबाट हुने राजमार्गको क्षति उद्धार, राहत तथा सडक सञ्चालनका लागि एक्रोज ब्रिज र डुङ्गासहित आवश्यक जनशक्ति तयार पारेको छ। काठमाडौँ, सुर्खेत र इटहरीमा हेलिकप्टरसमेत तयारीमा राखेको उनले जानकारी दिए।    
    
 सशस्त्र प्रहरी बल नेपालले विपद् उद्धारका लागि दुई हजारभन्दा बढी दक्ष जनशक्ति तयार पारेको प्रवक्ता सुरजकुमार श्रेष्ठले जानकारी दिनुभयो। सशस्त्र प्रहरीका आठ बाहिनीमा ५० जनाको दरले विपद् उद्धार समुह तयारी अवस्थामा छ। हरेक गणमा ३५ र गुल्म १० जना छन् भने आवश्यक जनशक्तिसहित १९ जना गोताखोरलाई कुरिनटार, काठमाडौं, पोखरा र सुनसरीमा खटाइएको श्रेष्ठले जानकारी दिनुभयो। आवश्यक उद्धार उपकरणको समेत व्यवस्था गरिएको छ।    
    
 नेपाल प्रहरीले सातै प्रदेशसम्बन्धी प्रहरी युनिटबाट आवश्यक तयारी गरेको छ। आवश्यकतानुसार विपद् व्यवस्थापन महाशाखा तथा प्रदेशअन्तर्गतको व्यवस्थापन गुल्मबाट दक्ष जनशक्ति खटिने जनाइएको छ।    
    
 प्रहरीले केन्द्रमा खोज उद्धारका लागि ३० ‘क्विक रेस्पोन्स टिम’ तयार गरेएको छ। डुङ्गा चलाउन सक्ने १६, पौडिन सक्ने २८ तथा आवश्यक मात्रामा जनशक्ति थप्नसक्ने गरी तयारी गरेको छ। महानगरीय प्रहरी कार्यालय र सातै प्रदेशमा गरी कूल ५०० दक्ष प्रहरी जनशक्ति तयार गरिएको छ। आवश्यकता अनुसार प्रहरी अरु थप परिचालन हुनेछ। रासस

प्रकाशित: २७ असार २०७६ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App