६ वैशाख २०८१ बिहीबार
समाज

लगातारकाे वर्षाले कहाँ–कहाँ के भयाे ?

काठमाडौं – लगातारको वर्षाले मुलुकको जनजीवन प्रभावित भएको छ । खोला किनारका वस्ती जोखिममा छन् । बाढीपहिरो आउने क्रम जारी छ । सडक अवरुद्ध छन् । दैनिक कामकाज प्रभावित भएका छन् ।

रामेछापको रामपुरमा गोठको पर्खाल भत्किँदा ७१ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

भैँसीलाई घाँस हालेर दुहुन बस्दा पानीले भिजेको गोठको पर्खालले च्यापेर मृत्यु भएको रामेछाप नगरपालिका–५का वडाध्यक्ष भीमबहादुर तामाङले जानकारी दिए । यस्तै दुईवटा भैँसीसमेत किचिएर च्यापिएर छन् । वर्षातसँगै आएको आएको पहिरोले वडा नं. ७ मा एक घर भत्किएको छ ।

मन्थली नगरपालिका–६, सेलेघाटमा पहिरो जाँदा बिहानैदेखि खुर्कोट–मन्थली सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा सो रुट हुँदै सञ्चालन हुने अधिकांश यातायातका साधन ठप्प छन् ।

रुपन्देहीस्थित तिनाउ नदीको वहाब क्षेत्र अतिक्रमण गरेर बसोबास गरेका करिब चार हजार घरधुरी बाढीको उच्च जोखिममा छन् । लगातार बर्षा भएपछि रुपन्देहीमा तिनाउ, कञ्चन, दानव, रोहिणी, घोडाहा, डण्डा, बघेला नदीमा पानीको सतह बढेको छ । यी नदी छेउका बस्तीमा  कटान तथा डुबान  हुन सक्ने हुँदा उच्च सतर्कता अपनाउन स्थानीय तहहरुले आग्रह गरेका छन् ।

पाँचथरको दक्षिणी मिक्लाजुङ गाउँपालिकाको रविमा एकजना विद्यार्थीलाई खोलाले बगाएर बेपत्ता बनाएको छ । जिल्ला प्रहरी पाँचथरका प्रमुख डिएसपी नरेन्द्र कुँवरका अनुसार विद्यालय जाने क्रममा नुवा खोलले अन्दाजी ८ वर्षीय दियन राईलाई बगाएको हो । उनी रवि बजारमा रहेको होलिचाइल्ड विद्यालयतर्फ गइरहेका थिए । प्रहरी र स्थानीयले उनको खोजी गरिरहेका छन् ।

ओखलढुंगामा चार दिन देखिको अविरल वर्षाका कारण खोलामा आएको बाढीले सडक अवरुद्ध भएका छन् । ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट काठमाडौंका लागि छुटेका र काठमाडौंबाट आउँदै गरेका यात्रु अलपत्र परेका छन् ।

मानेभञ्ज्याङ गाउँपालिका–६, ओखलढुंगाको भडारे खोला, उदयपुरको बादुरा खोला र सिन्धुलीको सोखु खोलामा आएको बाढीका कारण सवारी अवरुद्ध  छन् । उदयपुरको घुर्मी बजारमा हजारौं यात्रुहरु दुईदिनदेखि अलपत्र परेका छन् भने भाडारे खोलाको बाढीले सयौं सवारी रोकिएका छन् ।

त्यसै गरी उदयपुर र सिन्धुलीको सिमानामा पर्ने बादुरा खोला र सिन्धुलीको फिकल गाउँपालिकामा पर्ने सोखु खोलाको बाढीको कारण काठमाडौंतर्फ जाने र आउने सवारीसाधन सबै रोकिएका छन् ।

घुर्मी बजारमा यात्रुको भीड भएपछि बास बस्ने होटल भरिएर सुत्ने ठाउँसमेत नभएको यात्रुहरूले बताएका छन् । उनीहरुले खानासमेत पाइन छोडेको बताए । दुईदिनसम्म बाटोमा छेकिँदा खर्च सकिँदै गएपछि यात्रुहरू बिचल्लीमा परेका छन् ।

ओखलढुंगाको भडारे खोलाको बाटो खोल्नका लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लसहितको टोलीले बाटो सुचारु गराउन प्रयास गरिरहेको छ ।

जनकपुरमा वर्षात्को पानीले उचित निकास नपाउँदा सरकारी कार्यालयसहित बस्ती क्षेत्र डुबानमा परेको छ । जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय, रंगभूमि मैदान बाह्रबिघा, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला पशु विज्ञ केन्द्रलगायत सरकारी कार्यालयमा पानी पसेको छ ।

त्यस्तै, रजौल, मुजेलिया, कटैयाचौरी, किशोरीनगर, जानकी नगरलगायत बस्तीमा पनि पानी पसेको स्थानीयले जनाएका छन् । पसल र घरमा पसेको पानी निकाल्ने बिहानैदेखि सानो दमकल तथा विद्युतीय मोटर जडान गरिएको छ । पसलहरूमा पसेको पानीले मात्रै लाखौ रुपैयाँ बराबरको समान नष्ट भएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले बताए ।

सर्लाहीमा पनि वर्षाले विभिन्न क्षेत्र डुबाएको छ । एक बालिका बेपत्ता भएकी छन् । काठ, बाँस र खपडाको छानो भएको एकतले कच्ची घर लड्दा थिचियर १० वर्षीया नेहाकुमारी महतो घाइते भएकी हुन् । टाउको र दुवै हातमा चोट लागेकी नेहालाई उपचारका लागि बरहथवा पठाइएको प्रहरीले जनाएको छ ।

(मञ्जु उप्रेती/रामेछाप, गिरिराज बाँस्कोटा/पाँचथर, बिनोद परियार/रुपन्देही, शेरबहादुर जेरो/ओखलढुंगा, सुरेश यादव/जनकपुर, टंक क्षेत्री/सर्लाही)

प्रकाशित: २७ असार २०७६ ०७:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App