७ वैशाख २०८१ शुक्रबार
खेल

विकाश रनिङ शिल्डको उपाधि शंकटालाई

चितवन– निराजन खड्काले ह्याट्रिक गर्दा काठमाडौंको संकटा क्लबले नारायणगढमा जारी १२ औं विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधी चुमेको छ । क्याम्पाचौरमा आइतबार सम्पन्न फाइनलमा संकटाले विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३–० को जित हात पारेको थियो ।

मुख्य खेलाडीहरु राष्ट्रिय टोलीमा रहँदा दोस्रो रोजाईका साथ चितवन आइपुगेका विभागीय टोलीहरुको प्रदर्शन प्रतियोगितामा उल्लेख्य रहेन । राजधानीको ‘ए’ डिभिजन लिगमा बर्चस्व जमाएका विभागीय टोलीमध्ये आर्मी फाइनलसम्म पुग्न सफल भयो भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एपिएफ टिमका प्रदर्शन विर्सन लायक रहे । एपिएफ र पुलिसले पहिलो चरणबाटै प्रतियोगितायात्रा टुंगाएका थिए ।

जितसँगै संकटाले नगद ३ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता आर्मीले १ लाख ५० हजार रुपैयाँ पायो । साउनको अन्तमा यही मैदानमा सम्पन्न नेपाल कप फुटबलको फाइनलमा नेपाल पुलिसलाई हराएर उपाधि जितेको आर्मीले यसपटक भने संकटासँग कुनै पनि समय खुलेर खेल्न सकेन ।

निराजनले १० औं मिनेटमै प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेर संकटाको खाता खोलेका थिए । पहिलो हाफको इन्जुरी समयमा अर्को गोल गरेर उनले मध्यान्तरमा टोलीलाई २–० ले अघि बढाए । समय सकिन ९ मिनेट बाँकी रहँदा निराजनले व्यक्तिगत ह्याट्रिक पूरा गर्दै संकटाको जितअन्तर थप फराकिलो पारे ।

ह्याट्रिक गरेका निराजन खेलको म्यान अफ दी म्याच भए । म्यान अफ दी म्याच भएवापत १० हजार रुपैयाँ पुरस्कार पाएका उनी प्रतियोगिताको उच्च गोलकर्ता पनि भएका थिए । प्रतियोगितामा कुल ६ गोल गरेका उनले त्यसवापत १५ हजार रुपैयाँ नगद पाए । फेयर प्लेको पुरस्कार स्थानीय टोली चितवनले पायो । फेयर प्ले टोलीलाई नगद २५ हजार रुपैयाँ दिइएको थियो ।

राष्ट्रिय टिममा सहभागि विभागीय टोलीका स्टार खेलाडीहरु नहुँदा अन्य टिमसँग विभागीय टोली कमजोर देखिए । आर्मीका गोलरक्षक विकेश कुथु, भरत खवास, नवयुग श्रेष्ठ, एपीएफका रञ्जन विष्ट, अञ्जन विष्ट, पुलिसका रविन श्रेष्ठ जस्ता खेलाडी विकास रनिङ सिल्डमा थिएनन् । स्टार खेलाडीको अनुपस्थितीमा आर्मीले अर्को झट्का बेहोर्नुप¥यो । कप्तान तथा गोलरक्षक विकास मल्ल घाइते हुनु टोलीको लागि अर्को दूर्भाग्य थियो । दुई दिनअघि मोरङ फुटबल क्लबविरुद्धको सेमिफाइनलमा विकास घाइते भएका थिए । विकासको अनुपस्थितीमा सुशील श्रीवास्तवले पोष्ट सम्हालेका थिए । तर फाइनलमा मल्लले नै जिम्वेवारी लिए ।

कात्तिक १ गतेदेखि सुरु भएको प्रतियोगितमा भारतका तीन सहित १५ टिमले प्रतिस्पर्धा गरेका थिए । विकास रनिङ सिल्ड समितिले चितवनमा २०३१ सालदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएको छ ।  
 

प्रकाशित: १८ कार्तिक २०७३ ०५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App