७ वैशाख २०८१ शुक्रबार
समाज

बाढीले बगाएर एकजना बेपत्ता, अविरल वर्षाले ६ घर ढले

रौतहट - निरन्तर परिरहेको झरीका कारण लाल बकैया नदीमा आएको बाढीमा बगेर इशनाथ नगरपालिका–३ औरैयाका ३५ वर्षीय रामपुकार पटेल बेपत्ता भएका छन् । पटेल बिहीबार बिहान पाँच बजे भारतबाट घर फर्किने क्रममा लाल बकैया नदीको फुलबरिया घाटमा रहेको डाइभर्सन बाढीले बगाएको देखेपछि डाइभर्सन छेउकै रेल्वे–लाइनको पुलबाट मोटरसाइकलसहित आउँदै गर्दा नदीमा झरेर बेपत्ता भएका हुन् ।

सोही पुलहुँदै यात्रा गरिहेका भारतीय नागरिकले नदीमा मोटरसाइकलसहित एकजना खसेर बेपत्ता भएको स्थानीय सुरक्षाकर्मीलाई जानकारी गराएपछि भारतीय सुरक्षाकर्मीहरूले बिहानैदेखि उनको खोजी थालेका थिए । भारतीय सुरक्षाकर्मीहरूले खोलामा डुबेको स्थानबाट पटेल चढेको बिआर५५ए ४१३८ नम्बरको मोटरसाइकल केही समयपछि बरामद गरेका छन् । सोही नम्बरलाई भेरिफिकेसन गर्दा उक्त मोटरसाइकल पटेलको भएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।

नेपाली युवा मोटरसाइकलसहित नदीमा बगेको र खोजी भइरहेको जानकारी भारतीय सुरक्षाकर्मीबाट पाएपछि नेपाल प्रहरीको टोली पटेलका आफन्तसहित घटनास्थल पुगेको थियो । दिनभर खोज्दा पनि पटेलका बारेमा विशेष जानकारी प्राप्त हुन नसकेको रौतहट प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले बताए । घटनास्थलमा फेलापरेको पटेलको चप्पल लिएर आफन्त फर्केका छन् । पटेलको अवस्था यो समाचार तयार पार्दासम्म अज्ञात छ ।

लाल बकैया नदीमा आएको बाढीले सीमावर्ती भारतको बैरगनिया–फुलबरिया जोडने डाइभर्सन बगाएपछि सो क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । लगातारको झरी–वर्षाले ग्रामीण सडक हिलाम्य भएका छन् भने विभिन्न स्थानीय तहमा ६ वटाभन्दा बढी घर भत्किएको प्रहरीले जनाएको छ ।
इशनाथ नगरपालिका–३ औरैयाका दीपक सिंहको खपडाको घर भत्किँदा ६५ वर्षीया उर्मिलादेवी सिंह घाइते भएकी छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । झरीसँगै चलेको हावाले परोहा नगरपालिकाको विभिन्न वडाका पाँच घर भत्किएका छन् । खपडा र फुसको घर भत्किएको नगरपालिकाका मेयर शेख वकिलले बताए । घर भत्किएका परिवारलाई ओत लाग्नका लागि राहत सामग्री उपलब्ध गराउने मेयर वकिलले बताए ।

निरन्तर परिरहेको झरी र वर्षाको कारण लालबकैया र बागमती नदीको जलस्तर वृद्धि भएपछि नदी किनारका स्थानीय त्रसित बनेका छन् । जिल्लामा अभिसापको रूपमा रहेको बकैया र बाग्मती नदीमा पानीको सतह बढन थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सरोकारवालाहरूलाई सचेत गराएको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार पानीको सतह बढेपछि सशस्त्र र नेपाल प्रहरीको गोताखोर टोली तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित: २७ असार २०७६ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App