८ वैशाख २०८१ शनिबार
समाज

डेंगुको डरले अभियान

रौतहट - डेंगु रोग देखा नपरे पनि रौतहटको चन्द्रपुर नगरपालिकाले डेंगु नियन्त्रण अभियान थालेको छ। नपाले सर्वसाधारणको स्वास्थ्य र जोखिमको अवस्थालाई ध्यानमा राख्दै डेंगु रोग सार्न सक्ने लामखुटे बस्ने ठाउँमा औषधि छर्न सुरु गरेको हो।

नगरभित्रको डेंगु जोखिम क्षेत्र पहिचान गरी एडिस एजप्टाई नामक लामखुटे नियन्त्रणका लाािग नपाले वडा १ देखि ६ सम्म ३४ जना स्वयंसेविका परिचालन गरेको छ। स्वयंसेविकाहरूले टोलस्तरमा सचेतना जगाउनुका साथै डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न स्थानीयलाई सहयोग गरिरहेका छन्। उनीहरूले स्थानीयको घरघरमा पुगेर डेंगु रोग के हो, कसरी सर्छ, नियन्त्रण कसरी गर्ने, सावधानी कसरी अपनाउने आदिबारे जानकारी गराउँछन्।

घरदैलोका क्रममा स्वयंसेविकाहरूले स्थानीयको घर, पसल, बारी, गोठ आदिका पानी जम्ने ठाउँको पहिचान गरी डेंगु सार्ने लामखुटेको लार्भा भए–नभएको पहिचान र औषधि छर्ने गरिरहेका छन्। डेंगु संक्रमण हुने मुख्य समय असोज र कात्तिक भए पनि समयमा ध्यान नदिँदा विभिन्न जिल्लामा डेंगुको संक्रमण देखिएकाले समयमै सचेतना अपनाएको चन्द्रपुर नपाको स्वास्थ्य शाखा प्रमुख अभय ठाकुरले बताए।

नपाले डेंगुको जोखिमको विषयमा सरोकारवालासित छलफल गरेको थियो। छलफलका क्रममा नपाका केही वडा जोखिममा रहेकाले पूर्वतयारी अभियान सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालिएको थियो। सोही निष्कर्षलाई कार्यरूप दिन नपाले स्वयंसेविकालाई खटाएको हो। एउटा वडामा चार दिनका दरले डेंगुविरुद्धको अभियान सञ्चालन भइरहेको छ। नगरपालिकाले थालेको अभियान निकै सकारात्मक रहेको स्थानीयको भनाइ छ। ‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्ने बाटो छेक्नु बुद्धिमानी हुन्छ,’ स्थानीय कृष्णप्रसाद तिमल्सिनाले भने, ‘नपाको अभियान प्रशंसनीय छ।’

प्रकाशित: २७ असार २०७६ ०१:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App