coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निर्देशन नाघ्दै प्रवेश परीक्षा

काठमाडौं- ग्रेडिङ प्रणालीको परीक्षाबाट एसएलसी पार गरेका विद्यार्थीलाई प्रवेशपरीक्षा नलिई 'मेरिट' का आधारमा कक्षा ११ मा भर्ना लिन शिक्षा मन्त्रालयको निर्देशन प्लसटु सञ्चालकले अवज्ञा गरेका छन्। प्लसटु भर्ना हुन विगतमा झैं प्रवेश परीक्षा दिनुपर्दा विद्यार्थी मारमा छन्। एउटामा मात्र भर पर्दा भर्ना नलिन सक्ने आशंकामा उनीहरू दुई–तीनवटासम्म प्लसटुमा फारम भरेर प्रवेश परीक्षा दिइरहेका छन्। 

कपिलवस्तुका विशालले एसएलसीमा ३.३५ जिपिए ल्याए। उनी आफ्नो योग्यताअनुसार विज्ञान विषय पढ्न चाहन्छन्। तर, प्लसटुले प्रवेश परीक्षा पास गरेपछि मात्र भर्ना लिने भनेपछि उनी छक्क परे। अहिले उनले उपत्यकाका लिभरपुल, वीरेन्द्र सैनिक र सेन्ट जेभियर्स गरी तीन प्लसटुको फारम भरेर परीक्षा तयारी गरिरहेका छन्। 'लिभरपुलमा नाम निस्क्यो, वीरेन्द्र सैनिकमा असार २० गते परीक्षा छ,' विशालले नागरिकसँग भने, 'जुन प्लसटुले राम्रो छात्रवृत्ति दिन्छ, त्यसैमा भर्ना हुने हो।'

कक्षा ११ मा भर्ना गर्दा प्लसटु सञ्चालकले जिपिएलाई महत्व नदिएको अर्का विद्यार्थी मनीष कुँवरको अनुभव छ। जिपिए ३.४५ ल्याएका उनले विज्ञान विषय अध्ययन गर्न सेन्टजेभियर्स र वीरेन्द्र सैनिकमा प्रवेश परीक्षाको फारम भरेका छन्। 'प्लसटुमा भर्ना फारम लिन जाँदा जिपिएलाई प्रतिशत छुट्ट्याएर हेर्ने गरेको पाइयो,' उनले भने।

भक्तपुरकी रोजी दिदियाको पनि उस्तै अनुभव छ। सरकारले ग्रेडिङ प्रणालीबाट नतिजा प्रकाशित गरी प्रतिशत हटाए पनि प्लसटुमा भने बोर्ड फर्स्ट, विशिष्ट श्रेणी भनी छुट्ट्याएर हेर्ने गरिएको उनले बताइन्।

'उपत्यकाका एउटा प्लसटुले त एउटा विद्यार्थीको फोटो नै राखेर जिपिए ४ र एसएलसी बोर्ड फर्स्ट दाबी गरेर विज्ञापन गर्दा सरकारी निकाय किन मौन?,' उनले प्रश्न गरिन्। उनले पनि भर्ना हुन नपाइने त्रासमा तीन ठाउँमा प्रवेश परीक्षा दिने तयारी गरेको बताइन्।

प्रवेश परीक्षा दिनुपर्दा भर्नाकै लागि ५ सयदेखि हजार रुपैयाँसम्म अतिरिक्त खर्च हुने विद्यार्थीको भनाइ छ।

शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले मन्त्रालयले सबै प्लसटुलाई विद्यार्थीले एसएलसीमा प्राप्त गरेको ग्रेडको आधारमा मेरिट लिस्ट हेरेर भर्ना लिन निर्देशन जारी गरिसकेको बताए। 'प्रवेश परीक्षाका नाममा कुनै पनि प्लसटुले विद्यार्थीलाई दुःख दिन मिल्दैन,' उनले भने, 'मन्त्रालयले प्रवेशपरीक्षा हटाइसकेको छ।'

निजी प्लसटु सञ्चालकको छाता संगठन हिसानका अध्यक्ष रमेश सिलवाल मन्त्रालयले मेरिटका आधामार भर्ना लिन निर्देशन दिए पनि प्लसटुले आफ्नो गुणस्तर कायमसँगै विद्यार्थीको दक्षता, क्षमता पहिचान गर्न प्रवेश परीक्षाको विकल्प नरहेको दाबी गर्छन्। 'हरेक प्लसटुले आफ्नो मापदण्ड तय गरेका छन्, ' उनले भने, 'विद्यार्थीको विषय, अध्ययन क्षमता, रुचि बु‰न प्रवेशपरीक्षा लिनैपर्छ।'

गोल्डेनगेट कलेज सञ्चालक समेत रहेका सिलवालका अनुसार उनको प्लसटुमा १२ सय सिटमा ५ हजारले फाराम भरेकाले प्रवेश परीक्षा नलिई मिल्दैन।

एनप्याब्सन अध्यक्ष तथा टेक्सस कलेज सञ्चालक कर्णबहादुर शाहीले सरकारले भन्दैमा हचुवाका भरमा विद्यार्थी भर्ना गर्न नमिल्ने बताए। उनले कलेजको मापदण्डअनुसारै कक्षा ११ मा प्रवेश परीक्षाबाट विद्यार्थी छनोट गरिने जनाए।

'एक वर्षका लागि सरकारले पूर्वाधारविनै ग्रेडिङ लागू गर्‍यो जुन उपयुक्त नै छैन,' शाहीले भने, 'कलेजको लगानी जोगाउन र स्ट्यान्डर्ड मेन्टेन गर्न प्रवेशपरीक्षा लिनुपर्छ।'

शिक्षाविद् मनप्रसाद वाग्ले भने सरकारले कक्षा १२ सम्म विद्यालय शिक्षा लागू गरेको अवस्थामा प्लसटु सञ्चालकहरुले गुणस्तर कामय गर्ने निहुँमा विद्यार्थीलाई प्रवेशपरीक्षाको सास्ती दिन नहुने औंल्याए। 'विद्यार्थीले प्राप्त गरेको ग्रेडसिटमै विषयगत ग्रेडिङ छ,' उनले भने, 'कुन विषयमा कति क्षमता छ त्यो मापन ग्रेडले नै गरिसकेको छ।' यस्तो अवस्थामा निजी प्लसटुले सरकारी निर्देशनविपरीत प्रवेश परीक्षा सञ्चालन गर्नु कानुनविपरीत रहेकाले बेलैमा नियमन गर्नुपर्ने शिक्षाविद् वाग्लेको सुझाव छ।

प्रकाशित: १४ असार २०७३ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App