coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्वास्थ्यचौकी निर्माणले स्थानीयमा उमंग

धादिङ– भूकम्प गएको १८ महिनापछि सेमजोङवासीमा बेग्लै खुसी थपिएको छ, त्यो हो स्वास्थ्यचौकी भवन निर्माण । वैशाख १२ को भूकम्पले स्वास्थ्य चौकी ध्वस्त भएको थियो । अहिले चौकी पुनर्निर्माण भएपछि स्वास्थ्यकर्मी र स्थानीयमा खुसी छाएको हो ।

‘बादलले आकाश छोप्नेबित्तिकै बिरामी च्यापेर स्थानीयको टहरातिर कुदाउँदै हैरान हुन्थ्यौं, चाहेर पनि बिरामीको उपचार राम्रो हुँदैनथ्यो,’ स्वास्थ्य चौकीका इन्चार्ज शिवप्रसाद पौडेल भन्छन्, ‘अब त बिरामीले राम्रो उपचार पाउनेछन् ।’

पानी पर्न थालेपछि बिरामी जाँच्दै गरेका स्वास्थ्यकर्मीलाई मात्रै होइन, घामपानीले च्यातिएका पाल टालटुल गर्दागर्दै छिमेकी पनि दिक्दार थिए । तर, अब त्यो सास्तीको दिन गएको छ । जर्मन सरकारको आर्थिक सहयोगमा जिआइजेडले भवन निर्माण गरेपछि स्वास्थ्यकर्मी र स्थानीयमा खुसी छाएको हो ।

‘बादलले आकाश छोप्नेबित्तिकै बिरामी च्यापेर स्थानीयको टहरातिर कुदाउँदै हैरान हुन्थ्यौं, चाहेर पनि बिरामीको उपचार राम्रो हुँदैनथ्यो’

नवनिर्मित भवनमा ओपिडी, औषधि स्टोर, प्रशासन, कर्मचारी निवासका लागि छुट्टाछुटै कोठा त छँदै छ, प्रसूति सेवाका लागि पनि छुट्टै कक्ष बनाइएको छ । नौकोठे भवनमा चार शौचालयको व्यवस्था छ ।

भएको तीनकोठे स्वास्थ्यचौकी भवन भूकम्पले ध्वस्त बनाएपछि बारीको पाटामा तीनवटा टेन्ट राखेर बिरामीको उपचार गरिएको स्वास्थ्य चौकी इन्चार्ज पौडेलले बताए ।

‘साँझसम्म घामपानीले चुहिने बनेको टेन्टभित्र पानी सोहोर्दै बिरामीको उपचार गरेर सुत्यो, बिहान फेरि उस्तै हुन्थ्यो,’ अनमी सीता खनाल भन्छिन्, ‘बिहान पानी फालेर मात्रै काम थाल्नुपथ्यो, अब त हामीलाई पनि राहत मिलेको छ ।’    

कात्तिक दोस्रो साता सेमजोङ स्वास्थ्य चौकीको नयाँ भवन उद्घाटनसँगै अन्य चार स्वास्थ्यचौकी भवन पनि जर्मन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । कार्यक्रमका बीच जर्मन राजदूत माथियस मेयरले स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक एवं अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख भोगेन्द्रराज डोटेललाई कटुञ्जे, धुवाकोट– १, धुवाकोट– २ र बुढाथुमको नवनिर्मित स्वास्थ्यचौकी भवनको चाबी जिम्मा लगाए ।

नवनिर्मित भवनको चाबी बुझेको खबर पाउँदा कटुञ्जे स्वास्थ्य चौकीका अहेब दीपेन्द्र ठाकुर निकै खुसी छन् । ‘दुईतले भवन थियो, भूकम्पले काम नलाग्ने बन्यो, अत्यावश्यक औषधि र उपकरण राख्ने ठाउँ नभएर बिजोग छ । टेन्टमा राख्दा चोरी हुने, मुसाले खाइदिने समस्याले सारै दुःख थियो,’ अहेब ठाकुरले भने, ‘टेन्टभित्र ओपिडी चलाउन सारै गाह्रो थियो, अब भने बिरामीले राम्रो उपचार पाउने भए ।’ भवन नहुँदा कटुञ्जे स्वास्थ्यचौकीले भूकम्पले चिराचिरा परेकै भवनको एउटा कोठामा सुत्केरी गराउँदै आएको थियो ।

स्वास्थ्य चौकीका नयाँ भवन बनेपछि स्वास्थ्य स्वंयसेविका पनि हर्षित भएका छन् । सुरक्षित भवनमा सुत्केरी गराउँदा धेरै सुत्केरी र शिशुको ज्यान जोगिने सेमजोङ स्वास्थ्य चौकीकी अनमी सीता खनाल बताउँछिन् ।

भवन हस्तान्तरण समारोहमा नर्वेका राजदूत स्येल टोर्माेड पेटर्सन, सांसद दिलमान पाख्रिन, परशुराम तामाङ लगायतले शुभकामना व्यक्त गर्दै विकास योजनाहरूमा निरन्तर सहयोग गर्ने बताए ।

नर्वेका राजदूत पेटर्सनले सेमजोङकै शान्ति प्राथमिक विद्यालयमा जिआईजेडमार्फत निर्माण हुन लागेको विद्यालय भवनको शिलान्यास गरेका छन् । नर्वेजियन राजदूतको सहयोगमा भूकम्पले क्षतिग्रस्त बनेको धादिङका आठ विद्यालय भवन पुनर्निर्माण गर्न लागिएको छ ।

यसअघि मुरलीभञ्ज्याङ, ढोला, सल्यानकोट, मूलपानी, सुनौलाबजार, खाल्टे, जोगिमारा, महादेववेसी, जीवनपुर, नौबिसे र किरान्चोक गरी ११ स्वास्थ्यचौकी भवन निर्माण गरी हस्तान्तरण गरिसकेको जर्मन विकास सहयोगका लेखमणि ढकालले जानकारी दिए । ‘हामीले ११ भवन गत साउनमा हस्तान्तरण गरिसकेका थियौं, एउटा भवनमा ४२ लाख बराबर लगानी भएको छ,’ उनले भने ।

 

 

प्रकाशित: १८ कार्तिक २०७३ ०४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App